जेएनयूः एउटा विश्वविद्यालयको दुःखान्त

काठमाडौं, साउन १६ । म यसअघि सधैँ आफ्नो विश्वविद्यालयदेखि अत्यन्तै उत्साहित थिएँ, तर आज क्याम्पसपरिसरमा व्याप्त भयको मनोविज्ञान र फरक विचारमाथिको दमनले मैले त्यो आत्मविश्वास गुमाइसकेको छु । म तिनै ४८ जना शिक्षकमध्ये एक हुँ, जसको विरुद्धमा जवहारलाल नेहरू विश्वविद्यालयका प्राध्यापकको संगठनद्वारा आयोजित शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको भनेर उजुरी हालिएको छ । यो आलेख कुनै ‘नीति नियम’को कानुनी वा कर्मचारीले गर्ने व्याख्याजस्तो शब्दको खेल होइन ।

न त यो आलेख अनुशासन र दण्डका संयन्त्र बारेमा नै हो । म व्यक्तिगत अनुभवबाटै सुरु गर्न चाहन्छु । एक दिन मेरा एक मित्रले उनकी छोरीको स्नातकोत्तर अध्ययनका लागि पोस्ट जेएनयू ‘राम्रो’ हुन्छ कि हुँदैन भनेर सोधेका थिए । मैले सीधा जवाफ दिएँ, ‘हुँदैन’ । जेएनयूका बारेमा मैले यस्तो उत्तर दिएको पहिलोपटक हो । म आफ्नो विश्वविद्यालयदेखि निकै उत्साहित थिएँ । म भन्ने गर्थें– जेएनयू एउटा सपना, परियोजना र शानदार प्रयोग हो । उत्कृष्टता र समानतालाई एकैसाथ समेट्न सक्ने एउटा सार्वजनिक विश्वविद्यालय । आलोचनात्मक र रचनात्मक सोच विकास गर्ने अनि वैकल्पिक जीवन पद्धति अभ्यासको लागि रचनात्मक स्थानका रूपमा जेएनयूलाई मैले बुझेको थिएँ ।

जे होस्, आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा आफ्नै साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ? जहाँ एकेडेमिक काउन्सिलको बैठकमा फरक विचार राख्ने एक वरिष्ठ प्राध्यापक अपमानित हुँदा अरू शान्त बसेको र सम्बन्धित प्राधिकारवाला व्यक्तिमाथि प्रश्न नगर्न उर्दी जारी गरिएको देखिएको छ । जहाँ कैयौँ वरिष्ठ र अनुभवी प्राध्यापक हुँदाहुँदै पनि एकजना युवा प्राध्यापकलाई स्कुल अफ सोसल साइन्सको डिनमा नियुक्त गरिएकोे छ ।

यस्तो परिस्थितिमा कुनै शैक्षिक संस्था वा प्रचलनकोे कुनै महत्व छैन भन्ने महसुस हुन थाल्छ । यस्तोमा ‘सक्षम प्राधिकार’को ‘तजबिजी शक्ति’मात्रै महत्वपूर्ण हुन्छ । जहाँ सौन्दर्य र राजनीतिक अर्थ राख्ने पोस्टर भित्ताबाट हटाइन्छन्, विद्यार्थीलाई उनीहरूका शक्ति र अधिकारको ‘सीमितता’बारे सचेत हुन भनिन्छ । जब शिक्षकको पेसा सुरक्षित राख्ने सुनिश्चितताका लागि हाजिरी कपीमा आफ्नो नाम लेख्नुपर्छ कि (यद्यपि, अहिलेसम्म अनिवार्य गरिएको छैन) भन्ने तहसम्म सोच्न थालेका छन् । यसबाट नै बुझ्न सकिन्छ कि विश्वविद्यालयमा शिक्षण प्रणालीको मेरुदण्डलाई कसरी ध्वस्त पारिँदै छ ।

जब कुनै शान्तिपूर्ण र्‍यालीमा एक सय ५० जना शिक्षक सम्मिलित हुन्छन्, तर ४८ जनालाई मात्र तारो बनाइन्छ, यो रणनीति स्पष्टसँग बुझिन्छ, फुटाऊ, टुक्र्याऊ र नैतिक रूपमा कमजोर बनाइदेऊ । यस्तो विषाक्त वातावरणमा हरेक चिज सतही, द्वैध चरित्र भएको जस्तो र खोक्रो लाग्छ, चाहे त्यो गान्धीको नागरिक अवज्ञामाथिको लेक्चर होस्, मिसेल फुकोको ‘डिसिप्लिन एन्ड पनिस्ट’माथि तयार पारिएको गृहकार्य । ‘सीमान्तीकरण र प्रतिरोध’माथि गरिएको सेमिनारको उद्घाटन ‘सक्षम प्राधिकार’ले गरे पनि त्यो अर्थहीन लाग्छ । मलाई थाहा छ, म अलिक बढी नै निराशावादी बन्दै छु । म मेरा अनुसन्धानरत विद्यार्थीलाई भन्छु, ‘शोधपत्र जतिसक्दो छिटो बुझाऊ, यो अब तिमीहरूले कल्पना गरेजस्तो सपनाको भूमि रहेन ।’ मलाई थाहा छ कि यो विश्वविद्यालय बनाउनका लागि धेरै दिग्गजले आफ्नो जीवनको ऊर्जा खर्च गरेका छन् । यो बनाउन समय लागेको छ । तर, विडम्बना ! तीन वर्षमा यसलाई पूरै खत्तम गर्न सकिँदो रहेछ । के हाम्रो समयमा बनाउने भन्दा भत्काउने शक्तिशाली भएका हुन् ?

आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ?

अर्को कथा पनि यहाँ राख्न चाहन्छु । हो, यहाँ केही पनि सजिलो छैन । एउटा छात्र चार वर्षसम्म काम गर्छ, पिएचडीको शोधपत्र लेख्छ । कुनै अधिकृतले प्राविधिक कमजोरी गरिदिन्छ र भन्छ– शोधपत्रको शीर्षकको स्पेलिङ मिलेन । त्यसपछि उसलाई चौतर्फी धाएर, भएभरका कर्मचारी भेट्दै अपमानको अनभुव गर्नुपर्ने बाध्यता आइलाग्छ । उसलाई सहयोग गर्नका लागि मैले सम्बन्धित विभागका कर्मचारीलाई भेट्ने कोसिस गरेँ । त्यो त्यति सहज कहाँ थियो र रु सुरक्षा गार्डले मलाई सोधपुछ गर्न थालिहाल्यो । मेरो २९ वर्ष लामो प्राध्यापन, देश र दुनियाँका विभिन्न विश्वविद्यालयमा पढाउने मेरा विद्यार्थी । तर, मलाई आज अचानक महसुस भयो कि यो मेरो विश्वविद्यालय होइन । यो रजिस्ट्रार र रेक्टरको, सेक्सन अफिसरको, सेक्युरिटी गार्ड र खासगरी ‘सक्षम प्राधिकार’कोे मात्रै विश्वविद्यालय हो ।

नयाँ ब्याचका विद्यार्थी क्याम्पसमा आएका छन् । मलाई थाहा छ कि मेरो विभागले उनीहरूका लागि एउटा अभिमुखीकरणजस्तो कार्यक्रम राख्नेछ । यसभन्दा पहिलेका वर्षमा प्रायः म नै ती नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्थें र उनीहरूलाई हाम्रा सम्झना सुनाउँथे । एउटा पुरानो बरको रूख रोमिला थापर र बिपन चन्द्रा एक हुल विद्यार्थीसहित लाइब्रेरी तर्फ गइरहेको देख्ने साक्षी हुन्थ्यो ।

प्रोफेसर सुदिप्ता कविराज र नामवर सिंह सपिङ कम्प्लेक्समा पुस्तक पसलको साहुसँग गफ गरिरहेका हुन्थे, संकटकालका विरुद्धमा ऐतिहासिक प्रदर्शन हुन्थ्यो, सन् १९८४ को दंगामा विद्यार्थीले आसपासका क्षेत्रमा बस्ने शिखको गरेको रक्षा र भोपाल ग्यास काण्डका पीडितको लागि निःस्वार्थ भावले गरेको काम । साथै होस्टेलको मेसमा राति अबेरसम्म मेधा पाटकरले सामाजिक आन्दोलनका बारेमा गरेका भाषणबारे परिचर्चा गर्थें । तर, अहिले म के गरूँ ? के म उनीहरूलाई डर देखाएर पोस्टर लेख्नका लागि रातभर नसुत भनौँ रु वा पाठ्यक्रमभन्दा बाहिरका विषयमा, हिंसा, गरिबी, भोकमरीका बारेमा नसोच भनौँ ?केवल दीक्षान्त समारोहमा भाग लिनका लागि अनुशासित सैनिकजस्तै बन भनेर सिकाऊँ रु म तिनीहरूलाई राम्रा पुस्तक नपढ, बरु यसको सट्टामा वकिल खोजेर तिमीहरूमाथि लादिएको कानुनको व्याख्या गर्न लगाऊ भनेर सल्लाह दिऊँ ? साँच्चै एउटा महान् विश्वविद्यालयको पतनको कथाले मलाई चकनाचुर बनाइदिन्छ ।

फेरि पनि दोस्तोभस्कीका पात्रजस्तो, मैले एउटा सपना देखेँ । सपनामा देखेको कथा यस्तो छ– मैले ‘सक्षम प्राधिकार’लाई पत्र लेख्छु ।डियर प्रोफेसर, कृपया महलबाट बाहिर निस्किनुहोस् । आफ्नो एक्लोपनालाई दूर गरिदिनुहोस् । कृपया मसँग आउनुहोस् । एकसाथ हिडौँ । मनसुनको बादल वा परेवाको नृत्यलाई हेर्नुहोस् र आश्वस्त हुनुहोस्– जसरी एउटा प्रोफेसरले अरू कुनै प्रोफेसरसँग कुरा गर्छ, जसरी एउटा संवेदनशील मानिस बातचित गर्छ ।

कृपया दुनियाँलाई तपाईंको उर्दीभन्दा परबाट हेर्नुहोस् । ख्याल गर्नुहोला, अदालतको मामिला, आरोपपत्र र सजायको तरिका (निष्काशन, निलम्बन) र दुनियाँलाई पुनः एकपटक सँगै राखेर हेर्नुहोला । एउटा त्यस्तो दुनियाँ, जहाँ टेगोरले डरबाट मुक्तिको कुरा गरे, मार्टिन बुबर पाउलो फ्रेयरले वार्ता र संवादको कुरा गरे । यसै अवसरमा बनारस हिन्दू विश्वविद्यालय उद्घाटनमा मोहनदास करमचन्द गान्धीले शिक्षक र विद्यार्थीलाई समावेशीरदयालुरसमतावादी समाज बनाउने सामूहिक जिम्मेवार हुन सिकाएको कुरा पनि याद गर्नुहोला ।

कार्ल माक्र्सको दाह्रीमा न्यानोपन महसुस गर्नुहोस्, टल्स्टोयको पदचापमा बुद्धिमत्ता, बुद्धको आँखामा अनुकम्पा । सत्याग्रहको अर्थ बुझ्नुहोस् र प्रतिरोधको कवितालाई महसुस गर्नुहोस् । हो, मैले तपाईंका लागि यहाँ एउटा उपहार ल्याएको छु । म निश्चिन्त छु कि तपाईंका कानुनी सल्लाहकार वा अधिकारिक कर्मचारी कसैले सोच्न सकेका छैनन् । यो एउटा पुतली हो । विलियमम वर्डस्वर्थले जस्तै यसमा आफ्नो प्रारम्भिक अवस्थाका इतिहासकारलाई खोज्नुहोस् । स्वतन्त्रता तपाईंको अधिकार हो । कर्मचारीतन्त्रको फलामको पिँजडाभित्र बस्ने सम्राट भएर तपाईंले के प्राप्त गर्नुहुन्छ रु नयाँ पत्रिकाबाट साभार

(लेखक जेएनयूमा समाजशास्त्रका प्राध्यापक हुन्)(‘द वायर’बाट)

कमेन्ट गर्नुहोस्