Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज नाग पञ्चमी, घरघरमा नागको फोटो टाँसिदै

काठमाडौं, साउन २० । हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व नाग पुजा अर्थात नाग पञ्चमी आज मनाइँदैछ । घरघरमा नागको फोटो टाँस्ने, नागका मूर्तिमा पुजाअर्चना गर्ने चलन छ । हिन्दु धर्ममा विभिन्न जीवजन्तु, वनस्पतिलाई मात्रै नभएर सरिसृपलाई समेत भगवानको रुपमा पूजा गरिन्छ । नागपञ्चमी प्रत्येक श्रावण शुक्ल पञ्चमीमा मनाउने गरिन्छ ।

घरघरमा नागको फोटो टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: