विप्लवका केन्द्रीय सदस्य अटलसहित तीनजना पक्राउ

रुकुम, साउन २२ । रुकुम पश्चिमबाट सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य श्यामबहादुर बोहरा ‘अटल’ सहित तीनजना पक्राउ परेका छन् ।

उनीसँगै अनेरास्ववियु क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक हरि पुन र सहसंयोजक प्रेम प्रशान्त बोहरा पनि पक्राउ परेका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ मुरुबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

केही दिनयता रोल्पा सल्यान र रुकुम पश्चिमको सीमानाका र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका क्षेत्रमा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताले चन्दा माग गरेको सूचना प्रहरीलाई आएको थियो। त्यही सूचनाका आधारमा गस्तीमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु तीनैजनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरी प्रमुख सुमित खड्काले बताए ।

कमेन्ट गर्नुहोस्