बजारको आधा सुन तस्करीबाट आपूर्ति

काठमाडौँ, साउन २२ । गृह मन्त्रालयले आव २०७५–०७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल तोड्न सफल भएको घटनालाई महत्वपूर्ण उपलब्धि मानेको छ ।

हप्ता दिनअघि सार्वजनिक प्रगति विवरणको महत्वपूर्ण उपलब्धि सुन तस्करीको सञ्जाल तोडिएको गृहको दाबी सेलाउन नपाउँदै गोरखाको उत्तरी क्षेत्र धार्चेस्थित खोर्लाबास ओडारमा लुकाइराखेको १६ किलो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानथस्लबाट ४ किलो अवैध सुन बरामद भएको छ । यी दुई घटनाले सुन तस्करको जालो अपत्यारिलो ढङ्गले जरा गाडेर बसेको स्पष्ट हुन्छ ।

अपराध अनुसन्धान विश्लेषक एवं पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी सुन तस्करीमा नेपालको भूमि र भरियामात्र प्रयोग हुने गरेको बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा आयात भएको ३३ किलो सुनकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सुन भरियाको एउटा सञ्जाल भत्काए पनि अन्तर्राष्ट्रिय सुन तस्कर, बेपत्ता ३३ किलो सुन र मालिकको पहिचान गर्न नसक्दा अपराधीको मनोबल बढेको छ । यही साउन ९ गते गोरखाको धार्चेमा १६ किलोसहित स्थानीय खच्चड व्यापारी धनकमल गुरुङ र २० गते आइतबार विमानस्थलबाट चार किलो अवैध सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । यी घटनामा अन्तर्राष्ट्रिय तस्करको संलग्नता देखिन्छ ।

सेटिङ नभए पक्राउ

शान्ति सुरक्षाको दृष्टिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित तथा संवेदनशील भएपनि सुरक्षाकर्मी र कर्मचारीकै मिलेमतो (सेटिङ)मा अवैध सुन आयात हुने गरेको पाइन्छ । तर, ३३ किलो सुनकाण्डपछि विमानस्थल सेटिङ सञ्जाल पनि भत्किएको कतिपयको भनाइ छ ।

नेपाल–चीन तातोपानी नाका २०७२ सालको भूकम्पका कारण अवरुद्ध भएपछि नेपाली सुन तस्करहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेटिङ’ मिलाएर सुन ल्याउने गरेका थिए । प्रहरी अधिकारीका अनुसार सुन तस्करहरूका लागि हवाईभन्दा स्थलमार्ग निकै सुरक्षित तथा उपयोगी हुने गरेको छ ।
सेटिङमा आएकोबाहेक सबै सुन बरामद गरिने गरेको दाबी नेपाल प्रहरीको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा गठित समितिले पनि विमानस्थलमा तैनाथ सुरक्षाकर्मी र विमान सेवाका कर्मचारीको मिलेमतोमा आउने अवैध सुनबाहेक सबै बरामद गरिने गरेकोे तथ्य सार्वजनिक गरेको छ ।

तस्करीका लागि विमानस्थल र तातोपानी नाका सुरक्षित हुन थालेपछि विकल्पकारूपमा रसुवाको केरुङ र गोरखाको छेकम्पार प्रयोग हुन थालेको पाइन्छ । २०६४ साल भदौमा केरुङबाट काठमाडौँ भित्रिएको एउटा गाडीबाट ८८ किलो अवैध सुन बरामद भएको थियो ।

‘केरुङबाट आउँदै गरेको एउटा गाडीमा सुन छ भन्ने सूचना आयो तर ८८ किलो भन्ने कुरा अपत्यारिलो जस्तै थियो’, नेपाल प्रहरीका पूर्व एआईजी जयबहादुर चन्दले भने, ‘सुन बरामद भयो तर मालिक भेटिएन र बजार भने छिमेकी मुलुक भारत रहेछ ।’ विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ नमिलेको अवस्थामा र भरियाहरूबीच नै कमिसनको लेनदेन नमिलेको अवस्थामा मात्र विशेष सुराकीका आधारमा प्रहरीले अवैध सुन बरामद गर्ने गरेको दाबी छ । अन्यथा सुन बरामद गर्न समस्या रहेको अनुभव चन्दको छ ।

आधामात्र वैधानिक आपूर्ति

अवैध सुन ओसारपसार तथा कारोबारका लागि नेपाल सुरक्षित मार्ग र बजार हो भन्ने कुरा विगतले देखाइसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहन सुनारका अनुसार अवैध सुनका कारण देशभरका करिब २२ हजार सुन व्यापारीलाई समस्या पारेको छ ।

त्यसमाथि सरकारले सुन आयात निर्यातमा एकद्वार नीति अपनाउँदा वैधभन्दा अवैध सुनले बजार पाएको भनाइ उहाँको छ । नेपाली बजारमा सुनको माग दैनिक ३० देखि ४० किलोसम्म छ तर सरकारले २० किलो मात्र ल्याउन दिने गरेको छ । मागभन्दा आधा मात्र वैधानिक तवरले आपूर्ति हुन्छ । यो तथ्याङ्कले पनि नेपालमा सुनको तस्करी व्यापक रहेको पुष्टि हुन्छ ।

सुनको माग बढेसँंगै आपूर्ति सहज नहुँदा अवैध सुनले बजार पाएको गुनासो व्यवसायीको छ । तर, नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला नेपाली बजारमा सुनको माग मूल्याङ्कन गरी प्रतिदिन २० किलो कोटा निर्धारण गरिएको बताउँछन् ।

सुन व्यापारी तथा व्यवसायीको सहजताका लागि वाणिज्य बैङ्कहरूबाट केन्द्रदेखि जिल्ला तहसम्म सुन बिक्रीका लागि अनुमति दिइएको छ । उनले भने, “व्यवसायीहरूबीचको आन्तरिक विवादका कारण समस्या आएको सुन्नमा आएको छ ।” सुनचाँदी व्यवसायीहरूका चारवटा सङ्घसंस्था छन् । ती सङ्घसंस्थाको सिफारिसमा व्यवसायी तथा व्यापारीहरूले बैङ्कबाट न्यूनतम एक सय ग्रामदेखि एक किलोसम्म सुन खरिद गर्न सक्ने कानुनी प्रावधान छ ।

अवैध सुनको बजार

विशेषगरी खाडी मुलुकबाट गरगहनाका रूपमा भित्रिने सुनको बजार नेपाल नै हो । बजारमा सुनको माग बढ्दै गएकाले अवैध सुनको आयात बढ्न थालेको हो । सुन व्यवसायीहरूका अनुसार नेपालमा कारोबार हुने ठूलै परिमाणको सुन अवैध भएको अनुमान छ ।

नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जन सुनको असहज आपूर्ति तथा आपूर्तिमा एकद्वार प्रणाली लागू हुँदा समस्या भएको बताउँछन् । ‘एउटा सामान्य व्यापारीले एक किलो सुन किन्न सक्दैनन्, टुक्रा टुक्रा पारी भागबन्डा गरी खरिद गर्नुपर्छ । यसो गर्दा सुनको मूल्य बढ्न गई उपभोक्ता मारमा पर्छन् । झन्झटिलो बजारका कारण अवैध सुनले प्रश्रय पाएको हो’, उनको भनाइ छ । वैधभन्दा अवैध सुन बजारमा बढी देखिन थालेको छ । विवाह, चाडबाड (सिजन)को समयमा अवैध सुन बढी आयात हुने गरेको छ ।

भारत भवसागर

वल्र्ड गोल्ड फाउन्डेसनका अनुसार भारत सुनको माग हुने विश्वको सबैभन्दा ठूलो बजार हो । धर्म, संस्कृति र संस्कारले पनि सुनप्रति बढी झुकाव राख्ने भएकाले भारतीय नागरिकले जन्मदेखि मृत्यु संस्कारसम्म सुन प्रयोग गर्छन् । फाउन्डेसनका अनुसार सन् २०१९ मा भारतमा सुनको माग ७५० टनदेखि ८५० टन पुगेको छ । ५३० टन त गरगहनामै प्रयोग हुन्छ । भारतको सुनको माग चीन र खाडी मुलुकहरूले पूरा गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय सुन तस्करले नेपालको भूमि प्रयोग गरी अवैध सुन भारत पठाउने गरेको पाइएको छ । युरोप, अमेरिका, बेलायत लगायतका विकसित देशमा भने सुनको तुलनामा हीरा, पत्थर, आभूषण बढी प्रयोग हुन्छ ।

कमिसनको चक्करमा भरिया

नेपाल–भारत दुइटै मुलुकमा सुनको व्यापार व्यवसाय गर्दै आएका सुन व्यापारीहरूले अवैध मार्ग प्रयोग गरी सुन ल्याउने गरेको पाइएको छ । उनीहरूको ‘कनेक्सन’ भारतको नयाँदिल्लीदेखि काठमाडौँसम्म हुने गरेको छ ।

खाडीका विभिन्न मुलुक दुबई, कतारका अतिरिक्त हङकङ, सिङ्गापुर, थाइल्यान्ड र चीनबाट नेपाल हुँदै भारतसम्म पुर्याउन नेपाली भरियाका रूपमा प्रयोग हुने गरेका छन् । त्यस्तै चीनबाट स्थल तथा हवाई मार्ग भई आउने अवैध सुन पनि भारत जाने गरेको छ ।

भरियाले एक किलो सुन भन्सार छली गरी सम्बन्धित स्थानमा पुर्याएबापत करिब ४ लाख रुपैयाँ कमिसन पाउने गर्छन् । खाडी मुलुकबाट ५० ग्राम बोकेर ल्याउँदा पाँच हजार रुपैयाँ फाइदा हुने गरेको छ । त्यस्तै चीनबाट अवैधरूपमा भित्रिएको ठूलो परिमाणको सुन भारतसम्म पुर्याए बापत आठ लाख भारु पाउने भएकाले नेपालीहरू भरियाका रूपमा प्रयोग हुने गरेका छन् ।

पचास ग्राममा लाग्दैन शुल्क

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार ५० ग्रामसम्म सुनका गरगहनामा महसुल लाग्दैन । ५० भन्दा माथि एक सय ग्रामसम्मका गरगहना भएमा प्रति १० ग्राम बराबर सात हजार दुई सय रुपियाँ भन्सार महसुल लाग्छ ।

त्यस्तै ढिका भएमा ५० ग्रामको छ हजार, २५० ग्रामभन्दा माथि भएमा प्रति १० ग्राम सात हजार दुई सय रुपैयाँ महसुल तोकिएको छ । एक सय ग्रामभन्दा बढी सुनको गहना तथा ढिक्का पैठारी गरेमा बढी भएको जफत हुने कानुनी व्यवस्था छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्