महानगरद्धारा क्याफेमै सार्वजनिक शौचालय

काठमाडौं, साउन १६ । काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट र क्याफेसँग सहकार्य गरी शौचालय सुविधा उपलब्ध गराउने भएको छ । पहिलो चरणमा ५० वटा होटल, रेस्टुरेन्ट र क्याफेका शौचालयमा निर्वाध रूपमा महानगरवासी र पर्यटकलाई दिसापिसाब गर्न पाउने सशुल्क सेवा दिन लागेको हो ।

राजधानीका मुख्य चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्न महँगो पर्नेमात्र नभई बनाउनका लागि ठाउँको अभावसमेत रहेकाले विकल्पमा विदेशी मुलुकका ठूला महानगरमा जस्तै होटल, रेस्टुरेन्ट र क्याफेभित्र सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराउने तयारी भइरहेको जानकारी महानगरका अधिकारीले दिएका छन् ।

ती अधिकारीका अनुसार अबको दुईरतीन महिनाभित्रै राजधानीका ५० होटल, रेस्टुरेन्ट र क्याफेमा शौचालय सुविधा उपलब्ध गराउन महानगरले आवश्यक काम अघि बढाइरहेको छ । महानगरले पहिलो चरणमा आफ्नो क्षेत्रभित्रका ५० वटा होटल, रेस्टुरेन्ट र क्याफेका सञ्चालकसित वार्ता गरी तिनका शौचालयमा ‘सार्वजनिक शौचालय’ को सुविधा दिनेबारेमा प्रारम्भिक समझदारी गरिसकेको छ ।

महानगरभित्रका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार तिनमा महानगरबासी र पर्यटकले कुनै पनि खानेकुरा नखाए पनि तोकिएको शुल्क तिरेर शौचालय प्रयोग गर्न पाउने छन् । शौचालय प्रयोग गरेबापत लाग्ने शुल्क भने टुंगो लगाउन बाँकी छ ।

सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न आवश्यक थप पानी उपलब्ध गराउने र दिसापिसाब गर्दा लाग्ने शुल्कको टुंगो लागेपछि महानगर र ती होटल, रेस्टुरेन्ट र क्याफेबीच सम्झौता हुने छ । ‘सम्झौता भएपछि तोकिएका होटल, रेस्टुरेन्ट र क्याफेका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा उपयोगमा ल्याइने छ,’ ।

महानगरमा उपलब्ध सार्वजनिक शौचालयभन्दा होटल र रेस्टुरेन्टको शौचालयमा बढी शुल्क तिर्नु नपर्नेसमेत महानगरका अधिकारी बताउँछन् ।

‘अबको दुईरतीन महिनापछि नै राजधानीमा हिडदा या घुम्दा दिसापिसाब लागेमा शौचालय खोज्न भौंतारिनु पर्ने छैन,’ महानगरका एक अधिकारी भन्छन्, ‘छानीछानी राम्रा होटल, रेस्टुरेन्ट र क्याफे छिरेर दिसापिसाब गर्न सकिने छ । त्यसका लागि होटल छिरेर कुनै खानेकुरा खानुपर्ने छैन । तोकिएको शुल्क तिर्यो शौच गर्यो निस्कियो गर्न पाइने छ ।’

मुलुकको केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरभित्र सार्वजनिक शौचालय अत्यन्त कम संख्यामा छन् । भएका शौचालय पनि सरसफाइ र पानीको अभावले अत्यन्त फोहोर छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्