आर्टिकल 15: मानव संवेदनालाई भित्रैदेखि हल्लाइदिने चलचित्र

गत महिना रिलिज भएका बलिउड चलचित्रहरूमध्ये ‘कबिर सिंह’ निकै चर्चित रह्यो । दक्षिण भारतीय सिनेमाको रिमेक यस चलचित्रको फरक विषयवस्तु र शाहिद कपुरको अभिनयका कारण अपेक्षा गरेभन्दा निकै राम्रो व्यापार गर्यो ।

तर निकै ठुलो कमाइ गरेको कबिर सिंहको होहल्लामाझ एउटा अर्को चलचित्र पनि रिलिज भयो जसले ठीकठाक व्यापार मात्र गरेन यसले भारतीय समाजको गम्भीर समस्यालाई सम्बोधन गरेको छ । ‘आर्टिकल फिफ्टीन’ नामको उक्त सिनेमाबारे छोटो चर्चा यहाँ प्रस्तुत गरिएको छ ।

गम्भीर मुद्दामा ‘मुल्क’ जस्तो अतिसंवेदनशील चलचित्र बनाउने निर्देशक अनुभव सिन्हाले निर्देशन गरेको यस चलचित्रको शीर्षक ‘आर्टिकल फिफ्टीन’ भारतीय संविधानको धारा पन्ध्रसँग सम्बन्धित छ । यस धाराले सबैलाई समान अधिकार र व्यवहारको कुरा गरेको छ । चलचित्रमा भारतीय संविधान लागू भएको यति धेरै वर्षपछि पनि उक्त धाराको प्रावधान लागू हुन नसकेकोमा चासो व्यक्त गरिएको छ ।

यस चलचित्रको कथा भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशको लालगाउँ भन्ने ठाउँको हो । यहाँ प्रहरी अधिकृत अयान रंजन (अयुष्मान खुराना) सरुवा भएर आउँछन् । र, सुरु हुन्छ कथा ।

प्रहरी चौकीमा दरबन्दी भएका सिपाहीहरूमध्ये कोही बाहुन छन्, कोही दलित र कोही आरक्षित समूहका । यसो भए त्यहाँ जातीय विभेद पनि छ तर यो विभेद फरक जातिहरूमा मात्र होइन ब्राह्मण समुदायभित्र पनि छ र त्यहाँ तैनाथ प्रहरी कर्मचारीहरूले यस्तै जातीय पूर्वाग्रहमा टेकेर सेवा प्रदान गरिरहेका छन् ।

गाउँबाट तीन दलित केटीहरू हराउँछन् र तीमध्ये दुईको शव अर्को दिन रुखमा झुण्ड्याइएको अवस्थामा भेटिन्छन् । तर एक केटीको बारेमा भने केही थाहा हुन सकेको छैन । अयानले यस मामिलाको अनुसन्धान गर्न थाल्छ र उसले यसै क्रममा गाउँमा दलितहरूमाथि कुन स्तरको भेदभाव छ भन्ने कुरा पत्ता लगाउँछ । मजदुरी गरेर गुजारा गर्ने ती केटीहरूले आफ्नो पारिश्रमिक तीन रुपैंया बढाउन माग गरेकोमा उनीहरूलाई सामुहिक बलात्कार गरेर मारिएको तथ्य अयानले फेला पार्दछ
चलचित्रको कथानकमा राजनीति र प्रहरीबीच स्वार्थको सम्बन्धलाई समेत कुशलतापूर्वक देखाइएको छ । यस भेदभाव र दमनको आगोमा न्यानो खोज्ने राजनैतिक दलहरू पनि चलचित्रको कथानकमा छन् । तीमध्ये केहीको अभिष्ट यो भेदभाव कायम रहोस र यसैको असन्तुष्टिलाई भजाएर राजनैतिक लाभ लिन पाइयोस भन्ने योजनामा छन् भने केहीले दलित ब्राह्मण एकताको नारा लगाएर बसेका छन् । दलित नेताहरूमाथि समेत चलचित्रमा व्यङ्ग गरिएको छ चलचित्रको एउटा संवाद छ, “यी दलित सत्ता पाउनासाथ मूर्ति बनाउन थाल्छन् र विपक्षमा पुग्दा फेरि दलित बन्छन् ।” यो उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावातीमाथिको व्यंग हो । दलित समुदायबाट आएकी उनले आफ्नो कार्यकालमा आफ्ना र आफ्ना राजनैतिक गुरुका मूर्ति बनाएर चर्चामा आएकी थिइन् । चलचित्रले दलितहरूभित्र हुर्किराखेको असन्तोषलाई भने परूक्ष रूपमा दबाउन खोजेको भान हुन्छ किनभने यसमा दलितहरूलाई हिंसाको बाटो रोजे आफ्नै घाटा हुने उपदेश समेत दिन खोजिएको छ ।

चलचित्रको कथा हराइरहेकी केटीको खोजीमा निस्किएको अयानलाई पछ्याउँदै गरेको अयानसँगै अगाडि बढ्छ । र जति जति कथानक अगाडि बढ्छ उतिउति जातिवादको कुरूप अनुहार उदाङ्ग हुँदै आउँछ । चलचित्रका कतिपय दृश्य आङ सिरिङ्ग पार्ने खालका छन् । एउटा दृश्यमा एउटा सफाई कर्मचारी ढल सफा गर्न फोहर च्याम्बरमा आफैं डुबुल्की लगाउँछ तर त्यस्तो काम गर्ने मानिसलाई सम्मान त टाढा उसका लागि आवश्यक सुरक्षा उपकरण समेत त्यहाँ उपलब्ध छैनन् ।

अयानले आफ्ना साथीहरूसँग गरेको वार्तालापको दृश्य पनि हेर्न लायक छ । घटनाको तथ्यहरू प्रष्ट हुन नसक्दा यसबारे छानबिन गर्न एक जना सिबिआइ अधिकारी आउँछ र अयानसँग सोधपुछ गर्छ । चलचित्रको यो भाग हेर्न लायक बनेको छ ।

निर्देशक अनुभव सिन्हाको लेख्न र निर्देशन निकै उम्दा स्तरको रहेको छ । चलचित्रको छायांकनस्थलको चयनले पनि चलचित्रको कथा यथाढ़ नजिक भएको भान हुन्छ । साथै निर्देशकले अयानको चरित्रलाई आम चलचित्रमा जस्तो ‘नायक’को पुत नदिएर एउटा सामान्य मानिस जस्तै बनेका छन् । चलचित्रमा एउटा घतलाग्दो संवाद पनि छ, “हामी सधैँ हिरोको बाटो हेरेर किन बस्छौं ?” यस्तै एउटा अर्को संवाद पनि अर्थपूर्ण छ, “यदि सबै समान भए भने राजा कसले बन्ने ?” र यसको उत्तर पनि निकै अर्थपूर्ण छ, “राजाको आवश्यकता नै किन?”

यति हुँदाहुँदै पनि चलचित्रमा केही कमीहरू रहेका छन् । चलचित्र कहीं कहीं निकै सुस्त लाग्छ । कतिपी अनावश्यक दृश्यहरू पनि चलचित्रमा राखिएका छन् । ती दृश्य नभएको भए पनि चलचित्रमा खासै समस्या पर्ने थिएन ।तर चलचित्रले उठान गरेको शक्तिशाली मुद्दाका कारण यस्ता झिनामसिना कमीहरू दबेर गएका छन् । पात्रहरूबीचको तनावलाई निर्देशकले कुशलतापूर्वक पर्दामा उतारेका छन् ।

अयुष्मान खुराना यस चलचित्रमा बधाई हो या अन्धाधुन जस्ता चरित्रबाट बाहिर निस्किएर संयमित तरिकाले आफ्नो भूमिकामा जमेका छन् । निर्देशकले सबै कलाकारहरूलाई भूमिका अनुरुप उजागर हुने अवसर दिएका छन् । मनोज पाह्वा र कुमुद मिश्रा जस्ता कलाकारहरूको अभिनय पनि प्रसंशायोग्य छ ।
निस्सन्देह यस २ घण्टा १० मिनेट ३७ सेकेण्ड लामो यस चलचित्रले कतिपयलाई मनोरंजन नगर्ला तर संवेदनालाई भित्रैदेखि हल्लाउन भने यो चलचित्र निश्चय पनि सफल हुनेछ ।

निर्माता : अनुभव सिन्हा, ज़ी स्टूडियो
निर्देशक : अनुभव सिन्हा
संगीत : पियूष शंकर, अनुराग साकिया

कलाकार : आयुष्मान खुराना, सयानी गुप्ता, मनोज पाहवा, कुमुद मिश्रा, नासेर, मोहम्मद ज़ीशान अय्यूब

कमेन्ट गर्नुहोस्