मेलम्चीको काम द्रुतगतिमा अघि बढाउँदैछौंः खानेपानी मन्त्री

काठमाडौं, साउन २२ । खानेपानी मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर्याउन मुहान र स्रोत संरक्षणमा बढी जोड दिएर खानेपानी विधेयक ल्याईएको बताएकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाई विधेयकको विषयमा आफ्नो भनाई राख्दै खानेपानी मन्त्री मगरले मुहान संरक्षणलाई बढी जोड दिईएको स्पष्ट पारिन् । ‘डिप बोरिङ गरेर जमिन मुनिबाट पानी निकाल्ने प्रवृत्ति बढेकाले मुहानहरु सुक्दै जान थालेका छन् ।’ मन्त्री मगरले संसदमा भनिन्, ‘हामीले मुहानहरुको संरक्षण गर्ने कार्यलाई विधेयकमा बढी जोड दिएका छौं । यो विधेयकमा मुहानको वरिपरी प्रदुषित गर्नेलाई नियन्त्रण गर्ने प्रावधान पनि राखेका छौं । स्रोत र मुहानलाई सफा राख्ने विषयलाई पनि समेटेका छौं ।’

मन्त्री मगरले भनिन्, ‘खानेपानीको समस्या विकराल छ । विश्वको दोस्रो धनी राष्ट्र हुँदाहुँदै पनि जनता काकाकुल छन् । महिलाहरुले घण्टौं घण्टा लगाएर पानी ल्याउनु पर्ने स्थिति छ । पहाडमा मात्रै होइन तराईमा पनि खानेपानीको समस्या व्याप्त छ । जनताले तराईमा प्रशोधित पानी खान पाएका छैनन् । तराईको आर्सेनिक समस्या हल गर्न आर्सेनिक मुक्त पानी खुवाउन प्रदेश सरकारसँग समन्वय गरेर संघ सरकारले आयोजनाहरु तयार गर्दैछ ।’

देशैभरि खानेपानीको सुनिश्चितता गर्न मन्त्रालयले थोक वितरण प्रणालीको रुपमा नदीहरुको डिपीआर तयार पार्ने कार्य यसै आर्थिक वर्षमा गर्ने मन्त्री मगरले जानकारी दिइन् । उनले खानेपानीको क्षेत्रमा दीर्घकालीन र अल्पकालीन योजनाहरु बनाएर काम अगाडि बढाईरहेको स्पष्ट पारिन् ।

मेलम्चीको विषयमा संसदमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीको काम अब द्रुत गति (स्पीड) मा अघि बढाउने बताइन् । ‘मेलम्ची आयोजना सुरु हुँदादेखि अहिलेसम्म २४ औं पटक मन्त्री फेरिएको कुरा एक जना माननीयज्यूले गर्नुभएको छ ।’ उनले भनिन्, ‘अब २५ औं पटक मन्त्री नफेरियोस् । हामी त्यही स्पीडमा काम गर्दैछौं । मेलम्चीको सन्दर्भमा अन्तरवस्तुलाई केलाएर हल गर्ने तयारीमा छौं । काम छाडेर हिंडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका छैन । त्यो कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण अरु देशमा पनि उसका आयोजनाहरु अलपत्र परेको समाचार माननीय ज्यूहरुले हेरेर बुझिदिनुपर्यो ।’

कमेन्ट गर्नुहोस्