Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्वामी आनन्द अरुणले ओशो रजनीसको पहिलोपटक दर्शन गर्दा…

काठमाडौं । ‘तपाईंको जीवनको सबैभन्दा शौभाग्यशाली दिन कुन हो ?’ कसैले प्रश्न गरे म भन्नेछु– १९ मार्च १९६९ । संसारका सबै चिजलाई बिर्सन सकुँला, आफ्नै छायालाई म भुल्न सकुँला । तर त्यो सुखद दिनलाई म कहिल्यै विस्मरण गर्न सक्ने छैन । म आज जहाँ छु, त्यही दिनका कारण छु । दीयोले ज्योति नभेटेसम्म त्यो उज्यालो हुँदैन, नदीले समुद्र नभेटेसम्म त्यो शान्त हुँदैन, साधकले गुरु नभेटेसम्म ऊ परितृप्त हुँदैन ।

मभित्र अध्यात्मको प्यास थियो । धेरै गुरुलाई मैले भेटी पनि सकेको थिएँ । तर जजसलाई भेटे पनि मनको छटपटी घटेको थिएन । आध्यात्मिक निकास मैले पाउन सकेको थिइनँ । आत्मदर्शनका मुमुक्षुका लागि गुरु नहुनु भनेको बोल्न खोज्नेका लागि जिब्रो नभएजस्तो हो, हेर्न चाहनेका लागि आँखा नभएको जस्तो हो, अनि हिँड्न अघि सर्नेका लागि खुट्टा नभए जस्तै हो ।

ओशोलाई भेट्नुपूर्व धेरै गुरु र तिनका आश्रममा बस्दा—बस्दा धर्म एक पाखण्ड पो हो कि भन्नेसम्म शंका लाग्न थालिसकेको थियो । धर्मप्रति नै वितृष्णा पैदा भइसकेको थियो । ती तथाकथित गुरुहरू भन्थे एउटा, गर्थे अर्कै । जीवनका सहज र स्वाभाविक वृत्तिहरू निषेधित थिए । चिया पिउनुसम्म पाप थियो ।

अधिकांश आश्रममा महिला र पुरुषबीच भेटघाट पनि गर्न दिइन्नथ्यो । यसले गर्दा लुकिछिपी यौन विकृतिहरू हुर्किरहेको मैले देखेको थिएँ । स्त्री र पुरुषको बीचमा जहाँ जति ठूलो पर्खाल थियो, त्यहाँ त्यति नै बढी त्यसको विकृति पनि थियो । अनेक प्रकारका पाखण्ड थिए । यिनै कारण धर्मबाट विरक्तिएर म साम्यवादीहरूको विचारतिर आकर्षित भएको थिएँ । जीवन र समाज परिवर्तनको बाटो खोज्दै गान्धी, बिनोवा, जयप्रकाशदेखि माक्र्ससम्मको बाटोमा म भौंंतारिरहेको थिएँ ।

मार्चको एकदिन पटनाको सिन्हा पुस्तकालयको भित्तामा टाँसिएको एउटा पोस्टरमा मेरा आँखा पुगे । ‘आज बेलुका यहाँ आचार्यजीको प्रवचन हुँदैछ’ त्यसमा लेखिएको थियो । तिनताक ओशोलाई मानिसहरू आचार्य श्री रजनीश भन्थे । त्यतिबेलासम्म मैले उहाँको नामै सुनेको थिइन । श्यामश्वेतको त्यो पोस्टरमा कालो लामो दारीमा आचार्य रजनीशको उज्यालो अनुहार बडा आकर्षक लाग्यो मलाई ।

छात्रावासका एक साथीलाई लिएर म प्रवचन सुन्न गएँ । योगीहरूसँग सक्दो नजिक हुने मेरो पुरानै बानी हो । त्यही इच्छाले म सबैभन्दा अगाडिको पंक्तिमा गएर बसेँ ।

ठीक ६ बजे उहाँ आइपुग्नुभयो । त्यतिबेला ओशो ३७ वर्षको हुनुहुन्थ्यो । धपक्क बलेको कान्तिमय अनुहार र सुगठित युवा शरीर थियो । मलाई उहाँको शारीरिक सौन्दर्यमा एक दिव्य उपस्थितिको अनुभव भयो । मैले यस्तो दिव्य आभामण्डित पुरुष पहिले कहिल्यै देखेको थिइन ।

त्यस दिन उहाँले निख्खर सेतो लुङ्गी, सेतो शल र कालो चप्पल लगाउनुभएको थियो । बाक्लो कालो दाह्री र कान्तिमय अनुहार थियो । उहाँको परिधान, व्यवहार र अनुहारमा एउटा अभिजात्यपन मैले देखेँ । उहाँको सान्निध्यमा एक आध्यात्मिक तरंग र उत्सवमय वातावरणको सतत् अनुभूति हुन्थ्यो । प्रवचन पूर्व एक मधुर स्वरकी युवतीले कविरको एक भजन गाइन् ।

उष्ण प्रदेशको फागुनी सन्ध्या अत्यन्त मोहक हुन्छ । त्यसमाथि गंगातटको शीतल हावा, अस्ताउन लागेको सूर्य, सुन्दर युवतीको मधुर कण्ठबाट कविरको भजन र ओशोको सान्निध्य ! म भाव समाधिमा डुब्न लागेंँ ।

भजन सकिएपछि उहाँको प्रवचन सुरु भयो ।

‘मेरे प्रिय आत्मन् ………!’
तिनताका उहाँ सुन्न आउनेलाई यसरी सम्बोधन गर्नुहुन्थ्यो । मानिसहरू बोल्नुअघि, दाजुभाइ तथा दिदीबहिनी, महिला तथा सज्जनवृन्द इत्यादि भन्थे । अति मधुर स्वरमा यस्तो आत्मीय सम्बोधन मैले पहिले सुनेको थिइन । म अझ भावुक भएँ । ओशो बोल्दै जानुभयो । उहाँको बोलीमा एक गहन आकर्षण थियो र उहाँको उपस्थितिमा एक लट्ठयाउने आह्लाद । मलाई यस्तो अनुभव भयो कि धेरै अघि छुटेको प्रेमी मैले भेट्टाएँ । मेरा आँखा रसाए । उहाँको शब्द—शब्दले मेरो ह्दय आन्दोलित भइरहेको थियो, आँसु बर्सिरहेका थिए । मेरो जन्मजन्मान्तरको क्लेश आँसु बनेर निस्किरहेको थियो र म हलुका हुँदै गइरहेको थिएँ ।

ओशोका कुरा वैज्ञानिक, तार्किक र सटिक थिए । ओशो कहिले आधुनिकभन्दा आधुनिक ढंगले कुरा गर्नुहुन्थ्यो भने कहिले प्राचीनभन्दा पनि प्राचीन । तर विज्ञानले दिएको हरेक सुखसुविधा उपयोग गर्ने जीवनशैलीको उहाँ समर्थक हुनुहुन्थ्यो । तिनताक ओशोको हरेक प्रवचन एक घन्टाका हुन्थे । प्रचवनपछि प्रश्नोत्तरको सिलसिला सुरु भयो ।

एक मित्रले प्रश्न गरे, ‘साधु, सन्त सादा जीवन जिउँछन् । महात्मा गान्धी सधैं रेलको तेस्रो दर्जामा यात्रा गर्नुहुन्थ्यो । तपाईं सधैं प्रथम दर्जामा यात्रा गर्नुहुन्छ, तपाईं कस्तो सन्त ?’

SAMSUNG CSC

ओशोले भन्नुभयो, ‘महात्मा गान्धीलाई सोधिन्थ्यो– यति ठूलो मान्छे भएर पनि तपाईं किन तेस्रो दर्जामा मात्रै यात्रा गर्नुहुन्छ ?’ गान्धीजीले उत्तर दिनुहुन्थ्यो, ‘किनभने भारतीय रेलमा चौथो दर्जाको डिब्बा छैन, जुन दिन भारतीय रेलमा चौथो दर्जाको डिब्बा उपलब्ध हुन्छ, म त्यसै दिनदेखि तेस्रो दर्जामा यात्रा गर्न बन्द गर्नेछु !’

ओशोले अगाडि भन्नुभयो, ‘तर म किन पहिलो दर्जामा यात्रा गर्छु भने त्यसभन्दा माथिल्लो दर्जाको सुविधा भारतीय रेलमा अहिले छैन । जुन दिन यहाँको रेलमा वातानुकूलित सुविधा हुन्छ, त्यसै दिनदेखि म पहिलो दर्जामा यात्रा गर्न छाडिदिन्छु ! महात्मा गान्धीले तेस्रो दर्जामा यात्रा गर्दा पुरै भारत नै तेस्रो दर्जाको भएको छ । अधिकांश देशमा रेलका पुरै डिब्बा वातानुकूलित हुन्छन् । हामीले के त्यस्तो पाप गरेका छौं र भारतमा हामीले सधैं तेस्रो दर्जामा यात्रा गर्नुपर्ने ? गान्धीको दर्शन फस्टायो भने रेलमा चौथो दर्जा पनि आउँछ । मेरो कुरा मानिसले सुनिदिए, मानिदिए भने प्रत्येक भारतीय एसीमा यात्रा गर्न सक्छन् । गान्धीजीको दर्शन गरिबीको दर्शन हो, गान्धीजी दरिद्रतालाई नारायण भन्नुहुन्थ्यो, म गरिबीलाई एक भयानक रोग भन्छु ।

सादगी सुन्दर कुरा हो । एक गहन सौन्दर्यबोधबाट सादगीको जन्म हुन्छ । तर सादगीलाई गरिबीको दर्शनका रूपमा लिनु आत्मघाती हुन्छ । त्यतिबेला त मैले ओशोका यी कुरा पुरै बुझ्न सकिन । तर अहिले देखिरहेको छु, गरिबीको दर्शनमा हामी नेपाली पनि कति सम्मोहित छौं र आजसम्म पीडित छौं । तर पनि गरिबीको दर्शन छोड्न सकिरहेका छैनौं ।

अर्का एक मित्रले सोधे, ‘आचार्यश्री, प्रेम के हो ?’

ओशोले उत्तर दिनुभयो, ‘प्रेमलाई शब्दमा बताउन कठिन छ । जबसम्म मनुष्य बेहोश हुन्छ, उसको तृष्णाको अन्त्य हुँदैन, उसको चाहनाको अन्त्य हुँदैन । जुन कुरा जति भए पनि उसलाई पुग्दैन । जुन दिन आत्मबोध हुन्छ, आत्माको अनुभूति यति तृप्तिदायक छ कि सबै तृष्णा सधैंका लागि शान्त हुन्छन् । तर शक्ति बाँकी नै हुन्छ । जुन शक्ति कामना बनिरहेको थियो, त्यही शक्ति अब करुणामा परिवर्तित हुन्छ । जबसम्म मनुष्य मुच्र्छित छ, चाहना नै चाहनाले भरिएको हुन्छ ।

जेजति भए पनि तृप्त हुँदैन । सम्बोधीपछि त्यही तृष्णा करुणा बनेर आउँछ । जति बाँडे पनि अझ बाँड्न मन लाग्छ । यही करुणाले विवश भएर म यत्रो यात्रा गरिरहेको छु र बारम्बार तपाईंको सहरमा उपस्थित भएको छु । आत्मबोधपछि जुन आनन्दको महासागर मैले भेट्टाएको छु, त्यसको एक थोपाको स्वादमात्रै पनि तपाईंलाई दिनसकेंँ भने म आफूलाई धन्य ठान्नेछु । एकदिन जुन वासनाले मलाई बाहिर दौडाइरहेको थियो, आज त्यही ऊर्जाले करुणा बनेर मलाई तपाईंकहाँ ल्याएको छ । मेरा आँखामा हेर्नुस्, मेरा वाणीमा बुझ्ने कोसिस गर्नुस् । दुबै हात उठाउँदै उहाँले भन्नुभयो, ‘प्रेमले फैलिरहेका मेरा यी आलिंगनमा अनुभव गर्नुस् ।’ दुबै हात उठाउँदा उहाँको चादर काँधबाट खस्यो । चादर खसेपछि उहाँको सुगठित ब्रह्मतजोमयी युवा शरीर मलाई भगवान श्रीकृष्णले अर्जुनलाई देखाउनुभएको विराट रूपजस्तो लाग्यो ।

ओशोले भन्नुभयो, ‘मेरो यो प्रेमपूर्ण उपस्थितिमा अनुभव गर्न सक्नुभएन भने शब्दमा कसरी म प्रेम देखाउन सकुँला । ओशोका यी प्रेमपूर्ण शब्दले अधिकांशका आँखा रसाए । म भक्कानो छाडेर रुन थालेंँ । एक आन्तरिक समर्पण घट्यो । एक अन्तरबोध भयो । यसै गुरुको प्रतीक्षामा म आकुल—व्याकुल भएर भौंतारिरहेको थिएँ । अब यिनको साथ म कहिल्यै छोड्दिन । अब म पछाडि फर्किने छैन । यसबीच ४६ वसन्त बितिसके, त्यो दिनमा रोपिएका यी संकल्पका सुन्दर वीजहरू आजसम्म मौलाइरहेका छन् ।

स्वामी आनन्द अरूणको प्रकाशोन्मुख पुस्तक ‘एक अचम्म मैले देखेँ’ बाट ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: