सातदोबाटो–लगनखेल सडक आधा सम्पन्न

काठमाडौँ, साउन २१ । ठेक्का समझौताको अवधि सकिएर थप भएको अवधिसम्म लगनखेल–सातदोबाटो सडक निर्माण आधामात्रै सकिएको छ ।

ललितपुर जिल्लाकै सबैभन्दा बढी सवारी चाप हुने सडकमध्ये सो सडक विस्तारको काम अलपत्र पर्दा चालक र यात्रु हैरान भएका हुन् । यहाँका बासिन्दाले घर र जग्गाको मुआब्जा माग गरेका कारण सडकमा ५० प्रतिशतभन्दा बढी काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

स्थानीयवासीले मुआब्जाको माग गर्दा सडक निर्माण अघि बढाउन नसकिएकामा अहिले त्यो समस्या समाधान गर्दै कामअघि बढाइएको आयोजनाका इञ्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए । मुआब्जा विवादसँगै सडकमा रहेका पूर्वाधारले पनि काममा बाधा पुर्याइरहेको छ । उनले भने, “ठेकेदारले चाहेर पनि सरासर काम गर्ने वातावरण थिएन ।” सडक निर्माणका क्रममा सडकमा रहेका खानेपानी, ढल, विद्युत्का पोललगायत संरचना अवरोधका रुपमा रहेकाले पटकपटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो इञ्जिनियर श्रेष्ठले बताए ।

त्यस्तै लगनखेलस्थित बटुकभैरव मन्दिरको पर्खाल भत्काउने–नभत्काउने भन्ने विवादले पनि सडक विस्तार अघि बढाउन नसकिएको जानकारी दिँदै उनले भने, “सडक सम्पन्न गर्नुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम ठप्प छ । उक्त सडक निर्माणका लागि पहिलोपटक ठेक्का वि.सं २०७३ जेठमा शुरु भएको थियो । पहिलो पटकको ठेक्का सम्झौताअनुसार विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले अवधि थपेको थियो ।

अहिले थपिएको अवधिमा पनि काम अघि नबढेको उनले बताए । काठमाडौँ उपत्यकाभित्र विभिन्न सडक विस्तारको काम शुरु भएको चार वर्षभन्दा बढी भइसक्दा पनि प्राय कुनै पनि सडक पूरा भएको छैन । रासस

कमेन्ट गर्नुहोस्