विवाहको खर्च कलेज र पुस्तकालयलाई सहयोग

काठमाडौं, साउन २२ । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता नरेश रेग्मी र डा. क्षमता सुवेदीले बिहेबाट बचेको पैसा छात्रवृत्ति र अपांगता भएका व्यक्तिलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार उनीहरुले प्रगतिशील बिहे गरेका थिए । दाङ तुलसीपुरका रेग्मी साविक माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् भने झापा दमककी सुवेदी क्रान्तिकारीकी समर्थक हुन् । उनीहरुले मैनबत्ती बालेर विवाह गरेका थिए ।

याे पनि पढ्नुस  बुबाको पूण्यतिथिमा खाद्यान्न सहयोग

उनीहरुले झापाको दमक बहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थी, झापाकै दमक अपाङ्ग सहयोग समिति र झापाकै बाल-वृद्ध आश्रमका लागि ५०-५० हजार नगद दिने घोषणा गरे । झापाकै माओवादी अध्ययन केन्द्रको पुस्तकालय र सार्वजनिक पुस्तकालयलाई १०-१० हजार बराबरका पुस्तक दिने घोषणा पनि विवाह समारोहबाट गरिएको छ ।

याे पनि पढ्नुस  नेकपा बागलुङद्वारा जनगायक शर्माका छोरालाई एक लाख सहयोग

अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको विवाह समारोहमा वर(वधुलाई बधाई दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेतृ पम्फा भुसाल, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल लगायतका नेता-कार्यकर्ताहरु पेरिसडाँडा पुगेका थिए ।

प्रगतिशील मान्यताअनुसार विवाहको मूल कर्म करिब ५ मिनेटमा सकिन्छ । मञ्च अगाडिको टेबलमा तीनवटा मैनबत्ती राखिएको हुन्छ । बीचको मैनबत्ती ठूलो हुन्छ । शुरुमा छेउँछेउँका एक-एकवटा मैनबत्ती वर र वधुका अभिभावकले सल्काउँछन् । त्यसपछि आ-आफ्ना अभिभावकले सल्काएको मैनबत्तीबाट वर-वधु दुवैले एकैसाथ बीचको ठूलो मैनबत्ती बाल्छन् । विवाह समारोहमा उपस्थित दर्शकले ताली बजाउँछन् । अनि वर(वधुले एकअर्कालाई फूलको माला लगाइदिन्छन् र प्रगतिशिल बिहे सकिन्छ ।

कमेन्ट गर्नुहोस्