Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नौ वर्षीया बालिका बलात्कृत, एक लाखमा मिलापत्र

काठमाडौं, साउन १६ । पर्वतमा नौ वर्षीया बालिका बलात्कृत भएको घटना एक लाख रुपैयाँ दिएर मिलाउने प्रयास गरिएको छ । जघन्य अपराध गाउँमै मिलाउने तयारी भएको खुलेपछि मानवअधिकारकर्मीको प्रयासमा घटनाको एक सातापछि प्रहरीले आरोपीलाई पक्रेको छ । बलात्कारको आरोपमा कुश्मा नगरपालिका– ९ कटुवाचौपारीका वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली पक्राउ परेका हुन् ।

स्रोतका अनुसार आरोपी पराजुलीले ६ साउनमा आफैँले सञ्चालन गरेको राइस मिलमा बालिकालाई बोलाएर बलात्कार गरेका थिए । बलात्कारपछि उनले १० रुपैयाँ दिएर बालिकालाई फकाएर घर पठाएका थिए । तर, बालिका बिरामी परेपछि परिवारले घटनाबारे थाहा पाएको थियो । त्यसपछि पराजुलीले पीडित परिवारलाई १० हजार रुपैयाँ दिने र घटना गुपचुप मिलाउने प्रस्ताव राखे । तर, पीडित पक्षको तर्फबाट केही व्यक्तिले एक लाख रुपैयाँ मागेका थिए । पराजुली सो रकम तिर्न सहमत भए । यद्यपि उनीहरूबीच लेनदेन हुन पाएको थिएन । पराजुलीले १६ साउनमा मात्र पैसा दिने बताएका थिए । तर, प्रहरीले १४ साउनमै उनलाई नियन्त्रणमा लिएको छ ।

बलात्कृत बालिकालाई आरोपीकै आफन्तले लगे अस्पताल
बलात्कृत बालिका बिरामी पर्दै गएपछि एक सातापछि मात्रै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । पीडित बालिकाकी आमासहित आरोपी व्यक्तिका आफन्तले उनलाई बाग्लुङ अस्पताल पुर्याएका थिए । घटना बाहिरिएपछि प्रहरीले मंगलबार जिल्ला अस्पताल पर्वतमा बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।
अनुसन्धान हुँदै छः प्रहरी
बालिका बलात्कारको घटना गाउँमै मिलाउने प्रयास भइरहेको थाहा भएपछि पत्रकार तथा पर्वत इन्सेक प्रतिनिधि सन्तोष थापाले पीडित बालिकालाई न्याय दिलाउन प्रहरीसमक्ष माग गरेका थिए । त्यसपछि प्रहरीले पराजुलीलाई मंगलबार उनकै घरबाट पक्राउ गरेको छ । आरोपी पराजुलीलाई प्रहरीले मंगलबार यौन दुव्र्यवहारअन्तर्गत पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।

बलात्कार घटना कानुनविपरीत मिलापत्र भएको जानकारी भएपछि अनुसन्धान थालिएको र आरोपितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घटनाबारे प्रारम्भिक अनुसन्धानका क्रममा पराजुली अपराधमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताए । उनले गाउँमै घटना ढाकछोप गर्न खोजिएको विषयमा समेत सोधपुछ भइरहेको जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: