निजगढ विमानस्थल विश्वकै सानदार बन्ने शिलान्यास छ महिनाभित्रः योगेश भट्टराई

काठमाडौं, साउन २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिएका छन् ।

बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा सन् २०१९ भित्रै कम्तीमा शिलान्यास गरिसक्ने उनले बताए । सन् १९८५ देखि नै निजगढमा विमानस्थल निर्माण गर्ने चर्चा चले पनि काम हुन नसकेकाले अब भने यसको विकल्प नखोजिने उनको भनाइ थियो ।

“फास्ट ट्र्याक बनेपछि एक घन्टामै पुग्न सकिने भएकाले निजगढ एक किसिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो,” उनले भने, “हामी निजगढको विकल्प खोज्दैनौँ । ” विमानस्थल निर्माणका लागि टाँगिया बस्ती व्यवस्थापन प्रक्रिया तत्काल अगाडि बढाउने पनि उनले जानकारी दिए । उनका अनुसार त्यहाँका स्थानीयलाई मुआब्जा दिएर अथवा स्थानीय सरकारसँगको साझेदारीमा बस्ती स्थानान्तरणको काम हुनेछ ।

“हामी त्यहाँका स्थानीयलाई नाङ्गो खुट्टा पठाउँदैनौँ,” उनले भने, “स्थानीयको सम्मानजनक व्यवस्थापन हुन्छ । ” कार्यक्रममा उनले आफू वातावरण विनाश र विध्वंस गर्न नआएको स्पष्ट पारे । “म निजगढमा विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ,” उनले भने । निजगढमा रूख कटानका विषयमा व्यक्त भएका चासोलाई समेत सम्बोधन गरेर अगाडि बढ्ने उनले बताए ।

निजगढमा विमानस्थल निर्माणका लागि कटान गर्नुपर्ने रूखको सम्बन्धमा अहिलेसम्म यकिन नभइसकेकाले यस विषयमा वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गर्ने उनले बताए । निजगढका सम्बन्धमा अब अध्ययन गर्नुपर्ने खास विषय नभएकाले यसको निर्माणको तयारीको काम अगाडि बढाइने उनले जानकारी दिए।

कार्यक्रममा मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमको सुधारका लागि आफू दृढ रहेको भनाइ राखे। “मन्त्रालय सम्हालेको एक हप्तामा मैले हरेक दिनजसो निगमका पदाधिकारीसँग छलफल गरिरहेको छु,” उनले भने ।

निगम सुधार्न कार्यदल
कार्यक्रममा मन्त्री भट्टराईले वायुसेवा निगमको समग्र सुधारका लागि बुधबार नै पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिए । समितिले निगमको अहिलेको विद्यमान आर्थिक अवस्थाका बारेमा जानकारीसहित सुधारका लागि आवश्यक सुझाव मन्त्रालयलाई उपलब्ध गराउनेछ । “निगमका खास समस्या के हुन्, त्यो समितिले तोकेरै दिनेछ,” मन्त्री भट्टराईले भने ।

पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा गठन भएको उक्त समितिमा प्रमोद कर्ण, डिमप्रसाद पौडेल, सुधीरशमशेर राई सदस्य हुनुहुन्छ । कार्यदललाई सुझाव पेस गर्न एक महिनाको समय दिइएको मन्त्री भट्टराईले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैकिबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्