कश्मीर मामिलामा नेपाल

सन्तोष खडेरी ।
दोश्रो बिश्वयुद्धको अन्त्य संगै संसारबाट उपनिवेशले बिदा लिएर नयाँ स्वतन्त्र राष्ट्रको नक्सा कोरिंदा होस् या स-साना राष्ट्रका स्वैच्छिक एकीकरण होस् या त ठुला राष्ट्रले बलजफ्तीले आफूमा गाभेर तत्कालीन स्वतन्त्र राष्ट्रको अस्तीत्व मेटिएका घटना हुन तिनमा हामी कहाँ उभिएका थियौं त?

बेलायत र अमेरिका संग दौत्य सम्बन्ध स्थापित गरि स्वतन्त्र मुलुकको कुटनीति संचालन गरेको नेपालले भारत स्वतन्त्र भएको अर्को बर्ष उसले हैदरावाद आक्रमण गर्दा हामीले १० बटालियन फौज पठाएर एक भारत नीति अन्तर्गत भारतको एकीकरणमा सघाएर हैदरावादको नक्सा मेट्न नेपालको राणाशासक लागेकै हो।

तिब्बतलाई अलग्गै राष्ट्र रुपमा नेपालले मान्यता दिँदै आफ्नो दूतावास र आफ्ना दूत लामो समय त्यहाँ राख्दा पनि चीनले त्यसलाई आफूमा गाभ्दा हामीले त्यसलाई स्वीकार गरेकै हो र नेपाल एक चीन नीति अन्तर्गत तिब्बत र ताईवानलाई नेपालले हाल सम्म चीनकै अभिन्न अंगका रुपमा स्वीकार गरेकै हो।

कश्मीरको बिषयमा नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री डा. के आई सिंहले मात्र आफ्नो स्पष्ट धारणा राखेका हुन र उनले कश्मीरलाई भारतको अभिन्न अंगका रुपमा स्वीकार गरि त्यसलाई एक भारत नीति अन्तर्गत मान्ने नीति लिएकै हुन भन्ने दस्तावेजले पुष्टि गर्छ।

कश्मीर भारतको भूभाग हो र त्यो उसको आन्तरिक मामिला हो चीनको तिब्बत र ताईवान भए जस्तै हो त्यो हाम्रा लागि। अन्य राष्ट्र र शक्तिराष्ट्रले आफ्नो राष्ट्रिय हित अनरुप विवादित भूमी मान्ने र कसैलाई अलग्गै देश मान्ने गर्छन् उनकै धारणालाई के नेपालले आधार मानेर फरक धारणा राख्नु पर्ने हो र?

नेपालले जसरी आफ्नो राष्ट्रिय स्वार्थ अनरुप दुनियाँले तिनका स्वार्थ अनरुप अलग्गै र विवादित मान्ने तिब्बत र ताईवानलाई एक चीन नीति अन्तर्गत व्यबहार गर्छ त्यस्तै भारतको कश्मीर समेत एक भारत नीति अन्तर्गत नै व्यबहार गर्नु नेपालको राष्ट्रिय स्वार्थ ठहरिन्छ र त्यसै गरिनिपर्छ।

दक्षिण एशियामा कुनै समय नेपाल र भुटान संगै सिक्किम,तिब्बत र कश्मीर जस्ता हिमाली राज्यहरु केही स्वतन्त्र र केही अर्धस्वायत्त रुपमा अस्तित्वमा थिए ती अब केही इतिहास भए तर नेपाल सधैं भरी त्यसरी नै स्वतन्त्र रुपमा पृथ्वीमा अलग देशका अस्तित्व रहेसम्म स्वतन्त्र रुपमा उभिरहनेछ।

हामी आर्थिक रुपमा पराधिन रहे सम्म स्वतन्त्र मुलुकको रुपमा आफ्नो छुट्टै बिदेश नीति तय गर्न सक्दैनौं त्यसका लागि आर्थिक रुपमा आत्मनिर्भरता आवश्यक पर्छ। त्यसैले मनको बाघले तर्सिएर बहकाउमा आउनुको तुलनामा धरातल बुझौं र आफूलाई बलियो बनाउन आर्थिक रुपमा आत्मनिर्भरताको बाटोमा अघि बढौं।

कमेन्ट गर्नुहोस्