धनगढी–अत्तरिया निर्माणाधिन ६ लेन सडकमा २ दिनमा २ जनाको मृत्यु

काठमाडौं, साउन २२ । मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी–अत्तरिया खण्डमा सवारी दुर्घटना हुँदा दुई दिनमा दुई जनाले ज्यान गुमाएका छन्। सोमवार र मंगलवार भएका छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गएको हो। सोमवार निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक अन्तरगत कैलालीको गेटामा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको थियो।

अटो रिक्सा र जीप एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी घाईते भएका अटोमा सवार धनगढी उप–महानगरपालिका १७ का ५६ वर्षीय चनकलाल डगौराको उपचारका क्रममा मृत्यु भएको थियो। ६ लेन सडक खण्डको गेटामा से १ च ८२३ नम्बरको जीप र ना ३ स ५५६६ नम्बरको अटो रिक्सा एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो।

यस्तै मंगलवार राती भएको दुर्घटनामा परि थप एक जनाको मृत्यु भएको छ। धनगढीबाट अत्तरिया गईरहेको मोटरसाईल र अत्तरियाबाट धनगढी आईरहेको मोटरसाईकल एक आपसमा ठोक्किदा एक जना मोटरसाईकल चालक ट्रकमा च्यापिएपछि उनको मृत्यु भएको हो। धनगढीबाट अत्तरिया गईरहेको से ७ प १४६८ नम्बरको मोटरसाइकलका चालक धनगढी उप–महानगरपालिका वडा नम्वर १ का सुरज कुँवरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते उनको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको ना ७ ख ११५७ नम्बरको ट्रकलाई सोही दिशा तर्फ गईरहेका मृतक कुँवरको मोटरसाईकलले ओभर टेक गर्न खोजेको र सोही क्रममा विपरित दिशातिर आईरहेको से ५ प १४१८ नम्बरको मोटरसाइकलसंग ठोक्किएपछि कुँवर ट्रकमुनि खसेका थिए।

यो संगै सडकको निर्माण सुरु भएदेखि सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको सङख्या आँठ पुगेको छ। २०७४ मंसिर ५ गते धनगढी उप–महानगरपालिका १३ राजपुरमा धनगढीबाट नेपालगञ्ज जादै गरेको ना।४ ख ३३३९ नम्बरको भाडाको बसले साईकल यात्रुलाई ठक्कर दिदा कञ्चनपुर गुलरीयाका ३० बर्षिया सञ्जिव राजीको ज्यान गयो। २०७४ को पुष २७ गते सेती–महाकाली ट्रक व्यवसायी समितिको कार्यालय अगाडी दुर्घटना भयो र धनगढी उप–महानगरपालिका ४ का भुपेन्द्र रावतको मृत्यु भयो। २०७५ साल बैशाख १६ गते बोराडाडी आर्मी व्यारेक नजिक धनगढीबाट अत्तरिया जादै गरेको मोटरसाईकल दुर्घटना हुँदा धनगढी ४ का २७ बर्षिय अशोक पाण्डेको मृत्यु भएको थियो भने कार्तिक २ गते मोहनपुरमा मोटरसाईकल दुर्घटना हुँदा सागर चौधरीको मृत्यु भयो।

यसै बर्ष बैशाखमा धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भयो। अन्य दर्जनौ दुर्घटनामा परि सय भन्दा बढि घाईते भएका छन्। आयोजना कार्यालयको लापरबाही, निर्माण कम्पनीको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण ६ लेन सडक ज्यानमारा बन्दै गएको आरोप स्थानीयको छ। गत जेठमै निर्माण सम्पन्न गर्नुपर्ने १४ किलोमिटर दुरीको उक्त सडकमा अहिले सम्म आधा काम पनि सम्पन्न हुन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्