शिक्षक हुन पटक्कै सजिलो छैन, किन शिक्षक हुने त?


“धेरैले शिक्षण पेसा अपनाउँछन्‌ किनकि यस पेसाले अरूलाई मदत पुऱ्‍याउँछ। [शिक्षण पेसा] भनेको बच्चाहरूको जीवनमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता हो।”—टिचर्स, स्कूल्स, एण्ड सोसाइटी।

केही शिक्षकहरूलाई हेर्दा यो पेसा सजिलो जस्तो देखिए तापनि यो धेरै अवरोधहरू पार गर्नुपर्ने लामो दौड हुन सक्छ। जस्तै: कक्षाको क्षमताभन्दा बढी विद्यार्थीहरूको संख्या, अचाक्ली कागजी काम, रोब जमाउने कर्मचारीतन्त्र, गैरजिम्मेवार विद्यार्थीहरू अनि थोरै पारिश्रमिकजस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। स्पेनको म्याड्रिडका पेद्रो नाउँ गरेका शिक्षक यसो भन्छन्‌, “शिक्षक हुनु पटक्कै सजिलो छैन। यस पेसामा अत्यन्तै आत्मत्याग गर्नुपर्छ। यद्यपि, यी सबै कठिनाइहरूको बावजूद, व्यापारजगत्‌का अन्य पेसाहरूको तुलनामा शिक्षण पेसा नै मलाई धेरै इनामदायी लाग्छ।”

अधिकांश देशका ठूल-ठूला स्कूलहरूमा यो चुनौती झनै तीव्र हुन सक्छ। लागू पदार्थ, अपराध, खस्किएको नैतिकता र कहिलेकाहीं अभिभावकहरूको भावशून्यताले स्कूलको वातावरण अनि अनुशासनमा गम्भीर असर गर्छ। विद्रोही आचरण त झनै सामान्य भइसकेको छ। त्यसोभए किन त्यति धेरै दक्ष व्यक्‍तिहरूले शिक्षण पेसा नै रोज्छन्‌ त?

लिमारिज र डायना न्यु योर्क शहरमा शिक्षिकाको काम गर्ने गर्छन्‌। तिनीहरू शिशु पाठशालामा दस वर्षमुनिका बच्चाहरूलाई सिकाउने गर्छन्‌। दुवै जना दुइटा भाषा (अंग्रेजी-स्प्यानिस) बोल्न सक्छन्‌ र विशेष गरी उनीहरूले स्प्यानिस बोल्ने बच्चाहरूलाई पढाउने गर्छन्‌। हाम्रो प्रश्‍न यस्तो थियो . . .

शिक्षकलाई कुन कुराले उत्प्रेरित गर्छ?

लिमारिजले यसो भनिन्‌: “मलाई कुन कुराले उत्प्रेरित गर्छ? बच्चाहरूप्रतिको प्रेमले। मलाई थाह छ, कुनै-कुनै बच्चाहरूलाई सहयोग दिने मबाहेक अरू कोही छैन।”

याे पनि पढ्नुस  शिक्षकको दरवन्दी वितरण चाँडै हुन्छः शिक्षामन्त्री पोखरेल

डायनाले यसो भनिन्‌: “मैले आफ्नो आठ वर्षीय भतिजालाई पढाएकी थिएँ किनभने उसलाई विशेष गरी फरर्र पढ्‌न गाह्रो भइरहेको थियो। उसले अनि अरू विद्यार्थीहरूले यस समस्यालाई हटाउन सकेको देख्न पाउँदा ठूलो सन्तुष्टि महसुस भयो! त्यसैकारण मैले बैंकको जागिर छोडेर शिक्षण पेसामा लाग्ने निर्णय गरें।”

ब्यूँझनुहोस्‌!-ले विभिन्‍न देशका शिक्षकहरूलाई पनि सोही प्रश्‍न राखे र प्राप्त केही जवाफहरू तल दिइएका छन्‌।

चालीस वर्ष नाघेका जुलियानो नाउँ गरेका एक इटालेलीले यसो भने: “मैले यो पेसा रोज्नुको कारण म विद्यार्थी (दायाँ भागमा) छँदादेखि नै यस पेसाप्रति म आकर्षित भएको थिएँ। यो पेसा सृजनात्मक हुनुका साथै यस पेसामा अरूलाई प्रोत्साहन दिने धरै अवसरहरू पाइन्छ जस्तो लाग्थ्यो। सुरुको जोसले गर्दा बीचमा आइपरेका कठिनाइहरू पार गर्न सकें।”

न्यु साउथ वेल्स, अस्ट्रेलियाबाट नीक नाउँ गरेका शिक्षकले यसो भने: “मैले अध्ययन गरेको रासायनिक अनुसन्धान क्षेत्रमा जागिर पाउने सम्भावना धेरै कम थियो तर शिक्षा क्षेत्रमा भने धेरै अवसरहरू थिए। शिक्षण पेसामा लागेदेखि मलाई यो काम रमाइलो लाग्न थाल्यो र विद्यार्थीहरूलाई पनि मेरो शिक्षणशैली चित्त बुझेको जस्तो लाग्छ।”

शिक्षण पेसालाई अँगाल्नुमा अक्सर आमाबाबुको पनि प्रमुख भूमिका हुन्छ। केन्याका विलियमले हाम्रो प्रश्‍नको जवाफ यसरी दिए: “धेरै हदसम्म बुबाबाट प्रभावित भएरै शिक्षण पेसाप्रति मेरो चाह बढ्यो र उहाँ सन्‌ १९५२ तिर शिक्षक हुनुहुन्थ्यो। म युवाहरूको जीवनमा राम्रो परिवर्तन ल्याउने काम गर्दैछु भन्‍ने कुराको ज्ञान नै मलाई यस पेसामा लागिरहन उत्प्रेरित गर्ने तत्त्व हो।”

याे पनि पढ्नुस  शिक्षामन्त्रीको चेतावनीः ‘जागिर खान अरु नै क्षेत्र छन्, अब हिजोको घोकन्ते सिकाइले हुँदैन’

केन्याकै रोजमेरी नाउँ गरेकी शिक्षिकाले यसो भनिन्‌: “समाजका विपन्‍न मानिसहरूलाई सहयोग गर्ने मेरो धोको थियो। त्यसैकारण मैले नर्स बन्‍ने कि शिक्षक बन्‍ने भनेर छान्‍नुपर्ने थियो। सबैभन्दा पहिले सिकाउने प्रस्ताव आयो। म एक जना आमा पनि भएकीले यस पेसाप्रति मेरो प्रेम झनै बढेको छ।”

जर्मनीको ड्युरेनका बरटोल्ट भने अर्कै कारणले गर्दा शिक्षण पेसामा लागेका थिए: “म एउटा राम्रो शिक्षक बन्‍नेछु भन्‍ने कुरामा मेरी पत्नीले मलाई विश्‍वस्त गराइन्‌।” अनि उसले भनेको कुरा साँचो साबित पनि भयो। तिनले यसो भने: “अहिले मेरो पेसाले मलाई ठूलो आनन्द दिइरहेको छ। जबसम्म शिक्षकले शिक्षाको महत्त्वलाई बुझ्दैन अनि युवाजनहरूप्रति चासो देखाउँदैन तबसम्म ऊ एक असल, उत्प्रेरणादायी अनि सफल शिक्षक बन्‍न सक्दैन।”

नाकासु शहरका एक जना जापानी शिक्षक, मासाहिरोले यसो भने: “निम्न माध्यामिक स्कूलको पहिलो वर्षमा पढ्‌दा एक जना निकै दक्ष शिक्षक पाएको कारण नै म शिक्षक बन्‍न उत्प्रेरित भएँ। उहाँले हामीलाई साँचो समर्पणको भावसहित सिकाउनुहुन्थ्यो। अनि म आफ्नो पेसामा लागिरहनुको प्रमुख कारण हो, मलाई बच्चाहरू मन पर्छ।”

हाल ५४ वर्ष पुगेका योशिया पनि जापानकै हुन्‌, उनको मुनाफादायी कारखानाको जागिर थियो तर आफ्नो काम अनि हरेक दिन घरबाट कारखानासम्म ओहोरदोहोर गर्नुपर्दा उनले आफू त्यसको दास भइरहेको महसुस गरे। “एक दिन मैले सोचें, ‘मैले कतिञ्जेल यस्तो जीवनशैली बिताउने?’ मैले वस्तुभन्दा मानिसहरूसित सम्बन्धित जागिर खाने निधो गरें। शिक्षण पेसालाई अरू कुनै पेसासित तुलना गर्न सकिंदैन। जवान व्यक्‍तिहरूसित काम गर्ने मौका मिल्छ। यो दयालु कार्य हो।”

याे पनि पढ्नुस  बच्चा पढाउन ११ वर्षदेखि नदी तरेर जान्छिन् यी शिक्षिका

रूस, सेन्ट पिटर्सबर्गका भ्यालेटिनाले पनि शिक्षक हुनुको यस पक्षलाई कदर गरे। तिनले यसो भनिन्‌: “शिक्षण पेसा मैले रोजेको पेसा हो। मैले प्राथमिक स्कूलमा शिक्षिकाको रूपमा काम गरेको ३७ वर्ष भइसक्यो। मलाई केटाकेटीहरूसित अझ विशेष गरी सा-साना बच्चाहरूसित समय बिताउन पाउँदा साह्रै आनन्द लाग्छ। मलाई आफ्नो काम प्यारो लाग्छ, त्यसैले होला मैले अहिलेसम्म अवकाश लिएकी छैन।”

विलियम एयर्स आफै पनि शिक्षक हुन्‌, उनले यस्तो लेखे: “मानिसहरूले शिक्षण पेसा रोज्छन्‌ किनभने तिनीहरूलाई बच्चा र युवावस्था मन पर्छ अथवा उनीहरूसित काम गर्न मन पराउँछन्‌, उनीहरू हुर्कंदै गएर संसारकै योग्य, अझ दक्ष र शक्‍तिशाली व्यक्‍ति बनेको हेर्न मन पराउँछन्‌। . . . मानिसहरूले एउटा उपहारस्वरूप . . . अरूलाई सिकाउँछन्‌। म संसारलाई अझ राम्रो ठाउँ बनाउने आशामा सिकाउने गर्छु।”

हो, कठिनाइ र बाधाबिघ्नहरूको बावजूद, हजारौं समर्पित पुरुष तथा महिलाहरू शिक्षण पेसातिर आकर्षित भएका छन्‌

-प्रहरी धरहराबाट

कमेन्ट गर्नुहोस्