कञ्चनपुरमा ११ निर्माण कम्पनी कारवाहीमा

कञ्चनपुर । कञ्चनपुरमा तोकिएको समयमा निर्माण कार्य पूरा नगर्ने ११ निर्माण कम्पनी कारवाहीमा परेका छन् ।

डिभिजन सडक कार्यालय कञ्चनपुरले समयमै निर्माण कार्य पूरा नगर्ने ११ निर्माण कम्पनीलाई कारवाही गरेको हो ।

तोकिएको समय सकिएपछि पटक/पटक ताकेदा गर्दा पनि काम गर्न आनाकानी गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मणदत्त जोशीले बताए ।

कारवाहीमा परेका ११ निर्माण कम्पनीबाट हर्जानास्वरुप २ करोड ११ लाख ६६ हजार असुल गरिएको छ ।

पहिलो चरणमा कारवाही स्वरुप हजर्ना लिएको कार्यालयले थपिएको म्यादभित्र पनि काम सम्पन्न नगरे धरौटी जफत गरेर, ठेक्का रद्द गरी कालो सूचीमा राखिने चेतावनी दिएको छ ।

कारवाहीमा परेका अधिकांश निर्माण व्यवसायी सुदूरपश्चिमकै रहेको बताइएको छ ।

डिभिजन सडक कार्यालय कञ्चनपुरले कैलाली र कञ्चनपुरमा काम निर्माणाधीन अवस्थामा रहेका साना र ठूला गरी ५४ वटा पुलमध्ये ९ वटा पुल निर्माण सम्पन्न भएको जनाएको छ ।

डिभिजन सडक कार्यालय अन्तर्गत निर्माण भइरहेका फुलवारी खोली पुल, ओदाल खोला पुल, खग्रौला खोला पुल र सन्तोषी खोला पुलका साथै इन्द्रवती वन समुदाय पिपल चौतारा हुँदै भारतीय सीमाना, बसै–फटइ–मटिया–बन्दा ताल बेलौरी, चिसापानी–मंगलसेन लगायतका सडकको तोकिएको समय सकिँदासमेत निर्माण सम्पन्न नहुँदा अलपत्र अवस्थामा छन् ।
इमेजखबरबाट साभार

कमेन्ट गर्नुहोस्