ग्लोबल टि–२० लिगः सन्दीपआवद्ध टोरोन्टोले पायो २२३ रनको लक्ष्य

काठमाडौं, साउन १८ । क्यानडामा जारी ग्लोबल टि–२० मा ब्रम्पटन उल्भ्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेशनललाई २२३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको उल्भ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनायो ।

उसका लागि ग्रेगी मुन्सीले ६६, कोलिन मुनरोले २८, नितिश कुमारले २६, लिन्डल सिमोन्सले १९, अब्रास खानले १५ र बाबर हायातले नट आउट ४६ रन बनाए ।

बलिङमा सन्दीपले ४ ओभरमा ४४ रन दिएर १ विकेट लिए । यस्तै कप्तान युवराज सिंह, मोइसेस हेनरिक्विस, जेम्री गोर्दानले एक-एक विकेट लिए ।

टोरोन्ट र ब्रम्पटनबीचको खेल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ । अघिल्लो ३ खेल गुमाएका सन्दीप आज भने प्लेइङ ११ मा अटाए ।

सन्दीपआवद्ध टोरान्टोले ३ खेलमा २ मा हार र एक खेलमा जीत हासिल गरेको छ । यता ब्रम्पटनले ३ खेलमा ३ खेलमै जीत निकालेर शीर्ष स्थानमा छ ।

कमेन्ट गर्नुहोस्