सौरभ गांगुलीले किन भने– भारतीय क्रिकेटलाई भगवानले मात्रै बचाउन सक्छ?

एजेन्सीः भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली र स्पिनर हरभजन सिंहले भारतीय क्रिकेटलाई भगवानले मात्र बचाउन सक्ने बताएका छन् । गांगुली र सिंहले ट्विट गर्दै भारतीय क्रिकेटमा चलिराखेको विवादबारे चासो व्यक्त गरेका हुन् ।

गांगुली र सिंहको यस्तो अभिव्यक्ति त्यस्तो बेला आएको छ जब भारतका अर्का पूर्व कप्तान राहुल द्रविडलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड-बिसिसिआईका लोकपाल डीके जैनले स्पष्टिकरण मागेका थिए ।

द्रविड नेसनल क्रिकेट एकेडेमीका प्रमुख हुनुका साथै इन्डिया सिमेन्ट ग्रुपका उपाध्यक्ष समेत हुन् । इन्डिया सिमेन्ट आइपिएल टीम चेन्नई सुपर किंग्सको अधिकार भएको कम्पनी हो । उनलाई सोधिएको स्पष्टीकरणमा बिसिसिआईसँग हितहरू बाझिएको बताइएको छ ।

डीके जैनले मध्य प्रदेश क्रिकेट संघ- एमपीसीएका एक सदस्य संजीव गुप्ताले दिएको निवेदन अनुसार उक्त स्पष्टिकरण सोधेका हुन् । गुप्ताले यस अघि सचिन तेंदुलकर, सौरभ गांगुली र भीभीएस लक्ष्मणविरुद्ध पनि हितहरू बाझिएका भन्दै बिसिसिआईमा रित हालेका थिए ।

समाचारमा छाइरहने तरिका: गांगुली

गांगुलीले ट्वीटमा भनेका छन्, “हितोहरूमा टकराव नामक नया फेसन भारतीय क्रिकेटमा चल्दैछ । यो समाचारहरूमा छाइराख्ने राम्रो तरिका हो । भारतीय क्रिकेटलाई भगवान नै बचाओस । अब बीसीसीआइले द्रविडलाई स्पष्टिकरण दिन भनेको छ ।”

भारतीय क्रिकेटमा उनीभन्दा राम्रो मान्छे छैन- हरभजन

हरभजन सिंहले लेखेका छन्,”यो साँचो हो र ? खै के हुँदैछ ? तपाईं भारतीय क्रिकेटमा उनीभन्दा राम्रो मान्छे भेट्टाउनु हुन्न । यस्ता महान खेलाडीहरूलाई स्पष्टीकरण सोध्नु उनीहरूको अपमान गरे जस्तै हो । क्रिकेट राम्रो बनाउन उनको साथ चाहिन्छ । भारतीय क्रिकेटलाई त भगवान नै बचाओस ।”

कमेन्ट गर्नुहोस्