देशभरका ठूला अस्पतालकै प्रयोगशाला न्यूनस्तरका

काठमाडौं, साउन २२ । देशभरका नाम चलेका ठूला अस्पतालकै प्रयोगशाला न्यूनस्तरका रहेको पाइएको छ । सबै अस्पतालका प्रयोगशालालाई वर्गीकरणमा आउन सूचना जारी गरे पनि न्यूनस्तरको रहेकाले वर्गीकरणमा आउन नचाहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

वर्गीकरण नगरेका प्रयोगशाला अनधिकृत हुने भएपछि उनीहरू दबाबमा परेको केन्द्रीय प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए । सरकारले जुनस्तरको सेवा छ, त्यहीअनुसार वर्गीकरण चिठी दिने भएपछि अस्पतालहरूले पत्र बुझ्न अस्वीकार गरेको उनले बताए ।

स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका, २०७३ ले वर्गीकरणको व्यवस्था गरेको छ । सोही निर्देशिकाका आधारमा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले वर्गीकरणका लागि प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल मेडिसिटी अस्पताल र केही डायग्नोस्टिक सेन्टर मात्रै ए समूहमा परेका छन् । अधिकांश सी समूहमा परेका छन् । उनीहरूले बी समूहमा राखिदिन दबाब दिएको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । ‘धेरै अस्पतालका प्रयोगशाला सी र डी समूहमा छन् । उनीहरू लजाएर वर्र्गीकरणमा आउन चाहेका छैनन्,’ प्रयोगशालाकी निर्देशक डा। रुणा झाले भनिन्, ‘काठमाडौं मोडल अस्पतालले पनि वर्गीकरणका लागि निवेदन दिएको थियो, तर सी समूहमा राख्न उपयुक्त देखियो । उसले बी मागेर वर्गीकरण स्वीकार गरेन ।’

ए समूहमा नेपाल मेडिसिटी अस्पताल, नेसनल रिफ्रेन्स ल्याब्रोटरी, सूर्य डायग्नोस्टिक, सेन्टर डायग्नोस्टिक ल्याब्रोटरी परेका छन् । बी समूहमा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, बयोधा अस्पताल, बिरगञ्जको तराई अस्पताल, स्टार अस्पताल छन् । सी समूहमा पोलिक्लिनीकहरू रहेका छन् । केन्द्रिय प्रयोगशालाका सुचना अधिकारी गुप्ताले ढिलो चाडो सबै वर्गिकरणमा आउनै पर्ने बताए । हालसम्म कुनै पनि मेडिकल कलेजहरूले निवेदन दिएका छैनन् ।

कुन समूहमा कति परे
ए समूहः ७
वी समूहः २९
सी समूहः १९६
डी समूहः ५९

ए र बी समूहका स्वास्थ्य प्रयोगशाला निरीक्षण

-सय भन्दा बढि मासिक ‘बायोप्सी’ भएका प्रयोगशालाको आफ्नै हिस्टोप्याथोलोजी सुविधा र प्याथोलोजिष्ट हुनुपर्ने छ ।
-प्राविधिक सुपरभाइजर र रिपोर्ट प्रमाणित गर्ने व्यक्ति ३ बर्ष (बी समूह) र ५ बर्ष (ए समुह) अनुभव भएको ।
-आइसीयूमा माइक्रोबायोलोजी परिक्षणको सुविधा र माइक्रोबायोलोजिष्ट हुनुपर्छ ।
-सी र डी समुहको प्रयोगशालाले आफू कहाँ नहुने कुनै परीक्षणको लागि नमूना संकलन गरी रिफरल प्रयोगशालाको मान्यता प्राप्त बी र ए समुहको प्रयोगशालामा पठाउन सक्नेछ । तर सो परिक्षण बी र ए समुहको प्रयोगशालाले देश भित्रकै आफ्नो मुख्य प्रयोगशाला वा आफ्नो कुनै शाखामा गर्न सक्ने हुनुपर्छ ।

कस्ता ल्याबलाई कति चाहिन्छ क्षेत्रफल ?

-प्रयोगशालाको क्षेत्रफल बी समूहको हकमा एक हजार र ए समूहको हकमा दुई हजार स्क्वायर फिट अनिवार्य हुनुपर्छ ।
-डी समूहका लागि न्यूनतम २५० र सी समूहका लागि ४०० स्क्वायर फिट एरिया हुनुपर्नेछ ।
-ई समूहका लागि १५० स्क्वायर फिट एरिया, तर यो सरकारी स्तरमा हेल्थपोस्टमा आधारित हुनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्