विप्लव समूहले जलायो सुदूरपश्चिमका १० एनसेल टावर

कैलालाली, साउन १६ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सुदूरपश्चिमका १० वटा एनसेलका टावरमा आगजनी गरेको छ । कैलाली, डोटी, डडेल्धुरा, अछाम र बझाङमा गरी १० वटा एनसेलका टावरमा विप्लव समूहले आगजनी गरेको हो । विप्लवका कार्यकर्ताले कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र डडेल्धुराका एक÷एक टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतकाअनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ६, जानकी गाउँपालिका वडा नम्बर २ र ४, र गोदावरी नगरपालिका वडा नम्बर ९ मालाखेतीमा रहेको एक टावरमा आगजनी गरिएको छ । आगजनीबाट टावरमा रहेका विभिन्न उपकरण, जनेरेटर र कन्टोल बक्स लगायतका समान जलेको उनले बताए।

यस्तै प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुराको काफलीगाडमा रहेको टावरमा पनि आगजनी गरिएको छ। डडेल्धुरामा एनसेलका १५ वटा टावर रहेका छन्। अछामको विनायक नगरपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ।

१८ टावर रहेको डोटीमा एउटा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्लाको जोरायल गाँउपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा गयराती आगजनी गरिएको हो। तर कञ्चनपुर, दार्चुला, बैतडी र बाजुरामा एनसेलका टावरमा आगजनी गरिएको विषयमा भने सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्