कसरी भयो फिनल्यान्डको ‘शिक्षा प्रणाली’ संसारकै उत्कृष्ट? हेर्नुहोस् १० कारण

काठमाडौं । फिनल्यान्डमा निजी विद्यालय छैनन् । निश्चित परीक्षा लिइँदैन । कुनै तनाव छैन । संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको देशमा फिनल्यान्ड निरन्तर रूपमा शीर्ष स्थानमा पर्न सफल छ ।

– फिनल्यान्डका बौद्धिक एवं शैक्षिक सुधारकले त्यहाँको शिक्षा प्रणालीमा पूर्ण रूपमा क्रान्तिकारी परिवर्तन ल्याएका छन् ।

– फिनिसको शिक्षा प्रणालीले घोकन्ते विद्या र निश्चित परीक्षालाई प्रोत्साहन गर्दैन

– फिनल्यान्डको समग्र शिक्षा प्रणालीले उत्कृष्टताभन्दा समानतामा जोड दिन्छ ।

जब औद्योगिक देशका विद्यार्थीको गणित र विज्ञानको क्षमताबारे वर्गीकरण हुन्छ तब अमेरिकी विद्यार्थी पटक–पटक उक्त सूचीको बीचतिर वा पुछारमा पर्ने गर्छन् । ‘द प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ड एसेसमेन्ट (पीआईएसए) ले ‘अर्गनाइजेसन फर इकोनोमिक को–ओपरेसन एन्ड डिभलपमेन्ट (ओईसीडी) सँगको सहकार्यमा नियमित रूपमा डाटा प्रकाशन गर्छ । यो डाटाले विभिन्न शैक्षिक प्रदर्शन मूल्याङ्कनमा अमेरिका पटक–पटक पछि पर्ने गरेको बताउँछ ।

शैक्षिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने आह्वान र अन्तर्राष्ट्रिय स्तरमा निरन्तरको फिक्का प्रदर्शनपश्चात् पनि अमेरिकाले यसको सुधारमा कुनै ठोस कदम उठाएको छैन । पुराना समाजमा जुन तौरतरिका अपनाइएका थिए, त्यसलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै छ । अमेरिकाजस्तो शक्तिशाली र विकसित देशमा त शिक्षा प्रणालीको यस्तो स्थिति छ भने नेपालजस्तो विकासशील देशको स्थिति कस्तो छ, त्यो तपाईं हामीले भोग्दै आएका छौं ।

नेपालमा घोकन्ते विद्यालाई प्रोत्साहन दिइन्छ । जसले पढाएको कुरा फरर भन्न र लेख्न सक्छ, उनीहरू राम्रा विद्यार्थी कहलाइन्छन्, कक्षामा प्रथम पनि उनीहरू नै हुन्छन् । यहाँ निजी विद्यालयको हालिमुहाली छ । सरकारी विद्यालयको स्तर दिनानुदिन घट्दो छ । समग्रमा भन्ने हो भने नेपालको शिक्षा प्रणालीमा अत्यधिक सुधारको खाँचो छ ।

यसका लागि हामीले फिनल्यान्डबाट सिक्न सक्छौं । फिनल्यान्डको शिक्षा प्रणाली संसारकै उत्कृष्ट हो । आखिर किन ? यसबारे जानकारी लिऔं :

कुनै निश्चित मापदण्ड तोकिएका परीक्षा छैनन् :
अहिलेको शिक्षा प्रणालीले ठूलो फड्को मारिसक्यो तर नेपालमा भने पुरानै मोडलले पढाइन्छ । हामीले प्रयोगात्मक शिक्षा अँगाल्न सकेका छैनौं । अझै पनि किताबी ज्ञान र घोकन्ते विद्यालाई नै प्रोत्साहन दिइरहेका छौं । यहाँ विद्यार्थीको क्षमता केमा छ, त्यो हेरिँदैन, डिग्री बढी महत्त्वपूर्ण हुन्छ । विद्यार्थीलाई परीक्षा पास गराउने उद्देश्यले मात्रै पढाइन्छ । विद्यार्थी पनि परीक्षा पास गर्नकै लागि टुप्पी कसेर पढ्छन् । यहाँ परीक्षा निकै महत्त्वपूर्ण छ ।

तर फिनल्यान्डमा भने त्यस्ता कुनै परीक्षा हुँदैनन् । यहाँ एउटै मात्र परीक्षा हुन्छ, जसलाई ‘नेसनल मेट्रिकुलेसन इक्जाम’ भनिन्छ । यो नेपालमा विद्यार्थीले कक्षा १२ पास गरेसरह हो । फिनल्यान्डका सबै विद्यार्थीलाई व्यक्तिगत रूपमा शिक्षकले तोकेअनुसार ग्रेड दिइन्छ । यो सबै प्रक्रिया शिक्षा मन्त्रालयद्वारा निरीक्षण गरिन्छ ।

शिक्षक जवाफदेही हुनुपर्दैनः
विद्यार्थीले राम्रो गर्न नसक्दा धेरैजसो अवस्थामा शिक्षकलाई नै दोष दिइन्छ । तर फिनल्यान्डमा शिक्षकलाई यसो गर्न पाइँदैन । पासी साल्बर्ग, फिनिस शिक्षा मन्त्रालयका निर्देशक एवं ‘फिनिस लेसन्स ह्वाट क्यान द वल्र्ड लर्न फ्रम एजुकेसनल चेन्ज इन फिनल्यान्ड ?’ का लेखक शिक्षकको जवाफदेहिता बारे यसो भन्छन्ः

‘फिनिसका लागि जवाफदेहिता भन्ने शब्द नै छैन । जब उत्तरदायित्व घट्छ तब मात्र जवाफदेहिता भन्ने शब्द बाँकी रहन्छ ।’

शिक्षण पेसामा लाग्नुअघि प्रत्येक शिक्षकले स्नातकोत्तर सिध्याउनुपर्छ । यदि कुनै शिक्षकले राम्रो गरिरहेका छैनन् भने त्यहाँका प्रधानाध्यापकले समस्या समाधान गर्नुपर्छ ।

प्रतिस्पर्धा होइन, सहयोग:
नेपालमा विद्यार्थीलाई परीक्षामा सबैलाई हराउँदै पहिलो नै हुनुपर्छ भन्दै प्रोत्साहन दिइन्छ । यहाँ परीक्षामार्फत विद्यार्थीहरू बीच एक–प्रकारको प्रतिस्पर्धा नै गराइन्छ तर फिनल्यान्डमा त्यस्तो हुँदैन । साल्बर्गले सामुली प्यारोनेनको वाक्य सापटी लिँदै भन्छन् , ‘वास्तविक विजेताले प्रतिस्पर्धा गर्दैनन् ।’

फिनल्यान्डमा उत्कृष्ट क्षमता प्रदर्शन गर्ने विद्यार्थी र शिक्षकको सूची हुँदैन । विद्यालयमा एकअर्कासँग प्रतिस्पर्धा होइन, एकअर्कालाई सहयोग गर्न सिकाइन्छ ।

मूलभूत कुरालाई प्राथमिकता दिने:
थुप्रै विद्यालयले विद्यार्थीलाई हिसाब र विज्ञानमा कसरी बढी अङ्क ल्याउन सकिन्छ भनेर सिकाइरहेक बेला उनीहरूले विद्यार्थीलाई पढ्नका लागि रमाइलो र स्वस्थ वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन भ्याउँदैनन् । थुप्रै वर्षअघि फिनिस विद्यालयलाई पनि यस्तै गम्भीर सुधारको आवश्यकता थियो ।

त्यतिबेला फिनल्यान्डले मूलभूत कुरालाई प्राथमिकता दिनेबारे सोच्यो । उनीहरूले विद्यालयको वातावरणलाई कसरी सहज र विद्यार्थीका लागि मनोरम बनाउन सकिन्छ भन्ने बारे सोचे ।

सन् १९८० देखि फिनिस शिक्षाविद्ले यी मूलभूत कुरालाई प्राथमिकता दिएः

– समाजमा विद्यमान असमानतालाई चिर्न शिक्षा एक हतियार हुनुपर्छ ।

– सबै विद्यार्थीका लागि विद्यालयमा निःशुल्क खाजाको व्यवस्था छ,

– स्वास्थ्योपचारमा सहज पहुँच

– मनोवैज्ञानिक परामर्श

– व्यक्तिगत मार्गनिर्देशन

विद्यालय ढिला भर्ना गर्नुः
फिनिस शिक्षा प्रणालीमा सुधारका लागि निकै सुक्ष्म ढङ्गले अघि बढे । त्यहाँका बच्चाहरूलाई सात वर्ष भएपछि मात्र विद्यालयमा भर्ना गरिन्छ । उनीहरूलाई सानै उमेरमा अनिवार्य शिक्षाको डोरीमा बाँधिँदैन । यो देशमा बच्चालाई बच्चा नै हुन दिइन्छ ।

फिनल्यान्डमा बच्चाहरूले ९ वर्षको भएपछि मात्र अनिवार्य शिक्षा लिनुपर्छ । उनीहरूका लागि १६ वर्षको उमेरमा ९ कक्षा पास गरेपछि जे पनि ऐच्छिक हुन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यसले विद्यार्थीलाई स्वतन्त्र महसुस गराउँछ । धेरै विद्यार्थीले आफूहरू विद्यालय वा कलेजमा हुँदा जेलमा भएको जस्तो महसुस गर्ने कुरा यहाँ नकार्न सकिन्नँ । फिनल्यान्ड यस्तो दबाबबाट टाढै रहन्छ र आफ्ना विद्यार्थीलाई वास्तविक संसारसँग पैँठेजोरी गर्न सिकाउँछ ।

कलेज डिग्रीपछि व्यावसायिक विकल्प पनि प्रदान गर्नु:
जो विद्यार्थी उच्च शिक्षा हासिल गर्न चाहन्छन् उनीहरूका लागि पनि फिनल्यान्ड सरकारले विभिन्न विकल्प प्रदान गर्छ जुन उनीहरूका लागि लाभदायक हुनसक्छ । यहाँ कलेज–शिक्षित र काम गर्ने वर्ग भनेर भेदभाव गरिँदैन । दुवै वर्गलाई समान रूपमा व्यावसायिक र करियरमा सफल हुन सिकाइन्छ ।

फिनल्यान्डमा तीन वर्षे प्रोग्राम छ । यसलाई ‘अपर सेकेन्डरी स्कुल’ भनिन्छ । यसले विद्यार्थीलाई म्याट्रिकुलेसन टेस्टका लागि तयार गराउँछ । म्याट्रिकुलेसन टेस्टले उनीहरूका लागि विश्वविद्यालयको मार्ग प्रशस्त गर्छ ।

अर्को, त्यहाँ व्यवसायका लागि पनि शिक्षा दिइन्छ । यो तीन वर्षे प्रोग्रामले विद्यार्थीलाई विभिन्न करियरका लागि तालिम दिन्छ । यदि कोही विश्वविद्यालयमा पढ्न चाहन्छन् भने उनीहरूलाई पनि मेट्रिकुलेसन परीक्षाको विकल्प दिइएको हुन्छ ।

फिनिस विद्यालयहरू ढिला सुरु हुन्छन्, चाँडै बन्द हुन्छन्ः

स्कुल बस समयमै समात्नका लागि बिहान चाँडै उठ्नुपर्ने, स्कुलमा पनि बिहान र बेलुकाका अतिरिक्त क्रियाकलापमा भाग लिनुपर्ने बाध्यताले विद्यार्थीलाई निकै तनावमा पारेको हुनसक्छ । अझ कतिपय कक्षा त बिहान ६ बजेदेखि सुरु हुन्छन्, जसले गर्दा विद्यार्थीको निन्द्रा नै गडबड भएको पनि हुनसक्छ ।

फिनल्यान्डका विद्यालय ९ देखि ९ः४५ को बीचमा सुरु हुन्छन् । विभिन्न अनुसन्धानका अनुसार बिहान चाँडै विद्यालय सुरु हुँदा यसले विद्यार्थीको स्वास्थ्य र परिपक्वतालाई हानि पुर्याइरहेको हुन्छ । फिनिस स्कुल ढिला सुरु हुन्छन् र दिउँसो २ देखि २ः४५ मा बन्द हुन्छन् । उनीहरूका कक्षाको अवधि लामो हुन्छ र ब्रेक पनि लामा नै हुन्छन् ।

एउटै शिक्षकबाट लगातार निर्देशन:
फिनल्यान्डका स्कुलमा निकै कम शिक्षक र विद्यार्थी हुन्छन् । यहाँका विद्यार्थीलाई ६ वर्षसम्म एउटै शिक्षकले पढाइरहेका हुन्छन् । यतिबेला ती शिक्षकले मेन्टरको भूमिका पनि निर्वाह गर्छन् भने त्यही शिक्षकले परिवारको भूमिका पनि निभाइरहेका हुन्छन् । यो अवधिमा दुवैबीच विश्वास र माया पलाउँछ, जसका कारण दुवैले एकअर्कालाई आत्मैदेखि आदरसमेत गर्छन् ।

सिक्ने शैली विद्यार्थीपिच्छे फरक हुन्छ । फिनिस शिक्षकले आफ्ना विद्यार्थीको शैली बुझेर उनीहरूलाई त्यही अनुरूप शिक्षा दिन्छन् । उनीहरूले आफ्ना विद्यार्थीको केयर गरेर उनीहरूलाई आफ्नो उद्देश्य प्राप्तिमा सहयोग गर्छन् ।

आनन्ददायी वातावरणः

फिनल्यान्डले विद्यालयको वातावरणमा निकै ध्यान दिने गरेको छ, कम तनाव, कम नियन्त्रण र धेरै हेरचाह । विद्यार्थीले एक दिनमा दुईवटा कक्षा मात्रै लिनुपर्छ । उनीहरूसँग खाजा खाने, मनोरञ्जनात्मक क्रियाकलापमा भाग लिने र रिल्याक्स गर्ने पर्याप्त समय हुन्छ ।

यस्तै वातावरण शिक्षकका लागि पनि प्रदान गरिएको हुन्छ । प्रत्येक फिनिस विद्यालयमा शिक्षक कोठा बनाइएका हुन्छन्, जहाँ उनीहरू रिल्याक्स गर्न सक्छन् । समय तालिका बनाउन सक्छन् र यत्तिकै कुराकानी गरेर बस्न सक्छन् ।

कम गृहकार्य:
ओईसीडीका अनुसार फिनल्यान्डका विद्यार्थीलाई संसारको कुनै पनि विद्यार्थीभन्दा निकै कम गृहकार्य दिइन्छ । उनीहरूले स्कुलले दिएको गृहकार्यमा आधा घण्टा समय खर्च गरे पुग्छ । फिनिस विद्यार्थीका कुनै ट्युटर (निजी शिक्षक) पनि हुँदैनन् ।

फिनिस विद्यार्थीले पढाइसम्बन्धी आफ्नो सबै काम कुनै दबाब बिना स्कुलमा नै सिध्याउँछन् । यसरी पनि उनीहरूले पढाइमा उत्कृष्ट गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्