एकपक्षीय समाचार प्रशारण गरेको भन्दै रेडियोमा तोडफोड

कालीकोट, साउन १९ । जिल्लाको पलाता गाउँपालिकाले सञ्चालन गरेको सामुदायिक रेडियो पलाता एफएममा शनिबार राति तोडफोड भएको छ । एकपक्षीय समाचार र अन्तर्वार्ता प्रशारण गरेको भन्दै स्थानीय जगदीश पूर्वेले रक्सी खाएर रेडियो तोडफोड गरेका हुन् ।

रक्सी खाएर रेडियोका कर्मचारीलाई गाली गर्दै स्टुडियोमा पसेका पूर्वेले मिक्चर, माइक, सीपीयूलगायत समाग्री तोडफोड गरेको गाउँपालिकाले जनाएको छ। निमित्त प्रशासकीय अधिकृत राजबहादुर बमअनुसार तोडफोडपछि विभिन्न सामग्रीमा क्षति पुगेको छ ।

शिक्षा, चेतना र सूचना पहुँचको अभाव रहेको पलातामा सञ्चालन गरिएको रेडियोमा आक्रमण गर्नु निन्दनीय रहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। उनले घटनामा संलग्नमाथि कारबाहीको माग गरेका छन्। उनका अनुसार रेडियोको कार्यालयमा समेत तोडफोडबाट क्षति पुगेको छ।

गाउँपालिकाले गत वैशाखदेखि रेडियो सञ्चालनमा ल्याएको हो। तोडफोडमा संलग्न पूर्वेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तोडफोड गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बिगोसहित मुद्दा दायर गरेको रेडियो सञ्चालक समिति अध्यक्ष भरतराज विष्टले जानकारी दिए।

यसैबीच, नेपाल पत्रकार महासंघ कालीकोट शाखाले विज्ञप्तिमार्फत घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

कमेन्ट गर्नुहोस्