अत्यधिक कामले थाकिरहनुभएको त छैन? ‘बर्नआउट’ हुनसक्छ

काठमाडौं, साउन १६ । के तपाईंलाई जतिबेला पनि थकाइ लागिरहन्छ? आफ्नो जिम्मेवारीको आलोचना आफैं गर्नुहुन्छ? वा कामको मागबाट आजित हुनुहुन्छ? याद राख्नुहोस्, तपाईंलाई अत्यधिक थकान अर्थात् ‘बर्नआउट’ ले सताइरहेको पनि हुनसक्छ।

विश्व स्वास्थ्य संगठनले अत्यधिक थकानलाई कामका क्रममा आउने प्रक्रिया भनेको छ। साथै संगठनले सफलतापूर्वक व्यवस्थापन हुन नसकेको कार्यालयमा चरम तनाव भएपछि बर्नआउटका लक्षण देखिने भनेर व्याख्या गरेको छ।

यसलाई अत्यधिक थकान, नकारात्मक सोच अथवा जागिर या खराब कामसँग जोडेर गर्ने निन्दाजस्ता स्वभावका आधारमा व्याख्या गरिएको छ। यद्यपि, मानिसलाई के गलत भइरहेको छ भनेर बुझ्न कठिन हुनसक्छ।

बर्नआउटका लक्षण
डा रसेल मोरिस भन्छिन्, ‘आफू थाकिरहेको कुरा आफैंले पत्ता लगाउन कठिन छ। तर तपाईंसँग निकट रहेका मानिस वा तपाईंका हाकिमहरूले यसलाई राम्ररी पहिचान गर्न सक्छन्।’

रसेलले आफ्नो १५ वर्षे अनुभवमा यस्ता थुप्रै बिरामी भेटेकी छन्, जो कार्यालयमा हुने तनावबाट पीडित थिए। उनले थकाइ लागिरहने त्यस्तो रोगबाट पीडित बिरामीहरू आफ्नै स्वभावबारे बेखबर हुनसक्ने बताइन्।

उनका अनुसार त्यस्ता मानिसहरू एकदमै निन्दक स्वभावका, निराशावादी, विरक्त, राम्रोसँग खाना नखाने र निरन्तर थकित महसुस गरिरहने खालका हुन्छन्। उनीहरू आफ्नो कामबारे, साथीहरू वा सहकर्मीप्रति क्रोधित हुने वा रिसाइरहने हुन्छन्।

डा मोरिस भन्छिन, ‘जब मानिसहरू कामका कारण ढाड दुख्ने, धेरै टाउको दुख्ने वा ग्यास्ट्रिकको समस्याका कारण बिरामी हुन थाल्छन्, उनीहरूलाई यही रोगले सताएको हुनसक्छ।’

मलाई के भइरहेको छ ?

यदि तपाईं धेरै थाकिरहने रोगबाट पीडित हुनुहुन्छ भने, आफूलाई यी प्रश्नहरू सोध्नुहोस्ः

– तपाईंको नजिकको व्यक्तिले तपाईंलाई आफ्नो काम कम गर्न भनेको छ ?
– हालैका महिनाहरूमा तपाईं आफ्नो काम वा सहकर्मी, सेवाग्राहीप्रति रिसाउने वा क्रोधित हुने गर्नुभएको छ ?
– आफूले आफ्नो परिवार, साथी वा आफैंलाई पर्याप्त समय दिन नसकेको भनेर आफैंप्रति ग्लानि महसुस भइरहेको छ?
– रुने, रिसाउने, चिच्याउने वा कुनै ठोस कारण बिना नै तनाव लिने जस्ता भावनात्मक काम गरिरहेको महसुस गर्नुभएको छ ?
– यदि यीमध्ये कुनै प्रश्नको ‘हो’ भन्ने जवाफ दिनुभयो भने तपाईं परिवर्तन हुने बेला आएको छ।

यो प्रश्नोत्तर युके प्य्राक्टिसनर हेल्थ प्रोग्रामका लागि परिकल्पना गरिएको हो र कोही कर्मचारी यदि ‘बर्नआउट’ को खतरामा छन् भने त्यो पहिचान गर्नका लागि सुरुवाती विन्दु हो। ‘बर्नआउट’ विकसित हुन लामै समय लाग्छ, सम्भवतः ६ देखि १८ महिनासम्म।

‘द बर्नआउट बाइबल’ पुस्तककी लेखक मनोचिकित्सक डा ज्याकी फ्रान्सिस वाकर भन्छिन्, ‘आम रुपमा मानिसहरू पहिला जे गर्न सक्थें, त्यो अचानक किन गर्न सकिरहेको छैन भनेर चिन्तित हुन्छन्।

मानिसले आफूले आफूलाई त्यस्तो अवस्थामा पाउन सक्छन्, जहाँ उनीहरूसँग पहिला भएजस्तो सिर्जनात्मक वा अभिव्यक्त हुने क्षमता हुँदैन। डा वाकरका अनुसार बर्नआउट तनावभन्दा फरक कुरा हो।

‘तनाव सामान्य रुपमा हेर्ने हो भने त्यस्तो अवस्था हो, जहाँ तपाईंलाई उपलब्ध स्रोतभन्दा बढी कामको माग गरिन्छ। त्यस्तो स्रोत चाहिँ मनोवैज्ञानिक, बहन गर्नसक्ने क्षमता वा समयको हुनसक्छ,’ उनी भन्छिन्।

मानव जातिलाई कुनै पनि काम सक्न थोरै दबाब चाहिन्छ। तर जब हामी आफ्नो काम देखाउने उच्च विन्दुमा पुग्छौँ, उच्च दबाबमा हुन्छौँ र दबाब बढ्दै जान्छ तब आफ्नो कार्य प्रदर्शन नराम्रो हुन थाल्छ।

महत्वाकांक्षीलाई मात्रै होइन
एउटा मिथक छ, आफ्नो पेसामा उच्च महत्वाकांक्षा राख्नेलाई वा जसले आफ्नो काम मन पराउँदैन, उसलाई मात्रै बर्नआउटले असर गर्छ। तर त्यो सत्य नभएको मोरिस बताउँछिन्। ‘मानिसहरू सोच्छन्, तपाईंले आफ्नो काम मन पराउनुहुन्न, त्यसैले बर्नआउटको बिरामी हुनुहुन्छ, तर त्यो सत्य होइन। मैले व्यक्तिगत रुपमा थुप्रै शिक्षक, चिकित्सक, वकिल, नगर व्यापारी, लेखापालमाझ तनाव देखेको छु।’
बर्नआउटले कामकाजी मानिसलाई मात्रै असर गर्दैन, घरमा अरूको हेरचाह गर्नुपर्ने जिम्मेवारी बहन गर्नेहरू पनि यसबाट गम्भीर रुपमा प्रभावित हुन सक्छन्।

‘बालबालिका वा उमेर पुगेका आफन्तको हेरचाह वा कहिलेकाहीँ शारीरिक रुपमा सबल नभएकाहरूको हेरचाह गर्नेहरू गम्भीर रुपमा बर्नआउटबाट ग्रसित हुन सक्छन्। यस्ता बिरामी पूर्ण रूपमा थकित हुन्छन् र उनीहरूले आफूले पर्याप्त सहानुभूति नपाएको महसुस गर्नसक्छन्,’ डा वाकरले भनिन्।

बर्नआउटलाई धेरैजसोले लज्जित हुनुपर्ने विषयका रुपमा लिन्छन्। ‘आफूलाई बर्नआउट छ भन्न मानिसहरू हिच्किचाउँछन्,’ वाकरले भनिन, “धेरै मानिस सोच्छन्, यदि आफूले केही गर्न नसके त्यसमा पक्कै केही गलत छ। म यो गर्न सकिरहेको छैन, म कमजोर छु। यो सम्हाल्न सक्दिनँ।’

समय छुट्याउनुस्
डा मोरिसले कर्मचारीको स्वास्थ्य र खुसीका लागि सघाउन एउटा कार्यक्रम बनाएकी छन्। ‘बर्नआउटको जोखिमलाई कम गर्न हामी सबैले गर्नसक्ने कुराहरू छन्,’ उनले भनिन्, ‘एउटा चाहिँ तनाव बहन गर्ने क्षमताको स्तरवृद्धि हो। त्यो भनेको हामीले तनावका बेला स्वस्थ तरिकाले प्रतिक्रिया जनाउनसक्नु हो र त्यो कठिन प्रक्रियाबाट गुज्रिँदा हामी थप बलियो भएर सफलता हासिल गर्न थाल्छौं।’

उनका अनुसार अर्को समस्या भनेको जो मानिस धेरै तनावमा हुन्छन्, त्यस्तो कुरामा केन्द्रित हुन्छन्, जसलाई उनीहरू नियन्त्रण गर्नै सक्दैनन्। जे कुरामा नियन्त्रण गर्न सक्छन्, त्यसमा ध्यान दिँदा मात्रै तनावको मात्रा घट्छ। मोरिस यसैलाई ‘शक्तिको क्षेत्र’ भन्छिन्।

उनका अनुसार पहिलाको कामको तालिकामा थप बाँधिएर बस्नुभन्दा कामलाई प्राथमिकतामा राखेर गर्नु महत्वपूर्ण हुन्छ। उनले कर्मचारीलाई महत्वपूर्ण र तत्काल गर्नुपर्ने काम वा त्यति महत्वपूर्ण नभएको काम छुट्याउन सहयोग पुग्ने एउटा नमुना तयार गरेकी छन्।

विषाक्त काम गर्ने संस्कार
‘धेरै दबाब हुने जागिरमा तनाव महसुस गर्नुलाई धेरै मानिसहरू स्वभाविक ठान्छन्, तर त्यसो होइन। यो हाम्रो स्वास्थ्यका लागि खराब हो र हामी यो मिथकबाट बाहिरिन आवश्यक छ,’ मोरिस भन्छिन्।

यद्यपि बर्नआउट नहोस् भन्नका लागि रोजगारदाताले पनि यसबारे थप जिम्मेवारी लिनुपर्ने र आफ्ना कर्मचारीहरूको काम र व्यक्तिगत जीवन सन्तुलन गर्न मद्धत गर्ने अभ्यासहरूतर्फ सोच्नुपर्नेमा उनी जोड दिन्छिन्।

प्राविधिक र डिजिटल उद्योगमा काम गर्ने उद्यमीहरूले धेरै परिवर्तन भएको र जागिर कटौती भएको पनि अनुभव गरेका छन्। उनीहरू राम्रो गरेर देखाउने दबाबमा नै छन्।

धेरै पेसाको परिवर्तनशील प्रकृति पनि एउटा समस्या हो। आजकाल, हामी २४सै घन्टा उपलब्ध रहन्छौँ र साँच्चै भन्ने हो हामी हाम्रो दिमागलाई कहिल्यै आराम नै दिँदैनौँ।

सन् २०१८ मा ७५ सय कर्मचारीमाथि गरिएको ग्यालप अध्ययनले करिब दुई तिहाइ मानिसले काममा बर्नआउट अनुभव गरेको पत्ता लगाएको थियो।

बर्नआउट हुने कारण
– काममा अनुचित र अन्यायपूर्ण व्यवहार हुनु
– व्यवस्थापन गर्नै नसकिने कामको चाप
– जिम्मेवारीभित्र के पर्छ भन्ने स्पष्ट नहुनु
– व्यवस्थापकहरूबाट समर्थनको कमी
– समयको अनुचित दबाब

डा वाकर ठान्छिन्, काममा हुने तनावको मुख्य स्रोत कार्यालय भित्रको काम गर्ने संस्कार विषाक्त हुनु हो। कार्यालयहरू खर्च कटौती गर्नुपर्ने दबाबमा रहेका बेला थोरै कर्मचारीबाट धेरै कामको अपेक्षा गरिन्छ। वाकरलाई लाग्छ, समस्याको यो पक्षलाई कम्पनीहरूले पहिचान गर्नुपर्छ। ‘कम्पनीहरूले कामका बेला हुने तनावलाई कम गर्न केही सहयोग गरे पनि सबैको ध्यान धेरैजसो व्यक्तिमा हुन्छ,’ डा वाकरले भनिन्। बिबिसी

कमेन्ट गर्नुहोस्