Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्तनपानले कसरी गर्छ शिशुको स्वास्थ्य रक्षा ?

काठमाडौं, साउन १७ । प्रत्येक वर्ष १ देखि ७ अगस्टसम्म संसारभर स्तनपान सप्ताह मनाइन्छ। नेपालमा पनि स्तनपान सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। विश्व स्तनपान दिवसको यस वर्षको नारा ‘अभिभावकको सबलीकरण स्तनपानको सशक्तीकरण’ रहेको छ।

आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो। गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ। पहिलो बिगौती दूध बच्चाको लागि अमृत समान हुन्छ, जसले बच्चामा धेरै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ।

स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ। आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउँछिन्, त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ।

सबै स्तनधारी प्राणीहरूमा स्तनपान साधारण क्रिया हो। स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ। नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन, उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्छन्।

आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुन्छन्। आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ। आमाको दूधबाट आएका साधारण जिवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्छन्।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जिवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन्, शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँछ। यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्छ। यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन्।

बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान नपाएका शिशुमा बाल्यकालमा सुरू हुने प्रकृतिको मधुमेह लाग्ने सम्भावना अधिक रहन्छ। उनीहरुमा अपेक्षाकृत बुद्धि विकास समेत नहुने हुन्छ।

यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग समेत हुनसक्छ। त्यसैले ६ देखि ८ महिनासम्मका शिशुका लागि आमाको दूध जीवनरक्षक आहार हो।

स्तनपान सम्बन्धी गलत धारणा
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणा रहेको पाइए पनि यो सत्य होइन। आधुनिक विज्ञानले यी धारणालाई गलत पुष्टि गरिसकेको छ।

नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनले देखाएक छन्। शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ।

त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ।

स्तनपानका फाइदा
आमाको दूधले पोषणका लागि मात्र नभएर आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। शिशुलाई जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनुपर्छ।

आमाको दूध सुपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन। आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी तह बनेर बस्छ। त्यसले रोग प्रतिरोधक क्षमता बढाउन पनि सहायता गर्छ।

स्तनपानले दम र कानको रोग लाग्नबाट जोगाउँछ। केही शिशुलाई गाईको दूधले एलर्जी हुनसक्ने सम्भावना रहन्छ तर आमाको दूध खानु शतप्रतिशत सुरक्षित छ।

नियमित र निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुलाई पछि अन्न खुवाउँदा पनि असुहाउँदो र अस्वाभाविक रुपमा मोटो हुँदैनन्। स्तनपान गर्ने शिशुहरुमा सुरूदेखि नै आवश्यकताभन्दा अधिक खाने बानी नपर्ने हुँदा उनीहरुमा अस्वाभाविक रुपमा मोटोपना नदेखिने विभिन्न अध्ययनहरुले देखाएका छन्।

निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई जीवनका पछिल्ला चरणमा पनि रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको खतरा तुलनात्मक रुपमा निकै कम हुन्छ। स्तनपानले शिशुको बौद्धिक क्षमता समेत बृद्धि हुन्छ।

स्तनपान गराउने आमा र शिशुको बीच भावनात्मक सम्बन्ध धेरै बलियो हुन्छ। यसका अलावा आमाको दूधमा धेरै प्रकारका प्राकृतिक रसायनहरु पनि रहेका हुन्छन्, जसले शिशुको शारीरिक तथा मानसिक विकासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ।

स्तनपानलाई प्रोत्साहन
विश्वका विभिन्न देशले स्तनपानका लागि प्रोत्साहन गरेका हुन्छन्। विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान सप्ताहको रूपमा घोषणा गरेको हो।
चीनले भने स्तनपानलाई शिशुको महत्वपूर्ण अधिकारका रुपमा सुरक्षित गरेको छ र बट्टाको दूध शिशुलाई खुवाउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ, जुन आफैंमा प्रशंसनीय र अनुकणीय कदम हो।

स्तनपानका लागि सही स्थिति
स्तनपान बच्चाको लागि अनिवार्य आवश्यकता हो। तर स्तनपान गराउँदा बच्चालाई कसरी राख्ने भन्नेमा विशेष ख्याल राख्नुपर्छ। अन्यथा बच्चालाई आमाको दूध अमृत समान हुँदाहुँदै पनि नकारात्मक असर पर्छ।

जब स्तनपानका लागि सही स्थितिको प्रश्न उठ्छ यसमा दुई वटा कुरा अत्यन्त महत्वपूर्ण हुन्छ। पहिलो, बसाइ आफूलाई शारीरिक रुपमा आरामदायी र सहज हुनुपर्छ। दोश्रो, कुरा बसाइको स्थिति सहज बनाउनुसँगै शिशुलाई आफ्नो स्तनसम्म सहज रुपमा पुर्याजउन सक्नेगरी बस्नुपर्छ।

तपाईंका लागि कुन चाहीँ स्थिति उपयुक्त छ भन्ने कुरा शिशुलाई दूध चुसाउन कुन किसिमको बसाइ सहज हुन्छ भन्ने कुरामा निर्भर हुन्छ।

तपाईंले जुनसुकै स्थिति रोजे पनि दूध चुस्ने बेलामा शिशुले आफ्नो टाउको थोरै पछाडितिर तान्न सक्ने सुनिश्चित गर्नुपर्ने हुन्छ।

तरिका
आफ्नो र शिशुको शरीरलाई समानान्तर राखेर, सुतेर र पल्टिएर बस्ने।

तपाईंको शिशुले जुन स्तनबाट दूध चुसिरहेको छ, त्यसको अर्को तर्फको हातले शिशुलाई काखमा लिएर समातेर राख्ने र सहज हुनेगरी बस्ने।

शिशुले दूध पिइरहेको स्तनपट्टिकै हातले समातेर अर्को हातले टाउको अड्याएर छड्के पारेर बोकेर सजिलोसँग बस्ने।

पलेटी कसेर बसेर शिशुलाई दूध चुसिरहेको स्तनतिरको हातले अड्याएर उसको गोडा तल तिर पर्नेगरी सुताउने।

यदि जुम्ल्याहा बच्चाहरु छन् र एकसाथ दूध चुसाउनु छ भने पलेटी कसेर बसी एउटा नरम तकियाको सहायतामा दुवै स्तनमा एक(एक वटा शिशुलाई एकसाथ स्तनपान गराउन सकिन्छ। स्वास्थ्य खबर पत्रिकाबाट साभार

– (सञ्चार तथा जनसम्पर्क विज्ञ अधिकारी हेल्थ कम्युनिकेसन रिसर्च तथा अस्पताल व्यवस्थापनमा लामो समयदेखि सक्रिय छन्।)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: