विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा

काठमाडौं, साउन २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलअन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। नेपाली टोलीका प्रशिक्षक योहान कालिनले यसअघि बन्द प्रशिक्षणमा रहेका ३६ खेलाडीबाट मंगलबार ३१ खेलाडी छनोट गरेका हुन्। नेपाली टोलीले विश्वकप छनोटका लागि दुई महिनादेखि तयारी गरिरहेको छ।

यसअघि प्रशिक्षणमा रहेका पाँच जना खेलाडी बाहिरिएका छन्। बाहिरिने खेलाडीहरूमा कमल श्रेष्ठ, नीतिन थापा, सेसेहाङ आमदङ्गे, अमित तामाङ र मिक्चेन तामाङ रहेका छन्। विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा नेपालसहित विश्वकप खेलिसकेका अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्। दोस्रो चरणको छनोट खेल सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ तारिखसम्म हुनेछ ।

याे पनि पढ्नुस  टी–२० विश्वकप छनोटः हङकङविरुद्ध ओमानको शानदार जित

नेपालले छनोटको पहिलो खेल सेप्टेम्बर ५ तारिखमा कुवेतसँग खेल्नेछ। होम एन्ड अवेका आधारमा खेलिने छनोट खेलमा नेपालको दशरथ रंगशालाको निर्माण कार्य नसकिएकाले नेपालले दुवै खेल कुवेतमा खेल्ने तयारी गरेको छ। कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ तारिखमा उसैको मैदानमा खेलिने एन्फाले जनाएको छ। नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ।

याे पनि पढ्नुस  विश्वकप छनोटः चाइनिज ताइपेईविरुद्ध नेपाल १–० ले अगाडि

नेपालले चाइनिज ताइपेईसँग सन् २०२० मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ मा दशरथ रंगशालामा खेल्नेछ। समूह चरणको अन्तिम खेल नेपालले अस्ट्रेलियासँग अक्टोबर १० तारिखमा उसैको मैदानमा र सन् २०२० को मार्च ३१ तारिखमा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ। एसियाली फुटबल महासंघ (एएफसी) ले दोस्रो चरणको छनोटमा सहभागी एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन्। तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउनेछन्। अन्नपूर्ण पोष्ट् दैनिकबाट

कमेन्ट गर्नुहोस्