ट्रयाक खोल्न ढिलाइ हुँदा योजना प्रभावित

काठमाडौँ, साउन २० । उच्च आर्थिक एवं व्यापारिक महत्वको उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको १४ किलोमिटर ट्र्याक खोल्न ढिलाइ हुँदा समग्र योजना नै प्रभावित बनेको छ । पछिल्लो आठ महिनायता ट्रयाक खोल्ने कार्यमा कुनै प्रगति देखिएको छैन ।

उत्तर–दक्षिण व्यापारिक राजमार्ग आयोजनाका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन र विस्फोटक पदार्थ (जिलेटिन)को आपूर्ति तथा बङ्कर निर्माणमा ढिलाइ हुँदा ट्रयाक खोल्ने कार्य अवरुद्ध बनेको हो । आयोजना प्रमुख शिव नेपालले कुल ३९० किलोमिटरको कोशी करिडोरअन्तर्गत विराटनगरको रानीदेखि खाँदबारीसम्मको २२८ किलोमिटर सडक विभिन्न चरणमा निर्माण भइसकेको बताए ।

करिडोर निर्माण भएपछि ३९० किलोमिटर दूरीले दुई विशाल छिमेकी चीन र भारतलाई जोड्ने छ । उत्तर दक्षिण व्यापारिक मार्गअन्तर्गत कोसी करिडोर निर्माण आयोजना राष्ट्रिय गौरवको आयोजना हो। कोसी करिडोरलाई हिमाल, पहाड र तराई मधेस जोड्ने आर्थिक समृद्धिको एक महत्ववपूर्ण मार्गका रूपमा हेरिन्छ । करिडोरले मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम हुँदै सङ्खुवासभा जिल्लालाई जोड्ने छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटा भन्छन्, “दुई छिमेकी राष्ट्रलाई जोड्ने कोसी करिडोरले नेपालको आर्थिक समृद्धि र समाजिक रूपान्तरणमा महत्वपूर्ण टेवा पुर्याउने छन् ।” सङ्खुवासभाको खाँदबारी र चीन प्रशासित तिब्बतसित जोडिएको उत्तरी सीमा किमाथाङ्कासम्मको १६२ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ ।

सङ्खुवासभाको खाँदबारीबाट चेन्ताङसम्म १३४ किलोमिटर र उत्तरी सीमा किमाथाङ्काबाट घोँघपासम्मको १४ किलोमिटर ट्रयाक खुलिसकेको छ । खाँदबारी–किमाथाङ्का आयोजना प्रमुख इन्जिनियर गौतम श्रेष्ठले बीचमा चेन्ताङदेखि घोँघपासम्म १४ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको बताए । उक्त क्षेत्रमा ट्र्याक खोल्ने कार्य झन्झटिलो छ । आयोजना प्रमुख शिव नेपाल भन्छन्, “विस्फोटक पदार्थ प्रयोग गरेर ट्र्याक खोल्नुपर्ने हुँदा विस्फोटक भण्डारणका लागि करिब दुई करोड रुपियाँको लागतमा बङ्कर निर्माण भइरहेको छ ।”

बङ्कर निर्माण भएलगत्तै विस्फोटक भण्डार गरेर द्रुत गतिमा ट्र्याक खोल्ने कार्य सुरु हुने प्रमुख इन्जिनियर श्रेष्ठले जनाए । ट्र्याक खोल्न बाँकी रहेको १४ किलोमिटर क्षेत्रमा ठाडो भीर एवं ५० मिटर माथिसम्मको चट्टाने भूभाग पर्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सापकोटाले आठ महिनादेखि प्राविधिक र नीतिगत कठिनाइकै कारणले अवरुद्ध हुन पुगेको ट्र्याक खुलाउन मन्त्रालय गम्भीर भएर लागेको बताए । उनले उक्त कार्यको जिम्मेवारी नेपाली सेनालाई दिनेबारे समेत छलफल भइरहेको जानकारी दिए । मन्त्रालयले बङ्करको सुरक्षा, विस्फोटक पदार्थको आपूर्ति र ट्र्याक खोलाउन नेपाली सेनालाई जिम्मा दिनेबारे छलफल गरिरहेको छ ।

प्रमुख इन्जिनियर श्रेष्ठ भने बङ्कर निर्माण र विस्फोटक पदार्थ समयमै आपूर्ति भए तीन महिनाभित्र पूरै ट्र्याक खोल्न सम्भव रहेको दाबी गर्नुहुन्छ । ट्र्याक खुलेको अवस्थादेखि सडकमा कालोपत्रे गर्न कम्तीमा दुईदेखि तीन वर्षसम्म लाग्छ । ट्र्याक बनिसकेको १४८ किलोमिटर खण्डमा मर्मत, सुधार तथा स्तरोन्नतिका कार्यहरू हुँदै आएका छन् । उक्त मार्गको ६९ किलोमिटर खण्डमा ग्राभेलको कामसमेत सकिएको छ ।

करिडोर निर्माण २०७७–७८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०६५–६६ देखि कोसी करिडोरको निर्माण सुरु भई २०७०–७१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर उक्त अवधिमा २५ प्रतिशत निर्माण पनि पूरा नहुँदा संशोधन गरी २०७७–७८ सम्म सम्पन्न हुने लक्ष्य निर्धारण गरिएको छ । करिडोरको कुल लागत पाँच अर्ब ७९ करोड रुपियाँ अनुमान गरिएको छ ।

आयोजनाका अनुसार खाँदबारी–किमाथाङ्का सडकमा कुल २० वटा पुलको लगत देखिएको छ । पाँचवटा पुलको डिजाइन स्वीकृत गर्ने चरणमा छ । नौवटा पुलको निर्माणका लागि ठेकेदार कम्पनीसित सम्झौता भइसकेको छ तर सम्झौता भएको पुलको निर्माण पनि ठप्प छन् । तीनवटै पुल मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ ।

अवरोधको कारण खुलाउँदै प्रमुख इन्जिनियर श्रेष्ठ भन्छन्, “सुरुमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्न नपर्ने भनियो तर निर्माण सुरु गर्दा रोकिएपछि मूल्याङ्कन गरेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पठाएका छौँ ।” कोसी करिडोरकै अर्को खण्डले चीन प्रशासित तिब्बती सीमासित जोडिएको ताप्लेजुङको ओलाङचुङ्गोलालाई पाँचथर, तेह्रथुम, धनकुटा हुँदै सुनसरीको चतरासँग जोड्ने छ । पाँचथरको गणेशचोकदेखि चतरासम्मको लम्बाइ १४८ किलोमिटर छ । ताप्लेजुङको ओलाङचुङ्गोला र सङ्खुवासभाको किमाथाङ्काबीचको दूरी ४१ किलोमिटर छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्