अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध

डोटी, साउन २१ । गए रातिदेखि परेको लगातारको वर्षाका कारण स्याउले–दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ ।

सो राजमार्गको डाँडा वनमा सडक माथिबाट ठूलो पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिए । सडक अवरुद्ध भएपनि अहिले सो ठाउँमा तराईबाट दिपायल आउने तथा दिपायलबाट तराई जाँदै गरेका दजर्नौँ सवारी साधन तथा यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि डिभिजन सडक कार्यालय कुल्पाते दिपायलबाट डोजर पठाइएको बताइएको छ । डोटीसहित सुदूरपश्चिम भरीमा गए रातिदेखि ठूलो वर्षा भइरहेको छ । अवरुद्ध भएको राजमार्ग खुलाउन प्रहरी, स्थानीयवासी, यात्रु तथा सडकमा खटिएका कर्मचारी बिहानदेखि लागि परेपनि पहिरो ठूलो भएकाले खुलाउन नसकिएको प्रहरीले जानकारी दिएको छ । रासस

कमेन्ट गर्नुहोस्