महिला कामदारका धेरै गुनासो आएपछि दूतावासले बन्द गर्यो मागपत्र प्रमाणीकरणको काम

रियाद,साउन २१ ।साउदीअरब स्थित नेपाली दूतावासले तत्कालका लागि महिला कामदारको मागपत्र प्रमाणीकरण सम्बन्धि कार्य बन्द गरेको जानकारी दिएको छ ।

मंग्लवार एक सूचना जारी गर्दै दूतावासले वैदेशिक रोजगारीको लागि साउदीअरव पुगेका नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको,आवास सुविधा मानवीय नभएको लगायतका विषयमा नेपाली राजदूतावासमा बारम्बार गुनासो दिएपछि दूतावासले साउदी अरवका विभिन्न स्थानमा रहेका आधादर्जन भन्दा बढी स्थानहरुमा कार्यरत नेपाली महिला कामदारहरुको सर्वेक्षण गरेको बताएको छ।

सर्वेक्षणका क्रममा पारिश्रमिक कम पाएको, समयमा महिला सम्बन्धी रोगको औषधि उपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्र भन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसंग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिंदा नलिएको, पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जांदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको पसलमा महंगोमा समान खरीद गर्न बाध्य बनाएको, २ तहभन्दा वढी कम्पनीमा आपूर्ति गर्ने गरी रिक्रुट गरेको लगायतका समस्याहरु नेपाली महिला कामदारहरुमा देखिएपछि नयाँ महिला कामदारको मागपत्र रोक्नुपरेको दूतावास द्वारा जारी सुचनामा उल्लेख छ।

सर्वेक्षणमा विशेषगरी सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा काम गर्ने महिलाहरुको समस्या र गुनासो धेरै रहेको दूतावासले बताएको छ ।

कमेन्ट गर्नुहोस्