ग्लोबल टि–२० लिगः क्रिस गेलको टिमकाे लगातार जित

काठमाडौं, साउन २० । ग्लोबल टि–२० क्यानडा क्रिकेट लिगमा क्रिस गेल कप्तान रहेको भंकाकुर नाइट्सले लगातार तेस्रो जीत हासिल गरेको छ । आइतबार राति ब्रमटन ओल्भसलाई ८ विकेटलाई हराउँदै गेलको टिमले लगातार जीत हासिल गरेको हो ।

ब्रमटनले दिएको १३९ रनको लक्ष्य भंकाकुरले १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि चाडविक वाल्टनले ५३, सोयब मलिकले नट आउट ४१ रन बनाए । यस्तै टोबिस वीसी २७ र क्रिस गेल ४ रनमा आउट भए ।

बलिङमा सीसिल प्रिभिजले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको ब्रमटनले १९.५ ओभरमा १३८ रन बनाएर अल आउट भयो । उसका लागि बाबर हायातले सर्बाधिक ३४, लिन्डल सिमोन्सले ३०, वाहब रियाज, इश सोधीले १९–१९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा भंकाकुरका डानियल साम्सले ४, हायादन वाल्सले ३, मिचेल रिप्पोनले २ र अलि खानले एक विकेट लिए । जीतसँगै भंकाकुर दोस्रो स्थानमा उक्लिएको छ । उसले ५ खेलमा ३ मा जीत र एक खेलमा पराजय बेहोरेको छ । साथै एउटा खेलमा प्रतिकूल मौसमका कारण अंक बाँडिएको थियो । यस्तै ब्रमटनले ५ खेलमा ४ मा जीत र एक खेलमा मात्रै हार बेहोरेर ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

कमेन्ट गर्नुहोस्