कर्मचारीले पाउँदै आएको असाधारण विदा काट्नुपर्ने प्रस्ताव

काठमाडौं, साउन २१ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद झपटबहादुर रावलले निजामती कर्मचारीले पाउँदै आएको असाधारण विदा काट्नुपर्ने प्रस्ताव गरेका छन्। संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा मंगलबार संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद रावलले असाधारण विदा दिने व्यवस्था हटाउनुपर्ने प्रस्ताव गरेका हुन्।

उनले भने, ‘असाधारण विदा दिने व्यवस्था खारेज गरौँ। असाधारण विदा हाकिम वा मन्त्रीको तजबिजीमा दिइने भएकाले यो हटाउनुपर्छ। यो आवश्यक छैन, हटाउनुपर्छ।’ यस्तो विदा लिने हाकिमसँग पहुँच भएका तथा मन्त्री एवम् राजनीतिक पहुँच भएकाले मात्रै पाउने भएकोले यसको दुरुपयोग भइरहेको पनि उनको तर्क थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले उक्त विदा अध्ययनमा उपयोग भइरहेको जवाफ दिएका थिए। उनले निजी खर्चमा विदेशमन अध्ययन गर्न जानेलाई उक्त विदा दिइने अभ्यास रहेको प्रष्ट पारेका थिए। उनले यो विदाले राज्यलाई घाटा नलाग्ने भनाइ राखेका थिए। त्यसबाट पनि असन्तुष्ट रहेका सांसद रावलले असाधारण विदा अध्ययन गर्न जाने भए त्यो स्पष्ट लेख्नुपर्ने धारणा राखेका थिए।

कहाँ, के प्रयोजनका लागि हो भन्ने स्पष्ट व्यवस्था गर्नुपर्ने कुरा विधेयकमा लेख्न धारणा राखेका थिए। समिति सभापति शशी श्रेष्ठले कुनकुन अवस्थामा असाधारण विदा दिने हो भन्ने स्पष्ट लेखेर ल्याउन मन्त्रालयलाई निर्देशन दिएकी छन्।

कमेन्ट गर्नुहोस्