धोनीपछि निशानामा ऋषभ पन्त, तेस्रो खेलमा पन्तको स्थानमा राहुल आउन सक्ने

नयाँ दिल्ली । भारत र वेष्ट इण्डिजविरुद्ध भइरहेको टी–२० सिरिजमा नराम्रो प्रदर्शन गरेको भन्दै ऋषभ पन्तको आलोचना भएको छ ।

पूर्व कप्तान महेन्द्र सिंह धोनीका उत्तराधिकारी (चेला)का रुपमा समेत चिनिने ऋषभले दुईवटा खेलमा खासै खेल्न सकेका थिएनन । सिरिजको पहिलो खेलमा उनी पहिलो बलमैं आउट भएका थिए । दोश्रो खेलमा भने ऋषभले ५ बलमा ४ रन जोडेर आउट भएका थिए ।

यद्यपी विकेट कीपरको भूमिकामा भने ऋषभ पन्तको भूमिका उत्कृष्ट रहेको छ । तर ऋषभलाई धोनीकै कारण यो सिरिजमा राखिएपछि उनलाई हटाउन मौका मिलेको चर्चा कतिपयले गरेका छन् ।

त्यसैले टिप्पणीकारहरुले अब चौथो नम्बरमा लोकेश राहुल आउने सम्भावना व्यक्त गरेका छन् । लोकेश राहुल आएको खण्डमा ऋषभ प्लेइङ ११ मा समेत नपर्न सक्ने सम्भावना बलियो बनेको छ । पछिल्लो विश्वकपमा भने पन्तले राम्रो प्रदर्शन गरेका थिए ।

भारतको उत्तराखण्ड मूल निवासी ऋषभ पन्तले महेन्द्र सिंह धोनीलाई गुरु मान्दै आएका छन् । दुई वटा खेल हारेको वेष्ट इण्डिजले घरेलु मैदानमा हुने तेश्रो खेलमा रणनीति परिवर्तन गरेर जीत हासिल गर्न सक्ने सम्भावनाबीच ब्याटिङमा लय ल्याउन सक्ने खेलाडीलाई समावेश गर्नुपर्ने दबाब भारतका सामु छ । यो अवस्थामा पन्तलाई उनको खराब प्रदर्शन देखाउँदै नखेलाउने सम्भावना बढेको हो ।

खेलमा रोहित शर्मा भने शीर्ष स्कोररका रुपमा छन् । भारतले ३ खेलको सिरिजमा पहिलो खेल ४ विकेट र दोश्रो खेल डकवर्थ लुईस नियमका आधारमा २२ रनले जितेको हो । अब भने जमैकाको लौडरहीलमा अन्तिम खेल हुने छ ।

कमेन्ट गर्नुहोस्