योगेश भट्टराईलाई पत्रः सकिन्छ भने संयन्त्र नै पूर्णरुपमा उल्ट्याउनुस्

भीष्म थापा
कमरेड भट्टराई,

समाजमा वर्ग छ, वर्गहरुबीच शोषण छ । शिक्षामा असमानता छ । हुनेखाने र नहुनेहरुका छोराछोरीले समान शिक्षा लिन नपाउँदा एउटा तह निर्माण हुन्छ र त्यसले धनी सधै धनी हुने, अनि गरिब सधै गरिब नै रहने परिपाटीको सिर्जना हुन्छ भन्ने आशयको तपाईको भाषण सुनेपछि म तपाईको प्रशंसक बने कुनै बेला ।
त्यो पर्यन्त मैले तपाईलाई एउटा आदर्श नेताको रुपमा लिएँ । तपाईको सादगी जीवन, वैचारिक ओज र खासगरी व्यक्तिगत स्वार्थका लागि सम्झौता नगर्ने बानी मलाई सबैभन्दा मनपर्ने पक्ष हुन ।

म मात्रै होइन, नेपालमा धेरै म जस्ताहरु छन जसले योगेश भट्टराईलाई अबको समाजवादी क्रान्तिको एउटा भरपर्दो नेताको रुपमा विश्वास गर्छन ।
नेकपाका कतिपय नेताहरुले समाजवाद भन्दा चित्त दुखाउने गरेको परिस्थितिमा तपाईले साँच्चिकै यथास्थितिभन्दा माथि उठन पहल गर्दै आएको हामीले रामै्रसँग बुझेका छौं ।

कतिपय अवस्थामा त हामी भन्ने पनि गथ्र्यौं-  यस्तो विचार राख्ने योगेशजी किन राजाको पाउमा दाम चढाउने एमालेसँग बस्नु भयो होला है ?

खैर, यो पुरानो कुरा भयो, सारमा के हो भने तपाईलाई हामी नेपालका हजारौं लाखौं जनता औधी मन पराउँछौं, त्यसैले तपाई मन्त्री भएपछि हामी नै सबैभन्दा बढी खुशी र सबैभन्दा बेसी चिन्तित पनि बनेका छौं ।

कमरेड,

तपाईलाई हामीले भन्नैपर्दैन, यो संसदीय व्यवस्था हो । यहाँ पञ्चायती राजतन्त्रदेखिकै अस्तित्वमा रहेको कर्मचारीतन्त्र छ । त्यो कर्मचारीतन्त्रको सम्बन्ध दलाल पूँजिपति वर्गसँग छ । त्यसैले यहाँ जनताको भन्दा दलाल, बुर्जुवाहरुको काम हुन्छ । यहाँ घुस नदिई केही हुन्न । कमिशनको खेलमा सबै लागेका हुन्छन् । यो संसदीय व्यवस्थाको आम चरित्र हो । त्यसैले हामी यही कुरामा सबैभन्दा बढी चिन्तित भएका हौं ।

तपाईको चित्त सफा छ, तपाईको नियती सफा छ, तपाईका लागि यी साना तिना कुराले अर्थ राख्दैन थाहा छ । तर यो जालो नि ?

पत्याउनु हुन्न होला, मैले नि पत्याएको छैन अझैसम्म । एउटा भट्टीपसलमा मैले सुनेको– रविन्द्र कमरेडलाई एउटा दलालले ५० लाख बुझाएको रे, कुनै हाकिमको सरुवा रोक्न ।

म अझै संशयमा छु, के कमरेड रविन्द्रले साँच्चिकै त्यो पैसा बुझे होलान या उनको नाममा कुनै दलालले त्यो पैसा झ्वाम्म पार्यो होला ।
कमरेड, नेपालमा मन्त्रीको जानकारी बेगर वरिपरिको घेराले ७५ प्रतिशत भन्दा बढी डिलिङ गर्छन् । अहिले प्रधानमन्त्री ओलीलाई हेरे पुग्छ, मैले बढी भन्नु पर्दैन ।

तपाईका अगाडि चुनौतीका पहाड छन् । मेरो व्यक्तिगत राय त तपाई अहिले मन्त्री नहुनुपर्ने थियो । किनभने तपाई ऐच्छिक भन्दा बाध्यतात्मक रोजाईमा मन्त्री बन्नु भएको हो । त्यसैले यो मन्त्री बनाउनुका पछाडि तपाईलाई अघि बढाउने र स्थापित गराउने भन्दा एम्बुसमा पार्ने षडयन्त्र पनि हुनसक्ने कुरा एकजना साथीले आज मात्रै शेयर गरे । मेरो यो कुरामा अझै सहमति चाहिँ छैन ।

तर पनि तपाई एम्बुसमा जाँदै हुनुहुन्छ भन्ने कुरा रामकुमारी झाँक्रीदेखि सूर्य थापाले सार्वजनिकरुपमा नै भनेका छन् । त्यसो भए तपाईलाई एम्बुसमा पार्ने को त ?

एम्बुसमा पार्नुको नियत के त ? के योगश भट्टराईलाई एम्बुसमा पारेर राजनीतिक इतिहास बदनाम गर्न खोज्ने प्रपञ्च गरिएको हो त ? कमरेड रविन्द्र अधिकारीमाथि प्रहार गरिएजस्तै ? मेरो मनमा यो डर पनि नसमाएको होइन । तर तपाईले जस्तोसुकै एम्बुस पनि भेदन गर्न सक्नुहुन्छ भन्ने मेरो आत्मविश्वासले म तपाईको भविष्यप्रति सदैव आशावादी नै छु ।

कमरेड, तपाई मन्त्री बन्नु भयो । अब तपाईका अगाडि एउटा घेरा निर्माण हुन्छ । त्यसलाई जजमेन्टल सर्कल भनिन्छ । त्यो घेराले तपाईलाई रिपोर्ट गर्छ । यो राम्रो, त्यो नराम्रो, यसले यस्तो गर्यो, त्यसले यस्तो गर्यो । यस्ता तमाम कुरा तपाईकहाँ आउँछन् । तपाईको ब्यस्तता र कार्यशैलीगत समस्याले तपाईले त्यो कुराको भेरिफाई गर्न सक्नुहुन्न किनभने तपाईलाई रिपोर्ट गर्ने तपाईले नै पत्याएको मान्छे हुन्छ । तर त्यो पत्याएको मान्छेलाई कसै अरुले प्रभावमा लिइसकेको हुन्छ । अनि तपाई पनि ए हो है भनेर त्यही अनुरुपको धारणा बनाउनुहुन्छ । मैले २०४७ सालदेखिका मन्त्रीहरुको यो प्रवृत्तिको गहन अनुसन्धान गरेको छु । तपाई यो कुराबाट उम्किन सक्नुभयो भयो भने तपाईको पहिलो जीत यही हो । शिक्षा मन्त्री गिरिराजमणी पोखरेल यो सवालमा पहिलो व्यक्ति हो यो घेरा तोडने ।

अर्को कुरा, विषयगत या क्षेत्रगतरुपमा कर्मचारीहरुको प्रतिवेदन, राय या रिपोर्टिङ त्यही हुन्छ जुन राजाको पालामा या अरु मन्त्रीको पालामा भएको थियो । मेरो मतमा त त्यो टिप्पणी फाइल ज्यानमारा फाइल हो । यो प्रक्रिया परिवर्तन गरिदिनुस् । कर्मचारीले विचार दिने होइन । उसले त प्रक्रियाको व्याख्या मात्रै गर्ने हो । कर्मचारी राय दिनका लागि होइन । राय त राजनीतिक विचारले निर्धारण गर्ने हो । सचिवसम्म आउँदा तपाईलाई नै यसरी कन्भिन्स गर्छन कि ये हो है, त्यसो भए त््… तपाईलाई यस्तै सोच्ने बनाउँछन् ।

अनि नेपाल बायुसेवा निगम र नागरिक उड्डयनको । सक्नुहुन्छ भने पूर्णरुपमा संयन्त्र नै उल्ट्याउनुस् । नीजि कम्पनीबाट कमिशन लिएर सरकारी विमान नउडाउने प्रवृत्ति नौलो होइन । गम्भीर छलफल गरौं बरु, तर कसरी नेपाल एयरलाइन्सलाई संसारमा थाई या कतार जस्तै चिनिने एयरलाइन्स बनाउने मन्थन गरौं । यसका लागि संरचना परिवर्तन पहिलो शर्त हो ।

तपाई निकै उर्जावान मन्त्री, वैचारिकरुपमा प्रष्ट मन्त्री । तपाई फस्नु भयो, तपाईलाई विवादमा ल्याए या तपाईले यी बुर्जुवा संसदीय मान्यता चिर्न सक्नु भएन भने तपाईलाई मन्त्री बनाउनेहरुले खोजेको यही नै हो । यसमा विशेष ख्याल गर्नुहोला ।

मुख्य कुरा, यो संसदीय व्यवस्था हो । यसले एउटा वर्गको हित गर्छ । तपाईसँग अपेक्षा अर्को वर्गको हितको हो । जुन यही व्यवस्थामा रहेर कत्तिको सम्भव हुन्छ । यो सैद्धान्तिक जटिलता व्यवहारिकरुपमा हल गर्न सक्नुभयो भने तपाई सफल हुनुहुन्छ । अन्यथा व्यवस्थाको चरित्रले तपाईले स्वामित्व हुने ठेकेदार, व्यापारी, पूँजिपतिको पक्षमा निर्णय गर्नैपर्ने बाध्यतामा तपाईको हिजोको जनताको छवि कायम रहने अवस्था रहन्न । त्यसैले कार्लमाक्र्सको वर्ग संघर्ष र लेनिनको राज्य र क्रान्तिको मूल मर्मलाई कहिल्यै नबिर्सिनु होला ।

तपाईको उज्ज्वल कार्यकालको शुभकामना

कमेन्ट गर्नुहोस्