पर्यटनमन्त्री भट्टराई भन्छन्, ‘काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग्छु’

काठमाडौं, साउन १६ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन् ।

बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुस हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । ‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यहीँ हुनेछ, जुन दिन मैले काम गर्न सकिन अथवा म असफल भएँ भन्ने महशुस प्रधानमन्त्रीलाई हुन्छ, ’ मन्त्री भट्टराईको भनाई थियो, ‘त्यो दिन प्र्रधानमन्त्रीले मलाई भन्नु हुनेछ र म मन्त्री पदबाट हटनेछु ।’ मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

मन्त्री भट्टराईले केही दिन भित्र आफ्नो कार्ययोजना संचार माध्याममार्फत् सार्वजनिक गर्ने जानकारी दिए । उनले आफूले जिम्मेवारी पाएको मन्त्रालयको कामका बारेमा, त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिन भित्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताए । मन्त्री भट्टराईले पाँच महिनायता मन्त्रालयमा मन्त्रीको अभावमा हुन नसकेका कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्