भीमदत्त नगर जलमग्न, बनबसा पुल बन्द (फोटो फिचर)

भीमदत्तनगर, साउन २१। सोमबार रातिदेखि परेको अविरल वर्षाले कन्चनपुरमा डुबानको समस्या देखा परेको छ। यसका साथै महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत जोड्ने बनबसा पुलमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पुलमा भारतीय पक्षले मंगलबार बिहानैदेखि चार पाङग्रे सवारी साधनलाई आवतजावतमा रोक लगाएको हो।

प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्युसेक पुगेको छ। पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइएपछि यात्रुहरु समस्यामा परेका छन्।पहाडी जिल्लामा वर्षा नरोकिएकाले अझै नदीमा पानीको बहाव बढ्न सक्ने प्रहरीको अनुमान छ।

त्यसैगरी, वर्षाका कारण भीमदत्त नगरपालिकाका ऐठपुर, वनखेत, सालघारी र बजार क्षेत्रको केही भाग डुबानमा परेको छ।

उत्तरबाट आउने खहरे खोलाको पानीको निकास नहुनाका साथै बजार क्षेत्रमा ढलको निकास नहुँदा केही भाग डुबानमा परेको हो।

भीमदत्त नगरपालिका क्षेत्रका कतिपय वडा जलमग्न भएका छन्। पानीको निकास हुन नसक्दा भीमदत्तनगरका ४,१८,१७,२,६ का कतिपय बस्तीमा २ देखि ३ फिटसम्म पानी जमेको छ। यस्तै ४ नम्बर वडाको बजार क्षेत्र बढी प्रभावित भएको छ।

(तस्बिर सौजन्य: मोहन बिष्ट)

 

कमेन्ट गर्नुहोस्