वडाध्यक्षको ५ वर्षको तलब दलित समुदायलाई

मुगु, साउन २० । छायाँनाथ रारा नगरपालिका–४ का वडा अध्यक्षले पाँच वर्षसम्मको पारश्रमिक दलित समुदायलाई वितरण गर्ने भएका छन् । उनले नगरपालिकाका १४ वटै वडाका दलित समुदायलाई आफ्नो ५ वर्षको तलब बाड्ने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी २९ वर्षीय वडा अध्यक्ष विष्णबहादुर भामले निर्वाचित भएदेखि पाँच वर्षसम्म पारश्रमिक दलित समुदायको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा लगानी गर्न बताएका हुन्।

आफ्नो ५ वर्षे कार्यअवधिमा मासिक २० हजारका दरले हुन आउने १२ लाख नगरपालिकाका १४ वडाका ३६ दलित बस्तिहरुका बालबालिका, महिला, अपाङ्ग, एकल, गरिव व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र जिविकोपार्जनमा खर्च बताए ।

उनले सोही रकमबाट सोमबार छायाँनाथ रारा नगरपालिका–५ लुवारवाडामा रहेका १ सय २५ घरधुरी दलित परिवारलाई ४० हजार बराबरको खाने तेल वितरण गरेको वडा कार्यलयले बताएको छ । उनले प्रति घर ४ पाकेटको दरले तेल वितरण गरेका थिए ।

पहिलो चरणमा ४ लाख २० हजार वडा नम्बर १ देखि ५ सम्मका दलित समुदायका बालबालिका र अविभावकहरुलाई लक्षित गरी शैक्षिक सामग्री, सरसफाई र व्यक्तिगत आवश्यक सामान वितरण गरिने वडा अध्यक्ष भामले बतएका छन्।

नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका भाम २० वर्षमा वन उपभोक्ता समितिको अध्यक्ष भएका थिए ।

कमेन्ट गर्नुहोस्