म २७ वर्षीय अविवाहित युवक हुँ । मेरो समस्या fast fall हो, अर्थात् २–३ मिनेटपछि नै fall हुन्छ । त्यसकारण यो छोटो समय कसरी रोक्ने र कसरी समय लम्ब्याउने ? मेरो लिंग पनि रातो भएर दुख्छ । – पी.
यौनसम्बन्धी कुरालाई हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्छौं, तर यो हामी निदाएको बेला पनि निरन्तर रूपमा चलिरहन्छ । निदाएका बेला पनि लिंग उत्तेजित हुन्छ वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ । यस्तो प्राय:जसो पहिलो पटक किशोरावस्थामा हुन्छ र त्यसले व्यक्तिमा यौनको विकास राम्रौसँग भैरहेको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख समेत प्राप्त गर्छन् । यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emmisions जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ । निदाएका बेला हुने भएकाले यसलाई छोटयाउने वा लम्ब्याउने कुरा सचेत भएका बेलाजस्तो आफ्नो नियन्त्रणमा हुँदैन ।
शीघ्र वीर्य स्खलन
प्राय: सबैजसो पुरुषले आफ्नो जीवनको कुनै समयमा वीर्य स्खलन छिटो भएको अनुभव गरेका हुन्छन् । योनिमा घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो ।
यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको मान्न थालिएको छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ता (performance anxiety) भए त्यसले समस्या थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोगले यस्तो समस्या सिर्जना भएको त होइन भनेर पनि केलाउन बिर्सनु हुँदैन ।
शीघ्र वीर्य स्खलन हुँदा यौन सन्तुष्टि प्राप्त गर्न सकिँदैन । धेरैजसोले यौन सम्पर्क राखे पनि शीघ्र वीर्य स्खलन हुनुलाई पुरुषको यौन कार्य सक्षमताका रूपमा लिन्छन् र एक–अर्कालाई दोष दिँदा सम्बन्धमै चिसोपन सिर्जना हुनसक्छ । वीर्य स्खलनमा मात्र केन्द्रित गरेर यौनसम्पर्क नराखी पाक्क्रीडाजस्ता क्रियाकलाप पनि गरे यो समस्या सामान्य कम भएर जान्छ । दुवैले राम्रोसँग कुराकानी गरेर तनावरहित वातावरणमा समस्याको समाधान खोज्नुपर्छ । हामीलाई थाहै छ, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुर बाहिरतिर नै हुन्छ र यसको घर्षणका लागि योनिमा लिंग प्रवेशको आवश्यकता पर्दैन ।
समाधानका लागि के गर्न सकिएला ?
आक्कल–झुक्कल यस्तो शीघ्र स्लखन हुँदा अनावश्यक चिन्ता गरिरहनु पर्दैन । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् : १. यौनसम्पर्क रोक्ने–सुरु गर्ने, २. यौन सम्पर्क गर्दा आसन परिवर्तन गर्ने, ३.वीर्य स्खलन होलाजस्तो भए लिंग अँठ्याउने र केही बेरमा यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने, ४. कन्डम प्रयोग, ५. मांसपेशीको प्रयोग गर्ने : पिसाब रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्न सके पनि फाइदा मिल्छ । ६. छालाको संवेदनशीलता कम गर्ने औषधीको प्रयोग गर्ने जस्तै Benzocaine तथा Lidocaine । ७. वीर्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिंगलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने र यो प्रक्रिया दोहार्याउने ।
वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि श्रीमती (यौनसाथी) सँग यौनसम्पर्करहित क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकलापलाई अघि बढाउने । यो प्रक्रियामा समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा निकै लाभदायक सावित हुन सक्छ ।
लिंगमा पीडा
तपार्इंले आफ्नो सन्देशमा दिनुभएको सीमित जानकारीका आधारमा यसै भन्न सकिने स्थिति छैन । पीडाको प्रकार, लिंगको कुन भागमा, लिंगमा मात्र कि वरिपरि, लिंगमा कुनै चोटपटक लागे/नलागेको, यौन क्रियाकलाप, पिसाब वा त्यसको रङ्गमा के–कस्तो परिवर्तन आएको छ जस्ता कतिपय जानकारी भएको भए जवाफ दिन सजिलो हुने थियो । शीघ्र स्खलनको कुराले तपाईंको यौनसम्पर्क भएको देखिन्छ । तपाईंका यी लक्षण र यौनसम्पर्कमा कुनै सम्बन्ध थियो, भन्ने कुरा पनि लेख्नुभएको छैन ।
लिंग दुख्ने वा पीडा वा असजिलो हुने अनेक कारण हुन सक्छन् । जसमध्ये कतिपय लिंगसंग प्रत्यक्ष सम्बन्धित हुन्छन् भने कतिपय अन्य समस्याका लक्षणका रूपमा देखिन्छन् । छोटकरीमा भन्दा मूत्रथैलीको पत्थर, लिंगमा चोट लाग्नु, कुनै किराले टोक्नु, लिंगको क्यान्सर, यौनांगको हर्पिस, छालामा पिलो वा घाउ आउनु, अग्रचर्मको संक्रमण वा शोथ, प्रोस्टेट ग्रन्थिको संक्रमण, peyronies’s disease, Reiter syndrome, sickle cell anemia यौनरोग तथा chlamydia वा gonorrhea का कारणले मूत्रनलीको शोथ लिंगमा पीडा हुने प्रमुख कारण हुन् ।
यौनसम्पर्क वा हस्तमैथुन अत्यधिक रूपमा लगातार गरिएको स्थितिमा पनि छाला पाच्छिएर लिंग दुख्छ । त्यसैगरी fungus को संक्रमण होस् वा एलर्जी भएर बेस्सरी चिलाएको अवस्थामा पनि लिंग पोल्ने वा दुख्ने हुन्छ । छालाका अन्य केही समस्या पनि त्यसको कारण हुन सक्छ । जननेन्द्रियको हर्पिस, अत्यधिक घर्षण, कुनै वस्तुको एलर्जी, लुतोजस्ता कतिपय स्थितिमा लिंगमा रातोपन देखिन्छ ।