विप्लव नेकपाका ४ कार्यकर्ता हतियारसहित नियन्त्रणमा

रौतहट, १६ साउन। रौतहटमा प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ कार्यकर्तालाई हतियारसहित नियन्त्रणमा लिएको छ। जिल्लाको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै प्रहरीले बुधबार साँझ विप्लव नेकपाका चार जना कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्वर चार टेकान टोलका मानबहादुर वाइवा र राम बहादुर घिसिङ लगायत चार जना रहेको जिल्ला प्रहरी कार्यालय, रौतहट स्रोतले जनाएको छ। पक्राउ परेकाहरुको बयानको आधारमा बुधबार साँझ चन्द्रपुरको टेकानटोल स्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी स्रोतले जानकारी दिएको छ।

वाइवा पूर्वमाओवादी कार्यकर्ता हुन् भने घिसिङ विगत केही महिनायता विप्लव माओवादीका सहयोगी रहँदै आएका थिए। अन्य दुईजना बारे अनुुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ। वाइवा पछिल्लो समय सुमो गाडी चालकको काम गर्दै आएका थिए भने घिसिङ गाउँमै प्रेस हाउस कुखराको मासुु बेच्ने काम गर्दै आएका थिए। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरुलाई बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको छ।
File Photo

कमेन्ट गर्नुहोस्