ट्रम्पको नयाँ बयानले झस्कियो भारत, भने– म तयार छु, बल मोदीको कोर्टमा

वाशिङ्गटन । पाकिस्तानका प्रधानमन्त्री इमरानको हालै भएको अमेरिकी भ्रमणले छटपटिएको भारतीय सरकारलाई अर्को झडका लागेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री खानले पत्रकार सम्मेलनमार्फत कश्मीर समस्यामा बाह्य मध्यस्थतकर्ताको प्रसंग निकालेका थिए । राष्ट्रपति ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई मध्यस्थता गर्न भनेको बताएपछि भारतीय विदेश मन्त्रालयले लगत्तै त्यसको खण्ढडन गरेको थियो । यही विषयलाई लिएर भारतका दुबै सदनमा समेत हंगामा भएको थियो ।

प्रधानमन्त्री मोदीले आफूले मध्यस्थताको कुरा ट्रम्पसँग नगरेको बताएपनि राष्ट्रपति ट्रम्पले भने फेरी आफ्नो भनाई दोहोर्याएका छन् ।

नयाँ बयानमा ट्रम्पले मध्यस्थता गर्ने नगर्ने फैसला भारतीय प्रधानमन्त्री मोदीको हातमा रहेको बताउँदै भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा अप्ठ्यारोमा पारेका हुन । “यदि भारतले चाहन्छ भने म अवश्य पनि हस्तक्षेप गर्नेछु । मलाई लाग्छ, मोदी र इमरान खानले यो विषयमा राम्रोसँग काम गर्न सक्छन् । मोदीले चाहे मध्यस्थता गर्न म तयार छु ।”

भारतले भने कश्मिरमा तेश्रो पक्षको मध्यस्थता अस्वीकार गर्दै आएको छ । पाकिस्तानले चाहिँ भारतले कश्मिरमा स्थायी शान्ति नचाहेको आरोप लगाउँदै आएको छ । बिहिबार एउटा कार्यक्रममा भारतले मध्यस्थताको कुरा अस्वीकार गरेको विषयमा ट्रम्पलाई प्रश्न सोधिएको थियो ।

अमेरिकाले मनोवैज्ञानिक दबाब सिर्जना गरेपछि भारतीय पक्षको नयाँ प्रतिक्रिया भने सार्वजनिक भएको छैन । तर यो विषयले अमेरिका र भारतबीच सम्बन्धमा भने असर परेको छ ।

कमेन्ट गर्नुहोस्