रेलसेवा सञ्चालन कात्तिकमा

इनर्वा (धनुषा), साउन २३ । राजधानी काठमाडौंबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौं आउने मौजुदा दूरी घटाउने भएको हो । अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौं आउँदै छ भने रेलसेवापछि बर्दिबास हुँदै काठमाडौं आउँदा मौजुदा दूरी १३० किलोमिटर घट्नेछ ।

तत्कालीन ब्रिटिस इन्डियाले नेपालको जङ्गलबाट काठ ओसार्नका लागि विसं १९९४ मा भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म रेलसेवा सञ्चालनमा ल्याएको थियो । काठ ओसार्नका लागि सञ्चालनमा ल्याइएको सो रेलसेवाले २०१८ सालदेखि यात्रुवाहक सेवा दिन थालेको हो । कोइला र पानीबाट सञ्चालन हुँदै आएको सो रेलसेवा २०५१ सालमा भारतले सहयोग स्वरूप उपलब्ध गराएपछि डिजेल इन्जिनका रूपमा सञ्चालनमा आएको थियो । जयनगरदेखि बिजुलपुरासम्मको दूरी ५२ किलोमिटर छ ।

रेलसेवा निर्धारित समयमै
यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताएका छन् । उनले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको जानकारीसमेत दिए । यो रेलसेवा सञ्चालनसँगै दोस्रो विश्वयुद्धभन्दा पहिले नै १९९४ सालमा सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुनर्जीवन पाउने छ ।

जनकपुर–जयनगर रेलमार्गको निरीक्षणका क्रममा उनले जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताए । मन्त्री महासेठले ट्रलीमा चढेर जनकपुरदेखि इनर्वासम्म २६ किलोमिटर रेलवे लिकको मङ्गलबार निरीक्षण गरे । उनले सो रेलमार्गअन्तर्गत नेपालतर्फको अन्तिम स्टेसनका रूपमा रहेको इनर्वाको नजिकमा बाढीले बगाएको रेलवे लिकको निरीक्षण गरे । गत असार अन्तिममा आएको बाढीले सो लिकमा क्षति पुर्याएको थियो ।

निरीक्षणका क्रममा उनले रेलवे लिकको बेस बगाएको ठाउँमा चाँडै नै मर्मतसम्भार गरी निर्धारित समयमा नै रेलसेवा सञ्चालनमा आउने गरी काम अगाडि बढाउन रेल विभागलाई निर्देशन दिए । बाढीले रेलवे लिकको बेस बगाए पनि निर्धारित समयमा नै रेल सञ्चालनमा कुनै समस्या नहुने उनले स्पष्ट पारे । सो ठाउँमा बाढीले एक सय मिटर रेलवे लिकको बेस बगाएको छ ।

भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्म सञ्चालनमा ल्याइने सो रेलमार्गको अहिलेसम्म रेलवे लिक बिछ्याउने काम सम्पन्न भएको छ । ट्र्याक वेड, दुवैतर्फ स्टेसन, कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीका लागि आवासगृह लगायतको आवश्यक संरचनाको निर्माण कार्य भइसकेको छ । भारतको राइट्स कम्पनीले तयार पारेको ढाँचाका आधारमा यस रेलमार्गको स्टेसनहरूको निर्माण गरिएको छ । सरकारले यसअघि नै सो रेलसेवा सञ्चालन गर्न दुईवटा डेमो रेल खरिद गर्नका लागि करिब ८५ करोड रुपियाँ निकासा गरिसकेको छ । सो रेल अहिले भारतको मद्रासमा निर्माणाधीन अवस्थामा रहेको रेल विभागले जनाएको छ ।

मुलुकको पहिलो ‘ब्रोडगेज’ रेलसेवा
मुलुकको छोटो रेलवे इतिहासमा यो रेलसेवा ‘ब्रोडगेज’ हुनेछ । यसअघि नेपालमा सञ्चालन भएका रेलसेवाहरू ‘न्यारोगेज’मात्र रहेको थियो । दुई फिट छ इञ्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, एक मिटर चौडाइ भएको लिकलाई ‘मिटरगेज’ र पाँच फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ । जनकपुर–जयनगर रेलवे लिकको चौडाइ ‘ब्रोडगेज’ आकारको रहेको छ ।

आठवटा स्टेसन
जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेसन र छ हल्ट अर्थात् रेल रोक्ने ठाउँ गरी १४ विश्रामस्थल निर्माण गरिने रेल विभागले जनाएको छ । जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठवटा स्टेसन तोकिएको छ । त्यसैगरी महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्ट निर्धारण गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्