पुडासैनीको आत्महत्याबारे अनुसन्धान शुरु, वास्तविकता पत्ता लगाउन कुनै कसर बाँकी नराखिने- एसपी मल्ल

चितवन, चितवनको पोखरा बसपार्कस्थित एउटा होटलको कोठामा झुण्डिएको अवस्थामा सञ्चारकर्मी शालिकराम पुडासैनीको शव फेला परेपछि बिभिन्न अड्कलबाजी हुन थालेका छन् ।

हाल माउण्टेन टेलिभिजनका कार्यरत पत्रकार पुडासैनी निकटहरुले पुडासैनीको स्वभाव आत्महत्या गर्ने प्रकृतिको नभएको बताइरहेका छन् । सोमबार राती ८ बजेतिर नारायणगढको पोखरा बसपार्क स्थित होटल कङ्गारुमा पुडासैनी पंखामा झुन्डिएको अवस्थामा पाइएका थिए ।

सोमबार दिउँसो चितवन आएर उक्त होटलमा बसेका थिए ।होटलका कर्मचारीले साँझ खाना खान बोलाउन जाँदा नउठेपछि प्रहरीलाई खबर गरेका थिए।

आत्महत्याबारे बिभिन्न कोणबाट चर्चा चलिरहेको बेला चितवन प्रहरीले भने घटनालाई उच्च गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको छ । “अहिले फरेन्सिक र अनुसन्धानको टोली घटनास्थलमा छ ।” चितवनका एसपी दान बहादुर मल्लले एभरेष्टदैनिकसँग भने, “परिवारका सबै सदस्य आएपछि हामी डोरीबाट लास झिकेर पोष्टमार्टमका लागि पठाउँछौं ।”

याे पनि पढ्नुस  रविविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

अहिले घटनास्थलमा प्रहरी, फरेन्सिक र अनुसन्धानको टोली, सरकारी वकिल कार्यालय र प्रशासन कार्यालयका मानिस रहेको उनले बताए । “हत्या या आत्महत्या के हो भन्ने कुरा अनुसन्धानबाट थाहा हुन्छ । बाहिरबाट हेरेकै भरमा अहिले हामीले राय दिन मिल्दैन ।” मल्लले भने, “परिवारका सबै सदस्यको रोहबरमा लास उठाएपछि पोष्टमार्टमसँगै सबै कोणबाट अनुसन्धान गर्छौं । घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको र वास्तविक तथ्य अनुसन्धानपछि खुल्ने छ ।”

याे पनि पढ्नुस  रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न निवेदन

पुडासैनीको शव अहिले पंखामा झुण्डिएको अवस्थामा छ । ढोकाबाट हेर्दा उनको पछाडिको भाग मात्रै देखिन्छ भने दायाँ खुट्टा खाटमा टेकिएको जस्तो देखिन्छ । यद्यपी त्यस आधारमा मात्रै हत्या र आत्महत्याबारे भन्न नसकिने प्रहरीले जनाएको छ ।

भित्रबाट झ्याल र ढोका सबै बन्द गरेर बसेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । होटल स्टाफले ढोका नखोल्दा प्रहरीलाई खबर गरेको र प्रहरीले ढोका फोडेर भित्र हेरेको अवस्था देखिएकोले प्रारम्भिक चरणमा आत्महत्या नै गरेको अवस्था देखिने प्रहरीको ठम्याई छ । तर आत्महत्या नै गरेको भए के कति कारणले गरेका रहेछन् र त्यसका लागि उनी चितवन नै किन गए भन्ने प्रश्न भने अनुत्तरित नै छ ।

याे पनि पढ्नुस  शालिकराम पुडासैनी आत्महत्याः दुनियाँलाई रमिता, बा-आमालाई झन् पीडा

एसपी मल्लले चितवनको सदरमुकाम जस्तो संवेदनशील ठाउँमा घटना भएको बताउँदै प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताए ।

होटल कर्मचारीका अनुसार पुडासैनी सोमबार साढे ३ बजे होटल पुगेका थिए । त्यसपछि उनी दुई पटक होटलबाट बाहिर गएर होटल फर्किएका थिए।

कमेन्ट गर्नुहोस्