बाग्लुङको तमानखोलामा पहिरोले घर पुरिँदा तीनको मृत्यु

काठमाडौं, साउन २१ । बाग्लुङको तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि आइतबार राति १ बजेतिर आएको पहिरोले पुरिएर पञ्चकुमारी सिर्पाली, असरी सिर्पाली र प्रवीण सिर्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रवीण र असरी एउटै परिवारका सदस्य हुन् ।

पहिरोमा परी सातजना घाइते भएका छन् । घाइते हुनेमा ओमबहादुर श्रीपाली, सुनीता श्रीपाली, अनिल श्रीपाली, राम श्रीपाली, कमल श्रीपाली, चित्रादेवी श्रीपाली र अन्सरा श्रीपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिए । घाइतेमध्ये ओमबहादुर, अनिल र रामको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत थप उपचारका लागि पोखराको गण्डकी हस्पिटल लगिएको छ । अन्यको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट गएको डाक्टरहरूको टोलीले लाममेला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गरिरहेको तमान स्वास्थ्यचौकीका अहेब चन्दन शाहले जानकारी दिए ।

पहिरोले शिवपुरीमा ६ घर पूर्ण रूपमा र नौवटा घर आंशिक रूपमा क्षति भएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए । पहिरोले थिचेर स्थानीय देवेन्द्र श्रीपालीको दुईवटा भैँसी र चारवटा बाख्रा मरेका छन् । अधिकांश स्थानीय घरमा नबसेकाले ठूलो जनधनको क्षति हुनबाट जोगिएका प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

दुई सय मिटर लोकमार्ग बगायो
तुरतुरे ताल फुटेपछि तालनजिकैको करिब दुई सय मिटर मध्यपहाडी लोकमार्ग बगाएको छ । सडक बगाएपछि मध्यपहाडी लोकमार्गको बाग्लुङ–बुर्तिबाङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्लाको पश्चिम बडीगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिकालगायतका नागरिक यातायात सेवाबाट वञ्चित भएका छन् । खोलाको किनार हुँदै गएको लोकमार्गको केही भाग भत्किएर यातायात अवरुद्ध भएको हो ।

तुरतुरे ताल फुट्यो
आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पश्चिममा बनेको कृत्रिम ताल तुरतुरे फुटेको छ । बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान फुटेको हो ।

खोलामा पानीको बहाव तीव्र रूपमा बढेपछि रातिदेखि नै प्रहरीले बाग्लुङ र गुल्मीको तटीय बस्तीमा सावधानी अपनाउन आग्रह गरेको थियो । तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए । ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको बडीगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्