सबै नगरबासीको साथ र सहयोगले समृद्ध नगर बनाउँछौंः मेयर बिष्ट (अन्तर्वार्ता)

कञ्चनपुर । संविधानमा तीन तहको शासन व्यवस्था अनुसार स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ । स्थानीय तह निर्वाचनबाट भीमदत्त नगरपालिकाको नगर प्रमुखमा सुरेन्द्र विष्ट निर्वाचित भएका थिए । २०७४ असार १४ गतेको निर्वाचनबाट निर्वाचित भएपछि असार २४ गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । उनले नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि समृद्ध नगर बनाउने लक्ष्यका साथ अघि बढेका छन् । उत्तरी क्षेत्रमा धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको छ भने दक्षिणी क्षेत्रमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण थालनी गरिएको छ ।

बाह्य र भित्री चक्रपथ निर्माण थालनी, छाडा चौपाया व्यवस्थापन, सडक कालोपत्रे, नयाँ बाटो निर्माण, ठूला खानेपानी योजना सञ्चालन, पहिलो पटक म्याराथन दौड र महाकाली नदीमा साहसिक जलयात्रा (र्याफ्टिङ्ग) को सफल परीक्षण लगायतका ऐतिहासिक कार्य गरिएका छन् । स्थानीय तह निर्वाचनपछिका दुई वर्षमा नगरको विकास, नीति, कार्यक्रम, योजना, समस्या र आगामी लक्ष्य सहितका विभिन्न विषयहरुमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टसंग भीमदत्त अनलाइनका लागि गरिएको कुराकानी ।

–स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ । यो दुई वर्षमा भीमदत्त नगरपालिकाको विकासलाई के कसरी अघि बढाउनु भयो ?

नयाँ संविधानको व्यवस्था अनुसार २०७४ असार १४ गते स्थानीय तह निर्वाचन सम्पन्न भएपछि असार २४ गते पद तथा गोपिनयताको शपथ ग्रहण गरी जिम्मेवारी लिएको थिए । भीमदत्त नगरपालिकाको विकास र समृद्धिका लागि जनताले अमूल्य मत दिएको दुई वर्ष बितेको छ । अझै तीन वर्ष बाँकी छन् । दुई वर्षे कार्यकाललाई हेर्दा स्थानीय तह निर्वाचनमा गरिएका वाचा प्रतिवद्धताका आधारमा नगरपालिकाको विकास र समृद्धिका लागि कार्य गरिएका छन् ।

नगरको समग्र विकासका लागि २० वर्षे रणनीतिक योजना बनाउने कार्य प्रारम्भ गरिएको छ । चुनावका बेला नगरको विकास र समृद्धिका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका साथ अघि जाने कुरा गरेका थियौ । दिगो विकासको कुरा अघि सारिएको थियो । शिक्षा, स्वास्थ्य, खेलकूद, महिला, बालबालिका, कृषि, पर्यटक, सिँचाई, यातायात लगायतका सबै क्षेत्रका कुरा गरिएका थिए । दिगो विकासको लक्ष्यलाई प्राथमिकता दिएर विकास निर्माणका कार्य गरिएका छन् । त्यस आधारमा बजेट विनियोजन गरिएको छ ।

–दुई वर्षमा नगरपालिकाको पूर्वाधार विकासका उपलब्धि चाहिँ के–के छन् ?

गत आर्थिक वर्षको समीक्षा भर्खर सकिएको छ । पहिलो र दोस्रो वर्षको समीक्षाका आधारमा पूर्वाधार विकास निर्माण कार्य सन्तोसजनक रुपमा अघि बढेको छ । घाँडीघाँच क्षेत्रमा धार्मिक पर्यटन मार्ग निर्माण गरिएको छ । यो सपनाको मार्ग थियो । बाटोघाटो, विजुली, सिँचाई, जङ्गली जनावरका समस्या घाँडीघाँचमा थिए । वर्षौदेखिको दुर्गम क्षेत्र यो बाटोले सुगमतातिर लम्किएको छ । खल्ला क्षेत्रमा यातायात सेवा पुगेको छ । नहर प्रणाली नभएकाले किसानहरुलाई सिँचाईका लागि बोरिङ्ग जडान गरिएको छ । जैविक चुलो जडान गरिएको छ । यसका लागि अनुदान दिइएको छ ।

तिलाचौरमा तीन वडाका लागि २८ करोड बढीको खानेपानी योजनाका लागि सम्झौता गरिएको छ । यो योजनाबाट ६, ८ र १० मा खानेपानीको समस्या समाधान हुनेछ । सबै वडामा नयाँ बाटो खोलिएका छन् । सडक कालोपत्रे गरिएको छ । सडकका ट्रयाक खोलिएका छन् । भीनपा १० को श्रीस्लंका टोलमा पहुँच मार्ग पुगेको छ । त्यहाँ नेपाल रेडक्रस सोसाइटीसितको साझेदारीमा पुल निर्माण र बाटो खोलिएको छ । त्यहाँ बाटो र पुल भएपछि बर्षौदेखि बाढीले बगाउने चिन्ता हटेको छ । श्रीलंकामै खानेपानी योजना शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिकालाई सबै वडालाई एक आपशमा जोड्नका लागि बाहिरी चक्रपथ र भित्री चक्रपथ निर्माण कार्य सुरु गरिएको छ ।

बाहिरी चक्रपथको ८३ किलोमिटरको छ । यसको डिपिआर निर्माण भई सकेको छ । सहरी विकास कार्यक्रम अन्र्तगत सडक कालोपत्रे लगायतका कार्य गरिएका छन् । वडा वडामा ढल सहितका सडक निर्माण कार्य सहरी विकास अन्र्तगत भई रहेको छ । बजारमा रहेको पशु बधशाला केही दिनभित्र सञ्चालनको तयारी गरिरहेका छौ । शिक्षा, स्वास्थ्य, कृषि, विपद् लगायतका विभिन्न क्षेत्रमा पनि कार्यक्रम गरिएका छन् । स्वास्थ्य सेवामा पहुँच पुगाउन स्वास्थ्य शिविर सञ्चालन गरिएका छन् । ज्येष्ठ नागरिकका लागि कार्यक्रम गरिएको छ । भीनपा १६ मा बर्थिङ्ग सेन्टर सञ्चालन गरिएको छ । यस वर्ष वडा नं. १० को जिमुवा स्वास्थ्य चौकी, वडा नं। ९ र १९ मा बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने योजना छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन विद्यालय भर्ना अभियान सफल रुपमा सम्पन्न गरिएको छ । विद्यालयमा भर्ना हुने बालबालिकालाई झोला र कापी प्रदान गरिएको छ । बालबालिकाका अभिभावकहरुलाई प्रशंसा पत्र प्रदान गरी हौसला बढाउने कार्य गरिएको छ । खेलकूदमा म्याराथन दौड मार्च गरिएको छ । जसमा नेपालका म्याराथन धावक बैकुण्ठ मानन्धर सहभागी हुनु भएको थियो । स्वरोजगार बनाउन विभिन्न तालिम आयोजना गरिएका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रसित समन्वय गरी डिप्लोमा तहका तालिम चलाउने सोच बनाएका छौ । केरा खेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदान र सिँचाईको व्यवस्था गरिएको छ । केराका नमूना पकेट क्षेत्र र थोपा सिँचाईको कार्यक्रम गरिएको छ । सबै क्षेत्रलाई समेटेर कार्यक्रम गरिएको छ । ५ करोड आन्तरिक राजश्वलाई बढाएर १३ करोडमा पुगाएका छौ । त्यसमा सफल भएका छौ ।

याे पनि पढ्नुस  भीमदत्तका मेयरले ल्याए यस्ता लोकप्रिय कार्यक्रम

–छाडा चौपाया व्यवस्थापनका लागि के कस्ता कार्य गरिए त?

स्थानीय तह निर्वाचन हुन अघिदेखि नै छाडा पशु चौपायाको समस्या थियो । बागफाँटा र ब्रह्मदेबमा गौशाला बनाएर चौपाया व्यवस्थापन गरिएको छ । ब्रह्मदेबमा जगद्गुरुको अगुवाईमा चौपाया व्यवस्थापन गरिएको छ । त्यहाँ अहिले ५३ गाई पालिएका छन् । त्यसलाई व्यवसायिक गाई पालन केन्द्रका रुपमा विकास गर्न खोजिएको छ । यो समस्या गाई पाल्ने, दुध दिन्जेल घरमा राख्ने र त्यसपछि सडकमा छाडि दिनाले बढेको छ ।

सबैले सडकमा ल्याएर छाडि दिएपछि समस्या समाधान गर्न सहज हुँदैन । आमा समूह, टोल समूह, वडा कार्यालय, क्लब सबैसित सहकार्य गरी समाधानका लागि पहल गर्र्दै आएका छौ । प्रत्येक घरमा स्वयम् सेवक परिचालन गरी लगत लियौ, २८ हजार घरधुरी छन्, ती सबै घरमा पुग्यौ । पहिला र अहिलेको तुलना गर्ने हो भने छाडा पशु चौपायाको समस्या समाधान भई सकेको छ । गौशाला निर्माण गरिएका स्थानमा विकास निर्माण पनि गरिएको छ । ट्रान्सफरमर जडान गरी बत्तीको सुविधा पुगेको छ भने बाटोघाटो निर्माण गरिएको छ । यसले छाडा चौपाया व्यवस्थापनसं र विकास निर्माण कार्य पनि संगसंगै भएको छ ।

–खासमा छाडा चौपाया व्यवस्थापनको समस्या र चुनौती के हो ?

छाडा चौपाया व्यवस्थापनका लागि जगद्गुरु समेत अभियान लिएर लाग्नु भएको छ । उहाँले गाईलाई सडकमा छाडेको देखेर गत वर्ष सुदूरपश्चिमको धर्मीमा फलेको अन्न त्याग गरेका थिए । यसबाट पनि यो समस्या समाधानका लागि सबै पक्ष क्षेत्रबाट पहलकदमी भएको स्पष्ट हुन्छ । भारतसित खुल्ला सीमा छ, छेकबार गर्न सकिने अवस्था छैन, छिमेकी नगरपालिकाबाट छाडा गाई गोरु आउने गर्छन्, त्यसलाई रोक्न पनि चुनौतीपूर्ण नै छ । हामी पूर्विया दर्शनामा विश्वास गर्छौ, गाईलाई धार्मिक, सामाजिक लगायतका कारणले माताका रुपमा मान्छौ, तिहारमा पूजा गर्छौ, गाईको दुध, दही, गहुँ, गोबर सबै प्रयोग गर्छौ ।

गाईलाई यति मान्दा समेत त्यसलाई लिएर सडकमा छाडा बनाई रहेका छौ, यो हाम्रो धर्म, संस्कृभित्र पर्दैन । दुध दिएसम्म घरमा राख्ने, त्यसपछि सडकमा लिएर छाड्ने प्रवृत्तिले समस्या बल्झिदै गएको थियो, चुनावपछि त्यसलाई समाधान गरेका छौ । त्यसका लागि गौशाला बनाइएको छ । घरबाट लिएर सडकमा छाड्दै जाने हो, त्यस अनुसार गौशाला बनाउने हो नगरपालिकाको एक वर्षको सबै बजेटले पनि पुग्दैन । आफ्ना गाई गोरु आफैले व्यवस्थापन गरी सबैले सभ्य नागरिकको परिचय दिनु आवश्यक छ ।

–फोहाेर व्यवस्थापनमा के कस्ता कार्य गरिएका छन् त?

फोहाेरबाट मोहर हुन्छ, जसले उत्पादन गर्छ, उसले व्यवस्थापन गर्नु पर्ने हुन्छ । कुहिने र नकुहिने फोहर वर्गीकरण गरी गत वर्ष कुहिने फोहरबाट ग्याँस उत्पादन गरिएको छ । फोहरबाट ग्याँस उत्पादन गर्न सकिन्छ भने त्यसलाई त्यसरी व्यवस्थापन गर्न पर्छ । हरेक शनिबार सरसफाई अभियान सञ्चालन गरिएको छ । समुदाय प्रहरी साभेदारी कार्यक्रम अन्र्तगत सरसफाई अभियानलाई निरन्तरता दिइएको छ । टोल विकास संस्थासित सहकार्य गरिएको छ । सरसफाई दूत मनोनित गरिएका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रसित सरसफाई सवारी दुर्घटना, लागू औषध विरुद्ध जनचेतना अभियान लगायतका कार्यक्रमका लागि सहकार्य गरिएको छ । बजारमा निस्कने फोहरलाई नगरपालिकाले दैनिक व्यवस्थापन गर्दै आएको छ । यसको दिगो व्यवस्थापनका लागि पहल गरिरहेका छौ ।

–दिगो व्यवस्थापन कसरी गर्ने योजना हो?

फोहाेरको दिगो व्यवस्थापनका लागि नेपाल सरकार र दातृ निकायसित साझेदारी गरी अघि बढेका छौ । त्यसका लागि दिगो व्यवस्थापन केन्द्र नै बनाउने हो । अहिले नगरपालिका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गाको खोजी गरिरहेको छ । एशियाली विकास बैंकको सरकारलाई ऋण र नेपाल सरकारको भीमदत्त नगरपालिकालाई अनुदान दिईएको छ । त्यो ५३ करोड जति छ । काठमाडौंको फोहर व्यवस्थापन देखेर त्यस्तै केन्द्र बनाउन खोजिएको आशंका गरिएको छ ।

वास्तवमा काठमाडौंको जस्तो फोहर व्यवस्थापन केन्द्र बनाउन खोजिएको होइन । त्यो डम्पिङ्ग साइड हुन् । हामीले डम्पिङ्ग होइन, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउने हो । त्यसमा आकाश र पातालको फरक छ । यसमा नगर वासिन्दालाई स्पष्ट पार्ने कार्यमा छौ । नगरपालिका भनेको कार्यालय मात्रै होइन, सबै वडाहरु पनि हुन् । कुनै न कुनै वडामा यो केन्द्र बनाउनै पर्ने हो । अन्त्येष्टि घाट वडा नं। ११ मा सुरु गरिएको छ , त्यहाँ महाकाली नदीमा अन्तिम दाहसंस्कार स्थल बन्दैछ । त्यस्तै फोहर व्यवस्थापन पनि कुनै न कुनै वडामा हुन्छ । यसका लागि सरोकारवाला, वडा कार्यालय, स्थानीय र विज्ञसित छलफल गरिरहेका छौ ।

–महेन्द्रनगर बजार जिल्ला सदरमुकाम हो, यो बजार भीमदत्त नगरपालिकामा पर्छ । यो बजार व्यवस्थापका लागि के गर्नु भयो त ?

गाउँबाट सहरमा आएका छौ । सदरमुकाम भएकाले गाई घरबाट बसाई सराइ सर्ने दर दैनिक रुपमा बढ्दो छ । जनसंख्या वृद्धिसंगै सहरमा समस्था पनि जान्छन् । यो स्वभाविक हो । खानेपानी, शिक्षा, स्वास्थ्य, आवागमन, विद्युत सबैका समस्या थपिदै जान्छन् । सवारी साधन बढेपछि पार्किङ्ग समस्या बढ्छ । वासिन्दालाई सुरक्षाको प्रत्याभूति पनि गर्नु पर्छ । त्यसका लागि नगरपालिकाबाट प्राथमिकताका साथ यसमा लागेका छौ । सरोकारवाला निकाय, विज्ञ, नगर वासिन्दा सबैसित छलफल र सहकार्य गरी बजार व्यवस्थापन गरिरहेका छौ । महेन्द्रनगर बजार गुरु योजना बनाएर स्थापना गरिएको सहर हो । बजारका सबै गल्लीका सडक कालोपत्रे हुन्छन्, ढल निर्माण हुँदैन । क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत गल्लीहरुमा ढल सहितका सडक बनाउन सर्भे गरिएको छ ।

याे पनि पढ्नुस  भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प

केही दिनभित्र ठेक्का प्रक्रियामा जान्छौ । पार्किङ्ग स्थल, विश्राम गृह लगायतका पूर्वाधार बनाउन नपासित जमिन अभाव छ , नगर विकासको जमिन छ, नगर विकास समिति अहिले खारेज गरिएको अवस्था छ । सब्जीमण्डीमा कञ्चन मल बनाउने तयारी छौ । पशु बधशालाको छिटो व्यवस्थापन हुन्छ , मण्डी अर्को ठाउँमा सार्छौ । बजारका यत्रतत्र छरिएका ठेलाको व्यवस्थापन गरिएको छ । वसपार्क क्षेत्रमा उज्यालो भीमदत्त अन्र्तगत सौर्य बत्ती जडान गरिएका छन् । आधुनिक वसपार्क निर्माण गरिएको छ । महेन्द्रनगर बजारलाई सुदूरपश्चिम प्रदेशको नमूना सहर बनाउने लक्ष्यका साथ अघि बढेका छौ । त्यस अनुसारका नीति तथा कार्यक्रम र बजेट नगर सभाबाट विनियोजन गरिएको छ ।

–अहिले बजार अनुमगनको जिम्मा पनि स्थानीय तहलाई दिइएको छ । यो बीचमा बजार अनुगमन गरियो त?

नयाँ व्यवस्था अनुसार स्थानीय सरकारले धेरै अधिकार पाएको छ । बजार अनुगमनको अधिकार पनि त्यसैभित्र पर्छ । उद्योग बाणिज्य संघ सहितका सरोकारवाला सहित बजार अनुगमन समिति गठन गरिएको छ । बजार अनुगमन निर्देशिन पारित गरिएको छ । निर्देशिका आधारमा अनुगमनका कार्य गरिएका छन् । पूर्णागिरी मेलालाई मध्यनजर गरी ब्रह्मदेब बजार क्षेत्रमा अनुगमन गरिएको छ । स्थानीयबाट आउने गुनासाका आधारमा तत्काल अनुगमन गर्ने नीति लिएका छौ । यस वर्ष नगरका सबै बजारमा अनुगमन गर्ने छौ ।

–ठूला पूर्वाधार निर्माणमा भीमदत्त नगरपालिकाको योगदान के रह्यो त?

स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर धेरै योजना कार्यक्रम सञ्चालन गर्छ । ठूला सडक विस्तार, पुल निर्माण लगायतका कार्यहरु प्रदेश र संघ सरकारको क्षेत्राधिकारमा पर्छन् । नगरपालिकामा साना पुल र कल्भर्ट बनाउन सक्छ । महाकाली अस्पताल सुधारका लागि नगरपालिकाबाट हुने सहयोगका लागि सधैं तयार छौ । अस्पतालको गुरु योजना बनाएर हस्तान्तरण गरिएको छ । यस वर्ष शव सड्न नदिनका लागि मर्करी चेम्बरका लागि सहयोग गरिएको छ ।

मझगाउँ विमानस्थल सञ्चालनका लागि यस वर्ष नगर सभाबाट बजेट विनियोजन गरिएको छ । विमानस्थल सञ्चालनका लागि संघ र प्रदेश सरकारलाई अनुरोध गर्दै छौ । नगर सभाबाट संकल्प प्रस्ताव पारित गरिएको छ । नगरपालिकाबाट ग्राभेलका कार्य गरिएका छन्, नयाँ बाटो खोलिएका छन् । १५ वर्षमा गरिएको भन्दा पछिल्ला दुई वर्ष बढी ग्राभेल गरिएको छ । जनताका अपेक्षा अधिक छन् । स्थानीय सरकारले ठूला पूर्वाधार बनाई दिए हुन्थ्यो भन्ने पनि छ, त्यो जायज छ, लामो समयपछि स्थानीय तह निर्वाचन भएर जनप्रतिधि आएकाले यस्ता अपेक्षा गरिएका छन् ।

–स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने वाचा गर्नु भएको थियो । त्यो वाचा अनुसार समृद्ध नगर बनाउन के कस्ता कार्यक्रम अघि सार्नु भएको छ?

स्थानीय तह निर्वाचनमा समृद्ध नगरको वाचा गरेका थिर्यौ, जनताले नगरको विकास, उन्नति, समृद्ध बनाउने जिम्मेवारी नगरपालिका पठाउनु भएको हो । चुनावका वाचा अनुसार समृद्ध नगरका लागि विभिन्न योजना र नीतिका साथ दिर्घकालिन योजना सहित अघि बढेका छौ । नगरपालिकाको २० वर्षे रणनीतिक योजना बनाई रहेका छौ । धार्मिक पर्यटन मार्ग, शुक्लाफाँटा पर्यटन मार्ग, बाह्य र भित्री चक्रपथ निर्माण कार्य सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा अघि सारिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हब बनाउन शुक्लाफाँटा पर्यटन महोत्सव गरिएको छ । झिलमिला तालसम्म पक्की बाटो बनाइएको छ । महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पहिलो पटक साहसिक जलयात्राको सफल परीग्क्षण गरिएको छ । बाराकुण्डामा १२ ताल पुनःभरण गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न खोजिएको छ । महाकाली नदीको अन्त्येष्टि घाट, कञ्चन मल, भ्यू टावर, बाराकुण्डा ताल, बाह्य र भित्री चक्रपथको गुरु योजना निर्माण गरिएको छ । झिलमिला तालको गुरु योजना यस वर्ष निर्माण हुनेछ । नगरको आन्तरिक राजश्व बढाउने कार्यक्रम गरिएका छन् ।

दुई वर्ष अघिसम्म ५ करोड राजश्व हुने गरेकोमा अहिले १३ करोड पुगेको छ । राजश्व विना नगरको विकास र समृद्धिलाई जन अपेक्षा अनुसार अघि बढाउन सकिदैन । नगर वासिन्दालाई उत्पादनसित जोड्नका लागि भीमदत्त स्वरोजगार कार्यक्रम सञ्चालन गरिने लक्ष्य लिइएको छ । कृषिलाई व्यवसायिकरणका लागि एक वडा एक पकेट क्षेत्र अध्ययनका लागि नीतिगत निर्णय गरिएको छ । क्लिन सिटी ग्रिन सिटीका लागि एक घर एक विरुवा अभियान सञ्चालन गरिएको छ । तरकारीमा आत्मनिर्भर बनाउन एक घर दुई फलफूलका विरुवा वितरण अभियान सुरु गरिएको छ । खेल पर्यटन प्रवद्र्धनका लागि म्याराथन गरिएको छ ।

याे पनि पढ्नुस  कञ्चनपुरमा आइतबार बढी अपराध !

नगरका सबै महिलाहरु सुरक्षित राख्न र अप्ठेरोमा प्रतिवाद गर्न सक्ने बनाउनका लागि आत्मरक्षा तालिम दिइएको छ । चुनावमा नगर समृद्ध बनाउने मात्रै कुरा गरिएको थिएन, नगरको समृद्धिमा सबै नगर वासिन्दा साथ र सहयोगको पनि कुरा गरिएको थियो । सबै वासिन्दासित सीप र क्षमता छ , त्यो सीप र क्षमता नगरको विकास र समृद्धिका लागि महत्पपूर्ण छ , त्यसैले मैले सबै नगर वासिन्दालाई आफूसित भएको सीप र क्षमता नगरको विकास र समृद्धिका लागि सदुपयोग गर्न आव्हान गर्दै आएको छु । हरेक नागरिकलाई उत्पादनसित जोडेर हरेकका सीप र क्षमताबाट भीमदत्त नगरको समृद्धि हुने कुरालाई प्राथमिकता दिएर अघि बढेका छौ । सबैको साथ र सहयोगबाट भीमदत्त समृद्ध नगर हुनेमा आशावादी छौ ।

–भीमदत्तको विकास र समृद्धिका लागि गरिएका कार्यक्रम पूरा गर्नका लागि दुई वर्षमा के कस्ता समस्या र चुनौती सामना गर्नु भयो?

संविधानमा तीन तहको शासन व्यवस्था हुने व्यवस्था अनुसार स्थानीय तह निर्वाचन भएर स्थानीय सरकरा गठन गरिएको हो । नयाँ व्यवस्था, संविधान नयाँ, जनप्रतिनिधि नयाँ नै भए । नयाँ शासन व्यवस्थाको मर्म जनप्रतिनिधि र जनतालाई बुझाउन समय लागेको छ । कानुन निर्माणका सवाल छ, ती अधुरा नै छन् । कर्मचारी व्यवस्थापन अर्को समस्याको रुपमा छ । नीति निर्माण र तिनको कार्यान्वयनका समस्या छन् । कर्मचारी व्यवस्थापनमा ढिलाईले स्थानीय सरकारलाई जनताको अपेक्षा अनुसार सेवा प्रवाह गर्न बाधा अवरोध देखिएका छन् । नयाँ शासन व्यवस्थाको अर्थ जनप्रतिनिधि मात्रै होइन, कर्मचारीलाई पनि बुझाउन सकिएको छैन । लामो समयपछि निर्वाचन भएकाले जनताको चाहना, इच्छा, माग असीमित छन् , तिनलाई पूरा गर्न स्रोत साधन, जनशक्तिको अभाव छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत समस्यालाई स्रोत र साधनको उपलब्धताका आधारमा पूर्ति गरिरहेका छौ । शान्ति सुरक्षाको सवाल छ । जनताले स्थानीय सरकारलाई नै शान्ति सुरक्षाका लागि आग्रह गरि रहेका छन्, यो संघीय सरकार मातहत छ, तर जनता सरकार भनेपछि स्थानीयले नै शान्ति सुरक्षाको प्रत्याभूति गरि देओस भन्ने चाहन्छन् । जनताको चाहना अनुसार वहाँहरुका हरेक समस्यामा स्थानीय सरकार सहकार्य र समन्वय गरिरहेको छ । संविधानका व्यवस्था अनुसार प्रदेश र संघीय सरकारका साझा अधिकारको सूचीका विषय छन् । संघ र प्रदेश सरकारले कतिपय विषयमा कानुन नबनाउँदा त्यसको सिदा असर स्थानीय सरकारमाथि परेको छ । स्थानीय सरकार आफ्नै एकल अधिकार छन्, ती अधिकारलाई कानुन निर्माण गरी कार्यान्वयनतर्फ लगेका छौ । जनताको विकास र समृद्धिको चाहनालाई पूर्ति नगरको आन्तरिक राजश्व वृद्धिका लागि ठोस कार्य योजना सहित अघि बढेका छौ ।

–यी दुई वर्षमा तपाईप्रति जनताको धारणा के पाउनु भएको छ?
जनताले गोप्य मत दिएर निर्वाचित गरेपछि मैले गर्ने हरेक कार्यमा उहाँहरुको निगरानी हुन्छ, त्यो हुनु पर्छ । जनताको अपेक्षा धेरै छन्, मैले यो कुरा यस अघि पनि भनि सकेको छु । समाज विकासको क्रमसंगै जनताको इच्छा आकाँक्षा बढ्दै जान्छन् । यो स्वभाविक छ । जहाँसम्म दुई वर्षमा मैले मप्रतिको धारणा सकारात्मक नै पाएको छु । भीमदत्तको विकास र समृद्धिका लागि सुरु गरिएका सबै कार्यमा सबै जनताको साथ र सहयोग पाएको छु । पहिलो वर्षमा जनताले छाडा चौपाया व्यवस्थापनको चाहना राख्नु हुन्थ्यो, त्यो समाधान गरिएको छ ।

बाटोघाटोमा ग्राभेलको माग सबैभन्दा बढी आउँछ, त्यसमा पनि जनता सन्तुष्ट हुने गरी कार्य गरिरहेका छौ । युवालाई उत्पादनसित जोड्ने कुरामा जनताको राम्रो फिडब्याक आएको छ । धार्मिक पर्यटन मार्ग र शुक्लाफाँटा पर्यटन मार्ग सहितका पूर्वाधार निर्माणलाई जनताले ऐतिहासिक विकासका रुपमा लिएको अनुभूति भएको छ । बेरोजगारी समस्या समाधानका लागि कुरा आउने गरेका छन्, त्यसका आधारमा युवालाई उत्पादनसित जोड्ने कुरा गरिएको छ ।

–अन्त्यमा, तपाईको अबको अठोट के हो?
भीमदत्त नगरको विकास र समृद्धिको खाका तयार गर्छौ । त्यो २० वर्षे रणनीतिक योजना हो । अहिले त्यसको निर्माण प्रक्रियामा छौ । त्यसका आधारमा भीमदत्तलाई विकासको बाटोमा लैजान्छौ । समृद्ध नगर बनाउँछौ । निजी र सहकारी दुबै क्षेत्रसित सहकार्य र समन्वय गरी नगर विकासका कार्यक्रम सञ्चालन गर्छौ । कृषि र पशुपालन क्षेत्रलाई व्यवासायीकरण गरी वासिन्दालाई आत्मनिर्भर बनाउँछौ । हरियाली नगरको लक्ष्य पूरा गरेर जान्छौ । उज्यालो भीमदत्त कार्यक्रम सुरु गरिएको छ , यसलाई सबै वडामा पुगाउँछौ । हरेक वासिन्दाको सीप र क्षमतालाई भीमदत्तको समृद्धि र विकासमा सदुपयोग गर्छौ ।

कमेन्ट गर्नुहोस्