अब गैर हिन्दूले लिन पाउने भए मृत्यु संस्कार बिदा, यस्ताे भयाे सहमति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको आजको बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिएका थिए ।

सांसदहरुले राष्ट्रसेवकका लागि बिदा अधिकार नभई सहुलियत भएकाले यसलाई सोहीअनुसार लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

बैठकमा विधेयकमा भैपरी आउने, पर्व र घर बिदा, प्रसूति, प्रसूति स्याहार, बिरामी र अध्ययन, असाधारण, बेतलबी बिदा लगायत सम्बन्धमा पनि छलफल भएको थियो ।

समितिका सभापति शशी श्रेष्ठको सभापतित्वमा भएको बैठकमा सांसदहरु खगराज अधिकारी, दिलेन्द्रप्रसाद बडू, यशोदा गुरुङ, पम्फा भुसाललगायतले विधेयकका व्यवस्था सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्