पूर्वराजाले दरबारमा राखेका आखेटोपहार लथालिंग

काठमाडौं, साउन १७ । नारायणहिटी दरबार संग्रहालयमा लथालिंग अवस्थामा रहेका वन्यजन्तुका हाडखोर, छाला, दाह्रालगायत आखेटोपहारको व्यवस्थापन गर्न थालिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिको निर्देशनअनुसार समिति बनाएर व्यवस्थापनगर्न थालिएको हो ।

११ मन्त्रालय तथा निकाय सम्मिलित समितिले वन्यजन्तुका हरेक सद्दे आखेटोपहारको नाप, तौल, बारकोडसहित चिप्स राखेर व्यवस्थापन गरेको छ । माइक्रोचिप्सलाई नदेखिने गरी आखेटोपहारमा राखिएको छ । नारायणहिटीको फरासखाना (भोजका लागि प्रयोग हुने सामान राख्ने ठाउँ) मा रहेका आखेटोपहारको व्यवस्थापन आइतबारदेखि सुरु गरिएको समितिले जनाएको छ ।

‘संग्रहका लागि राख्न मिल्ने र नमिल्ने आखेटोपहार छुट्याउन खटिएका छौं,’ समिति संयोजक तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले भने, ‘हामीले छुट्याएपछि प्रतिवेदन बनाएर समिति (प्रत्यायोजित व्यवस्थापन) लाई दिन्छौं र समितिले जे निर्देशन दिन्छ,त्यहीअनुसार काम गर्ने छौं ।’

समितिले हाल बाघ, हात्ती, गैंडालगायत वन्यजन्तुका हड्डीजन्य पदार्थ छुट्याउने काम गरेको छ । वन्यजन्तुका छाला भने कतिपय कुहिएका, ढुसी लागेका र पानीले भिजेका छन् । हाल तिनलाई घाममा सुकाएर राखिएको छ ।

कमेन्ट गर्नुहोस्