कस्तो अचम्म: सातवर्षीय बालकको मुखभित्रबाट झिकिए ५२६ दाँत !

काठमाडौँ, साउन १७ । मानिसको मुखभित्र सामान्यतया ३२ दाँत हुने गर्दछन् । त्यसमा पनि बच्चाहरूमा त दाँतहरूको सङ्ख्या कम हुने गर्दछ तर भारतको तमिलनाडु राज्यमा भने एउटा बच्चाको मुखभित्र साढे पाँच सय जति दाँत फेला परेका छन् ।

भारतको तमिलनाडु राज्यको राजधानी चेन्नईको एउटा अस्पतालले एउटा सात वर्षीय बालकको मुखभित्रबाट शल्यक्रिया गरेर पाँच सय २६ दाँत निकालेको बताएको छ ।

‘कम्पाउण्ड कम्पोजिट ओन्डोन्टोमी’ नामक समस्याले ग्रसित उक्त बालकको तल्लो बंगाराको दाहिनेतिरबाट शल्यक्रिया गरेर ४ सेन्टिमिटर लामोरा ३ सेमी चौडा ट्युमर झिकिएको र उक्त ट्युमरभित्र पाँच सय २६ दाँत रहेको रहस्य खुल्न आएको शल्यक्रियामा संलग्न चिकित्सक प्राध्यापक डा सेंथिलनाथनले बताए ।

कहिलेकाँही दाँत दुःख्ने समस्या रहेका ती बालकलाई चेन्नईस्थित सविता डेन्टल कलेजमा उपचारार्थ लगिंदा उक्त समस्या रहेको खुल्न आएको थियो । शल्य चिकित्साद्वारा झिकिएका दाँतहरूको आकार ०.१ मिलिमिटरदेखि ३ मिलिमिटरसम्म रहेको बताइएको छ ।

सेंथिलनाथनले भारतीय संचार माध्यमहरूलाई दिएको जानकारी अनुसार उक्त शल्यक्रिया निकै जटिल भएको र बंगाराबाट सबै दाँत झिक्न लगभग पाँच घण्टाको समय लागेको थियो । उनले यो आफैंमा यस्तो प्रकृतिको संसारकै दुर्लभ घटना भएको बताएका छन् ।

ती बालकलाई उपचारपछि घर पठाइसकिएको छ र हाल उनको मुखभित्र २१ दाँत रहेका छन् ।

कमेन्ट गर्नुहोस्