नेपाली गजलका प्रवृत्तिबारे के भन्छन् गजलका ‘काका’?

नेपालमा गजलको बारेमा जति बहस भएको छ त्यो सबैको दस्तावेज तयार पार्ने हो भने ठुलो ग्रन्थ नै तयार हुनसक्छ । मोतीराम भट्टले नेपाल भित्र्याएको भनिएको गजलले हालको अवस्थासम्म आइपुग्दासम्म थुप्रै आरोह र अवरोहहरू पार गरिसकेको छ ।

यतिमात्र होइन यसको स्वरूप, कथ्य, सिद्धान्त आदिमा समेत घनीभूत बहस भएका छन् । झन् सामाजिक संजालको लोकप्रियता आएदेखि गजलसम्बन्धी बहसको प्रमुख केन्द्र नै फेसबुक बनेको छ । फेसबुकका विभिन्न ग्रुपहरूमा चलेका बहसहरूमा विभिन्न गुट तथा खेमामा विभक्त गजलकारहरूले विभिन्न तर्क अघि सारेर एकअर्कालाई खुइल्याउने समेत गरेको पाइन्छ ।

तर जेजसो होस् देशभरी गजको माहौल छ र देशभरिका युवामा गजलमोह छ । थुप्रै गजलकारहरूका गजल संग्रहहरूका थुप्रै संस्करण निस्किन थालेका छन् र कुनै समय रचनाकारले सित्तै बाँडीहिंड्ने गरेका गजलसंग्रहहरू पसलमा बिक्न थालेका छन् ।

यस्तै पहिलो संग्रहमा नै लोकप्रियता कमाएर दोस्रो संस्करणमा जान सफल गजलकार ‘गगन चुम्बन’ देशको सुदुरपश्चिम प्रदेशमा मात्र होइन नेपालमा नै चिनिएका स्रस्टा हुन् । साथीभाइमाझ ‘काका’ भनेर चिनिने सिद्धनारायण आचार्य उर्फ ‘गगन चुम्बन’को ‘काका’ गजल संग्रह दुई संस्करणमा गरेर २५ सयप्रति बजारमा पुगिसकेको छ र देशको पश्चिमी सीमाको सहर महेन्द्रनगरबाट प्रकाशित उक्त पुस्तक सम्भवतः प्रदेशभित्रबाट प्रकाशित भएर सर्वाधिक बिक्री हुने पुस्तक पनि पर्न सक्ने बताइन्छ ।

गगन चुम्बन विभिन्न माध्यममा चलिराखेका गजलसम्बन्धि बहसहरूमा सक्रिय रूपमा भाग लिइराख्ने गरेका छन् । गजलको संरचनागत पक्षमा मात्र होइन त्यसको सिद्धान्त पक्षमा समेत बहस गर्न सिपालु रहेका उनी नेपालमा गजलको विकासबारे अझै सन्तुष्ट भइहाल्ने अवस्था नरहेको बताउँछन् ।

उनी भन्छन्,मात्रात्मक रूपमा गजल धेरै लेखिइसकेको भएपनि यसले गुणात्मक उचाईमा पुग्न अझै बाँकी छ ।” आचार्य थप्छन्, “गजललाई विगतमा जेजसरी बुझ्ने गरियो त्यो बुझाइ नै अहिले आएर गजलको गुणात्मक विकासमा सबैभन्दा ठुलो तगारो भनेर उभिएको छ ।”

गजलको सैद्धान्तिकी पक्षमा दक्खल राख्न नेपाली गजल अभ्यासको आयाम बाहिर जानु आवश्यक रहेको आचार्यको तर्क छ । उनी भन्छन्, “नेपाली आधुनिक कविताको विश्लेषणका लागि पाश्चात्य सैद्धान्तिक आलोकमा भर पर्ने गरिन्छ किनभने यसको जरोकिलो केही हदसम्म पश्चिमा साहित्यसँग जोडिएको छ । अब गजललाई त्यही आँखाले हेरेर त भएन नि । गजलको उत्पत्तिदेखि विकासको आफ्नै परम्परा र इतिहास छ । यसको विश्लेषण पनि तत्सम्बन्धी कुराहरूसँग जोडेर गर्नु पर्ने हुन्छ ।”

गजलको बहस पनि जुँगाको लडाईं जस्तो हुन थालेकोमा भने उनी चिन्तित देखिन्छन् । “बहसमा भाग सबै लिन्छन् तर टुङ्गोमा पुग्न कोही चाहन्नन् ।” उनी भन्छन्, “टुङ्गोमा पुग्न त लचकता अपनाउनु पर्यो नि ! ‘मेरो गोरूको बाह्रै टक्का’ भन्ने प्रवृत्तिले त बहस बहसका लागि मात्र हुन जान्छ ।”

आधुनिक कविता र गजलबीचको भिन्नताबारे पनि उनको स्पष्ट धारणा छ । उनी सबै गजलजस्ता लाग्ने रचना गजल नहुन सक्छन् भन्ने मान्यता राख्छन् । उनको तर्क छ, “जस्तो कि गजलको नभइ नहुने एउटा अंग ‘काफिया’ हो । यसलाई नेपालीमा तुकान्त या अन्त्यानुप्रासको रूपमा बुझ्ने गरिएको भएपनि गजलको सैद्धन्तिकीले भने त्यसलाई नमान्ने उनको भनाइ छ ।

उनी भन्छन्, “सबै काफियालाई अनुप्रास त मान्न सकिएला तर सबै अनुप्रास भने काफिया हुन सक्दैनन् । काफिया बन्न न्युनतम एकाइ भनेको ‘हर्फे रवि’ हो । एउटै ‘हर्फे रवि’ भएका शब्द मात्र काफिया बन्न सक्छन् । त्यसो नभएको खण्डमा गजलका शेरहरूमा ‘इता’ भन्ने दोष देखिन जान्छ ।

आचार्य अझै प्रष्ट पार्दै भन्छन्, “त्याग, पाठ, गुलाफ जस्ता शब्द अनुप्रास त हुन् तर यी कुनै गजलका काफिया भन्न सक्दैनन् । किन भने यिनीहरूमा ध्वनिसाम्य छैन ।” उनी थप्छन् “यदि “त्याग’लाई काफिया लिने हो भने त्यससँग ‘भाग’, ‘साग’, ‘खाग’, ‘माग’ जस्ता ध्वनिसाम्य भएका शब्दहरू मात्रै काफिया बनेर आउन सक्छन् ।” काफिया गजलको मुटु भएकाले काफिया स्वस्थ भए मात्रै गजल स्वस्थ हुने उनको तर्क रहेको छ ।

गजलको लयपक्षसँग गाँसिएको बहसबारे आचार्यको तर्क छ, “गजलमा बहर हुनु सुनमा सुगन्ध जस्तै हो ।” बहरलाई पिंगलको छन्दसँग नै तुलना गर्नु पनि युक्तिसंगत नहुने तर्क गर्दै उनी भन्छन्, “हेर्दा उस्तै लागे पनि पिंगल छन्दहरू बहर जति लचिला छैनन् ।” उनी थप्छन्, छन्दमा भाषाको लेख्य रुप प्रधान हुन्छ भने बहरमा कथ्य रूप ।”

उनी उदाहरण दिँदै भन्छन्, “छन्दमा ‘घर’ भन्दा ‘घ- र” अर्थात ‘दुई लघु’ लिइन्छ भने बहरमा यसको उच्चारण ‘घर्’ हुने भएकाले यसलाई एउटा ‘गुरु’ लिइने गरिन्छ ।”

बहर र गैर बहरमा लेखिने गरेका गजलबीचको विवादबारे उनी आफू तटस्थ रहने तर्क राख्छन् । तर पनि उनको स्पष्टोक्ति छ, “गजल जहाँबाट नेपाल भित्रिएको हो त्यहाँ गैर बहरका गजललाई गजलकै श्रेणीबाट खारेज मानिने भएकाले योप्रति सजग हुनु आवश्यक छ तर नेपालमा फरक धारमा समेत थुप्रै गजल लेखिएकाले त्यसको समेत मानमर्दन हुने काम गर्न हुन्न ।” उनी भन्छन्, “यसमा नै हो बहस निष्कर्षमा पुग्नु पर्ने !”

तर पनि बहर गजलको वस्त्र जस्तै भएकाले गजल जस्तो सुन्दर रचनालाई नांगै राख्ने या कपडा लगाएर त्यो विवेक स्वयम् रचनाकारको हुने उनको तर्क छ ।

उनको पहिलो गजल संग्रह ‘काका’ पनि गैर बहरमा लेखिएको गजल संग्रह हो । के त्यही भएर उनी यस बहसमा तटस्थ बस्न खोजेका हुन् भन्ने जिज्ञासामा उनी भन्छन्, त्यसो होइन, मैले पनि ‘काका’मा संग्रहित गजलहरू रचना गर्दा थुप्रै कुरा नबुझेरै लेखें । अहिले बुझ्दै जाँदा कुरो केही फरक रहेछ भन्ने बोध भयो र मैले बहरमै लेख्न थाले । मैले भन्न खोजेको के हो भने म यसै विषयलाई लिएर कसैलाई खुइल्याइहाल्नु पर्छ भन्ने पक्षमा छैन ।”

कमेन्ट गर्नुहोस्