टेलिकमका तथ्याङ्क अब ‘क्लाउड’मा

काठमाडौं, साउन २३ । सरकारी लगानीको नेपाल टेलिकमले आफ्ना सूचना तथा तथ्याङ्कहरू पहिलोपटक ‘क्लाउड’मा आधारित सर्भरमा राख्ने तयारी गरेको छ । यसअघि भौतिक रूपमा रहेको (फिजिकल) सर्भरमा त्यस्ता तथ्याङ्क राख्दै आएकोमा अब क्लाउडमा आधारित आफ्नै सर्भर राख्ने प्रक्रिया अगाडि बढाइएको टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

तुलनात्मक रूपमा बढी सुरक्षित मानिने र हार्डवेयर फेरिरहनुपर्ने बाध्यता पनि कम हुने भएकाले क्लाउडमा जाने योजना बनाएका हौँ, उाले भने । टेलिकमले क्लाउड सर्भरसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध गराउन बुधबार सेवा प्रदायकसँग आवेदनसमेत माग गरेको छ ।
क्लाउड सर्भरको आधारमा विश्वको जुनसुकै ठाउँबाट पनि सूचना प्राप्त गर्न सक्ने सुविधा प्राप्त हुन्छ । इन्टरनेटको आधारमा यसमा रहेका तथ्याङ्कसम्म सहज पहुँच हुने र त्यसलाई वितरण गर्न पनि सकिने भएकाले क्लाउडको प्रयोगले विश्वभर नै व्यापकता पाउन थालेको छ ।

फिजिकल सर्भरमा रहेका सूचना सम्बन्धित ठाउँमा मात्र उपलब्ध हुने र वितरण गर्न पनि नसकिने हुँदा यसको विकल्पमा क्लाउडको प्रयोग बढेको छ । सेवा प्रदायकका रूपमा टेलिकमसँग धेरै ठूला किसिमका तथ्याङ्क (बिग डेटा)हरू प्रशस्त हुने भएकाले कम्पनीले क्लाउडमा जाने तयारी गरेको प्रबन्धनिर्देशक अधिकारीले जानकारी दिए।

क्लाउड सर्भरको व्यवस्थासँगै टेलिकमले पहिलोपटक बिग डेटामा पनि काम गर्नेभएको छ । यसअघि टेलिकमले आफूसँग रहेका अनेक तथ्याङ्क सामान्य कम्प्युटिङ प्रक्रियाका आधारमा विश्लेषण गर्दै आएकोमा अब त्यस्तो परम्परा बदल्न लागेको अधिकारीले बताए । उनका अनुसार अब टेलिकमसँग सम्बन्धित
त्यस्ता किसिमका तथ्याङ्कको प्रशोधन र विश्लेषणका लागि छुट्टै प्रणाली बन्नेछ । सोही प्रणालीमा रहेका तथ्याङ्कको विश्लेषणका आधारमा कम्पनीले व्यावसायिक योजना निर्माणदेखि सेवाको सुधारसम्म गर्न सक्ने उनले जानकारी दिए ।

‘कम्पनीको कुन सेवा कहाँ बढी प्रयोग भएको छ वा छैन, सुधार गर्नुपर्ने के छन् जस्ता विषय टुङ्गो लगाउन बिग डेटाले सहयोग गर्छ’, उनले भने । सामान्य विश्लेषणको आधारमा प्रतिस्पर्धात्मक बजारमा प्रभावकारी सेवा उपलब्ध गराउन समस्या हुने भएकाले बिग डेटा वेयरहाउस निर्माण गर्न लागिएको उनले जानकारी दिए । टेलिकमले क्लाउड सर्भरसँगै बिग डेटा वेयरहाउस निर्माण र विश्लेषणका लागि समेत बुधबार आवेदन माग गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्