‘प्रसाद’ टिमको ‘सेल्फी किङ’मा विपिन मुख्य भूमिकामा

काठमाडौं, साउन २० । भर्सटायल अभिनेता विपिन कार्कीले गतवर्षको हिट नेपाली चलचित्र ‘प्रसाद’ टिमसँग दोस्रो पटक सहकार्य गरेका छन् ।

निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने चलचित्र ‘सेल्फी किङ’ मा उनी अनुबन्ध भएका छन् । फिल्मको निर्देशन भने बिशाल सापकोटाले गर्नेछन् । उनी फिल्म ‘कारखाना’ का निर्देशक अमरदीप सापकोटाका सहोदर भाई हुन् । अमेरिकामा चलचित्र मेकिङको पढाइ सकेर नेपाल फर्किएका उनले पहिलो पटक फिचर चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन् ।

यसअघि उनी तेलूगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको क्याप्टेनसिप सम्हाल्ने तयारीमा थिए । तर, विविध कारणले यो निर्माण हुन सकेन । अब उनले ‘सेल्फी किङ’ मा विपिनलाई एक्सन(कट गर्नेछन् । आगामी भदौ १० गतेबाट फिल्मको औपचारिकरुपमा छायांकन सुरु हुने निर्माता मध्येका एक दिनेश राउतले बताए । फिल्मका लागि अहिलेसम्म प्रमुख भूमिकामा अभिनेत्रीको भने टुंगो लागेको छैन । अभिनेत्रीद्वय स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग केही दिनदेखि कुरा भइरहेको छ । यसअघि दुईले फिल्म ‘बुलबुल’मा सँगै काम गरेका थिए ।

चलचित्रको मुलकथा विपिनको वरिपरि घुम्ने बताइएको छ । यसवर्षको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि उनले कुनै नयाँ फिल्म साइन गरेका थिएनन् । यद्यपि, उनको पाइपलाइनमा ‘परी’ र ‘फनफनी’ छन् । अब यी दुई चलचित्र उनले ‘सेल्फी किङ’ भ्याएपछि गर्नेछन् । निर्माण टिमले फिल्मको विषयवस्तु गोप्य राखेको छ ।

कमेन्ट गर्नुहोस्