सुन्धाराबाट डिल्लीबजार सर्दै गोश्वारा हुलाक

काठमाडौँ, साउन १७ । कुनै समय सुन्धाराको पहिचानको रूपमा रहेको गोश्वारा हुलाक अब त्यहाँ नरहने भएको छ । धरहरा क्षेत्र विकास एवं विस्तारका क्रममा उक्त कार्यालयलाई डिल्लीबजार लगिने भएको हो ।
डिल्लीबजारस्थित चारखाल अड्डा छेवैमा रहेको हुलाक सेवा विभागको भवनमा गोश्वारा हुलाकका प्रायः सबैजसो कागजात तथा कार्यालयका सामग्री सारिसकिएको छ ।
गोश्वाराबाट प्रदान हुँदै आएको पोस्टबक्स सेवा, पार्सल, द्रुतडाँक र रजिस्ट्री सेवा अब डिल्लीबजारस्थित विभागको आफ्नै भवनबाट सञ्चालन हुने गोश्वारा हुलाककी सूचना अधिकारी निर्मला थापाले जानकारी दिए । थापाका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले सुन्धारास्थित गोश्वारा हुलाक कार्यालयलाई यहाँ स्थानान्तरण गरिएको हो ।
डिल्लीबजारमा गोश्वाराबाट प्रदान हुँदै आएको हुलाकका सबै सेवा सारिएपछि सुन्धाराको गोश्वारा हुलाक भवनमा हुलाकको नामनिसानै नरहने भएको छ ।
एक समय अहिलेको जस्तो विद्युतीय सूचना तथा सञ्चार प्रणाली विकसित नहुँदा यो गोश्वारा भवन आफन्त तथा शुभचिन्तकबीच सम्पर्क सेतुको रूपमा रहेको थियो । नेपाल फिलाटेलिक सोसाइटीका सदस्य रामेश्वरमान कर्माचार्य भन्छन्, ‘‘सुन्धाराको नामसँगै हुलाक पनि जोडिँदै आएको थियो । हुलाकका सबै सेवा सारिएपछि सुन्धाराको साख नै हराएको जस्तो भयो । ’’
उपत्यकाको जुनसुकै ठाउँबाट पनि सहजै पुग्न सकिने सुन्धारास्थित गोश्वारा हुलाकका सेवा डिल्लीबजारमा सारिएपछि अब सर्वसाधारणलाई हुलाकका सेवा अपायक स्थानमा स्थानान्तरण भएको अनुभूति कतिपयको छ । ‘‘हुलाकका केही सेवा सुन्धारा क्षेत्रमै होस् भन्ने सोसाइटी चाहन्छ,’’ कर्मचार्यको भनाइ छ ।
नेपालमा हुलाक टिकटको प्रचलन वि.सं १९३८ देखि सुरु भएको हो । हुलाक सेवा भने त्यसअघि नै वि.सं १९३५ देखि सुरु भयो । ठमेलमा रहेको हुलाक घरबाट सेवा सुरु हुँदै पछि भारत सरकारको सहयोगमा सुन्धारामा गोश्वारा हुलाक कार्यालयको भवन निर्माण भयो । पाँच दशकअघिदेखि हुलाकका सबै सेवा यहीँबाट सञ्चालनमा आएको थियो ।
हुलाक यहाँ सरेपछि डिल्लीबजारमा चहलपहल बढेको छ । चारखाल अड्डाबाट जिल्लाका सबै कार्यालय अन्यत्र गएपछि डिल्लीबजारमा चहलपहल घटेको थियो । तत्कालीन श्री ३ जङ्गबहादुरको शासन ताका कर्णेल डिल्लीसिंह बस्नेतले यो बजार उनको नाममा स्थापना गरेको इतिहास छ । यहीँ नै श्री ३ रणोद्वीपसिंहका हजुरिया कर्णेलले तीन पीपल रोपेर तीनै चौतारा बनाएपछि यो क्षेत्र डिल्लीबजार पीपलबोट नामले कहलिन पुगेको थियो । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्