बेवारिसे झोलामा एक लाख नगदसहित साढे पाँच लाखको चेक भेटियो

बैतडी, साउन २२ । बैतडीमा बेवारिसे झोलामा एक लाख रुपैयाँ नगदसहित साढे पाँच लाख रुपैयाँको चेक भेटिएको छ ।

जिल्लाको सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाको मुसे–नाचनथलीको जयपृथ्वी मार्गमामा पर्ने सडक छेउमा झोला भेटिएको हो । झोला जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले भेटाएका हुन्।

मेयर खड्काले भने, “काम विशेषले हामी बझाङबाट धनगढी जाँदै थियौँ । सडक छेउमा कालो रंगको झोला देख्यौ । कुनै शंकास्पद वस्तु हो कि भनेर छोडेर हिँड्न खोज्दा, सँगै रहेका साथीहरुले कसैको महत्वपूर्ण कागजपत्रको झोला पनि हुन सक्छ भनेपछि खोलेर हेर्दा भित्र नगद रुपैयाँ, चेक र प्रमाण पत्र फेला पारे” झोलामा भेटिएको पाँच लाख ४० हजार रुपैयाँको चेक कृषि विकास बैंक बझाङ शाखाको रहेको छ ।

झोलाभित्र भेटिएको नगद पैसा र चेकसँगै कागजात भेटियो । बझाङ् जिल्ला साबिको देउलीकोट गाविस वडा नं। ५ का वशन्त बोहराको नागरिकता रहेको मेयर खड्काले जानकारी दिए । बेवारिसे झोलासहित मेयर खड्का सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका छन् । पत्रकार सम्मेलन गर्दै झोला प्रहरीलाई बुझाउने तयारी भईरहेको मेयर खड्कासंगै गाडीमा सवार जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनकसिंहले बताए । झोलामा बझाङ जिल्लाको नागरिकता भेटिएकोले बाटोमा पर्ने बैतडी प्रहरीलाई नबुझाएको संयोजक सिंहले बताएका छन् ।

कमेन्ट गर्नुहोस्